यर्मिया १६:१-२१

  • यर्मियाले विवाह, शोक र भोजभतेर गर्न नहुने (१-९)

  • पहिले सजाय, त्यसपछि पुनर्स्थापना (१०-२१)

१६  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई यसो भन्‍नुभयो: २  “तिमीले विवाह नगर्नू र छोराछोरी नजन्माउनू। ३  किनभने यहाँ जन्मने छोराछोरी र तिनीहरूका आमाबुबाबारे यहोवा यसो भन्‍नुहुन्छ: ४  ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्‌+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्‌ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्‌।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्‌।+ तिनीहरूका लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’  ५  किनकि यहोवा यसो भन्‍नुहुन्छ, ‘शोक परेको घरमा नजानू, विलाप गर्न वा समवेदना दिन तिनीहरूकहाँ नजानू।’+ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: ‘किनकि मैले तिनीहरूलाई दिएको शान्ति खोसिसकेको छु। तिनीहरूलाई अटल प्रेम र कृपा देखाउन पनि छोडिसकेको छु।+  ६  यस देशका ठूलाबडा र गरिबगुरुवा सबै मर्नेछन्‌। तिनीहरू गाडिनेछैनन्‌, तिनीहरूको लागि कसैले शोक गर्नेछैन अनि कसैले पनि तिनीहरूको लागि आफ्नो शरीरमा चोट पार्नेछैन र कपाल खौरनेछैन।*  ७  शोक परेकाहरूलाई कसैले खानेकुरा दिनेछैन, तिनीहरूलाई दिलासा दिने कोही हुनेछैन अनि आमाबुबा गुमाएकाहरूलाई कसैले सान्त्वनाको कचौरा दिनेछैन।  ८  तिमी भोजभतेर भइरहेको घरमा पनि नपस्नू अनि तिनीहरूसित बसेर खानपिन नगर्नू।’ ९  “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू जिउँदो छँदै अनि तिमीहरूकै आँखाअगाडि म यो ठाउँबाट हर्ष र रमाहट हटाइदिनेछु। अनि दुलहा-दुलहीको आवाज पनि बन्द गरिदिनेछु।’+ १०  “तिमीले मानिसहरूलाई यो कुरा सुनाएपछि तिनीहरूले सोध्नेछन्‌, ‘यहोवाले हामीविरुद्ध यत्ति ठूलो विपत्ति ल्याउँछु भनेर किन भन्‍नुभयो? हामीले यहोवा हाम्रा परमेश्‍वरविरुद्ध के गल्ती गऱ्‍यौँ, के पाप गऱ्‍यौँ?’+ ११  त्यतिबेला तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरूका पितापुर्खाले मलाई त्यागे।+ तिनीहरू अरू देवताको पछि लागिरहे, तिनलाई पुजिरहे अनि दण्डवत्‌ गरिरहे।+ तिनीहरूले मलाई त्यागेर मेरा नियमहरू उल्लङ्‌घन गरे।+ १२  तर तिमीहरू त तिनीहरूभन्दा पनि दुष्ट रहेछौ।+ मेरो आज्ञा पालन गर्नु त कता हो कता, तिमीहरू आफ्नै हठी हृदयको कुरा सुन्छौ।+ १३  त्यसैले म तिमीहरूलाई लघारेर यस्तो ठाउँमा पठाउनेछु, जुन ठाउँबारे न तिमीहरूले न तिमीहरूका पितापुर्खाले नै सुनेका थियौ।+ त्यहाँ तिमीहरूले दिनरात अरू देवताको सेवा गर्नुपर्नेछ+ किनकि म तिमीहरूलाई रतीभर दया देखाउनेछैनँ।”’ १४  “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यस्तो समय आउँदै छ, जब तिनीहरूले “इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम” भन्‍नेछैनन्‌।+ १५  बरु तिनीहरूले “इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट जम्मा गर्नुहुने यहोवाको कसम” भन्‍नेछन्‌। किनकि म तिनीहरूलाई त्यो देशमा फर्काउनेछु, जुन मैले तिनीहरूका पितापुर्खालाई दिएको थिएँ।’+ १६  यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म धेरै जलारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई जालमा पार्नेछन्‌। त्यसपछि म थुप्रै सिकारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई डाँडापाखा अनि पहराका कुनाकाप्चामा खोजीखोजी सिकार गर्नेछन्‌। १७  तिमीहरूले गरेको एक-एक कुरा मैले नियालेको छु। तिमीहरूको कुनै कुरा मदेखि लुकेको छैन न त तिमीहरूको गल्ती नै मेरो नजरबाट लुकेको छ। १८  सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+ किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+ १९  हे यहोवा, मेरो बल र मेरो किल्ला, विपत्तिको दिनमा मेरो शरणस्थान,+ पृथ्वीका कुनाकुनाबाट मानिसहरू तपाईँकहाँ आउनेछन्‌ अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “हाम्रा पुर्खाहरू त झूटा कुराहरूको पछि लागे, तिनीहरू व्यर्थका अनि केही फाइदा नहुने कुराहरूको पछि लागे।”+ २०  के मानिसले आफ्नो निम्ति देवताहरू बनाउन सक्छ र? तिनीहरूले बनाएका देवताहरू साँच्चैका देवताहरू होइनन्‌।+ २१  “त्यसैले अब तिनीहरूले थाह पाउनेछन्‌; म तिनीहरूलाई आफ्नो शक्‍ति र पराक्रम देखाउनेछु। अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्‍नेछन्‌।”

फुटनोटहरू

झूटा धर्महरूको शोक गर्ने चलन, जुन धर्मत्यागी इस्राएलीहरूले अपनाएका हुन सक्छन्‌।