यर्मिया २४:१-१०

  • राम्रा अन्जिर र नराम्रा अन्जिर (१-१०)

२४  बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा येकोनिया,*+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै* यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए। २  एउटा टोकरीमा अत्यन्तै रहरलाग्दा अन्जिर थिए। ती पहिलो बालीका अन्जिरजस्तै राम्रा थिए। तर अर्को टोकरीमा भने खानै नमिल्ने असाध्यै नराम्रा अन्जिर थिए। ३  तब यहोवाले मलाई सोध्नुभयो: “यर्मिया, तिमी के देख्छौ?” मैले जवाफ दिएँ: “अन्जिरहरू। राम्रा अन्जिरहरू अति राम्रा छन्‌। तर नराम्रा अन्जिरहरू त अति नराम्रा छन्‌; खानै नमिल्ने खालका।”+ ४  तब यहोवाको यो वचन मकहाँ आयो: ५  “म, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्छु: ‘मैले कल्दियालीहरूको देशमा निर्वासनमा पठाएका यहुदाका मानिसहरूलाई ती असल अन्जिरहरूजस्तै सम्झेर राम्रो व्यवहार गर्नेछु। ६  तिनीहरूकै भलो होस्‌ भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+ ७  अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्‍न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्‌।+ ८  “‘तर खानै नमिल्ने अति नराम्रा अन्जिरहरूबारे+ म यहोवा यसो भन्छु: “यहुदाका राजा सिदकियाह,+ तिनका राजकुमारहरू, यहीँ यहुदामा छोडिएका यरुसलेमका बाँकी मानिसहरू र मिश्रमा बसोबास गरिरहेकाहरूलाई+ म ती अति नराम्रा अन्जिरहरूजस्तै सम्झेर व्यवहार गर्नेछु। ९  म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्‌, तिनीहरूलाई सराप्नेछन्‌+ र तिनीहरूको नाममा उखान बनाउनेछन्‌। १०  म तरबार,+ अनिकाल र महामारीले* तिनीहरूलाई प्रहार गर्नेछु।+ तिनीहरूका पितापुर्खालाई र तिनीहरूलाई मैले दिएको देशबाट तिनीहरू नामेट नहोउन्जेल म त्यसै गर्नेछु।”’”

फुटनोटहरू

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।
तिनी ‘यहोयाकिन’ र ‘कोन्याह’ नामले पनि चिनिन्थे।
वा सम्भवतः “पर्खाल र गढ बनाउनेहरूसँगै।”
वा “रोगले।”