यर्मिया २७:१-२२
२७ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको शासनकालको सुरुमा यर्मियाकहाँ यहोवाको यो वचन आयो:
२ “यहोवाले मलाई यसो भन्नुभयो, ‘आफ्नो निम्ति जुवाहरू र जोतारोहरू* बनाऊ र त्यसलाई आफ्नो गर्दनमा बोक।
३ त्यसपछि एदोमका राजा,+ मोआबका राजा,+ अम्मोनका राजा,+ टायरका राजा+ र सिदोनका राजाकहाँ+ ती जुवा र जोतारोहरू पठाऊ। यहुदाका राजा सिदकियाहलाई भेट्न यरुसलेममा आएका सन्देशवाहकहरूमार्फत ती पठाऊ।
४ ती सन्देशवाहकहरूलाई यस्तो सन्देश दिएर तिनीहरूका आ-आफ्ना मालिककहाँ पठाऊ:
“‘“सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरूले आ-आफ्नो मालिकलाई यसो भन्नू,
५ ‘यो पृथ्वी अनि यसमा भएका मानिस र जनावरहरू बनाउने मै हुँ। मैले आफ्नो अथाह शक्ति र बलियो पाखुराले ती बनाएँ। मैले जसलाई चाहेँ, त्यसैलाई ती सुम्पिदिएँ।+
६ अब म यी सबै देश मेरो सेवक अर्थात् बेबिलोनका राजा नबुकद्नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु।
७ जबसम्म बेबिलोनको पतन हुने बेला आउँदैन, तबसम्म सबै देशले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्।+ त्यसपछि अरू देश र महाराजाहरूले बेबिलोनलाई आफ्नो दास बनाउनेछन्।’+
८ “‘“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यदि कुनै जाति वा देशले बेबिलोनका राजा नबुकद्नेजरको सेवा गर्न इन्कार गऱ्यो र उसको जुवा आफ्नो गर्दनमा बोक्न मानेन भने म त्यसलाई दण्ड दिनेछु। जबसम्म म त्यो देशलाई बेबिलोनका राजाको हातबाट नाश गर्दिनँ, तबसम्म म त्यसलाई तरबार,+ अनिकाल र महामारी* पठाएर दण्ड दिनेछु।’
९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।”
१० किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्। तिनीहरूको कुरा सुन्यौ भने म तिमीहरूलाई छरपस्ट पारिदिनेछु, तिमीहरू टाढाको देशमा लगिनेछौ र त्यहीँ नाश हुनेछौ।
११ “‘“‘तर जुन जाति बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा थाप्नलाई निहुरिन्छ र उसको सेवा गर्छ, त्यो जातिलाई म तिनीहरूको आफ्नै देशमा रहिरहन दिनेछु। त्यहाँका मानिसहरूले आफ्नै भूमिमा बसिरहन र खेतीकिसानी गरिरहन पाउनेछन्,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”
१२ अनि यही कुरा मैले यहुदाका राजा सिदकियाहलाई+ पनि सुनाएँ। मैले तिनलाई यसो भनेँ: “बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा बोक्नलाई निहुरिनुहोस् अनि तिनको र तिनका मानिसहरूको सेवा गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँ जीवितै रहन पाउनुहुनेछ।+
१३ बेबिलोनका राजाको सेवा नगर्ने देशलाई तरबार,+ अनिकाल+ र रुढीले+ नाश गर्नेछु भनी यहोवाले बताउनुभएको छ। तपाईँ र तपाईँका मानिसहरू किन बिनसित्ति नाश हुने?
१४ ‘तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन’ भनेर बताउने भविष्यवक्ताहरूको कुरा नसुन्नुहोस्+ किनकि तिनीहरूले तपाईँसित झूट बोलिरहेका छन्।+
१५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्। ती भविष्यवक्ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+
१६ अनि पुजारीहरू र सबै मानिसलाई मैले भनेँ: “यहोवा यसो भन्नुहुन्छ, ‘“यहोवाको भवनबाट बेबिलोन लगिएका सरसामान अब छिट्टै फिर्ता ल्याइनेछन्” भनेर भविष्यवाणी गर्ने भविष्यवक्ताहरूको कुरा नसुन।+ किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्।+
१७ तिनीहरूको कुरा सुन्दै नसुन। बेबिलोनका राजाको सेवा गर र आफ्नो ज्यान जोगाऊ।+ नत्र भने यो सहर तहसनहस हुनेछ।
१८ तर तिनीहरू भविष्यवक्ताहरू हुन् र तिनीहरूसित यहोवाको वचन छ भने यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका सरसामान बेबिलोनमा नलगिऊन् भनेर तिनीहरूले सेनाहरूका यहोवालाई बिन्ती गरून्।’
१९ “मन्दिरका खम्बाहरू,+ खड्कुँलो,*+ ठेलागाडाहरू+ र यस सहरमा बाँकी रहेका अरू सबै सरसामानबारे सेनाहरूका यहोवाको एउटा सन्देश छ।
२० बेबिलोनका राजा नबुकद्नेजरले यहोयाकिमका छोरा, यहुदाका राजा यकोनिया अनि यहुदा र यरुसलेमका सबै प्रतिष्ठित मानिसहरूलाई यरुसलेमबाट कैद गरेर बेबिलोन लैजाँदा ती सरसामान आफूसित लगेका थिएनन्।+
२१ यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका ती सरसामानबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
२२ ‘“ती सबै बेबिलोन लगिनेछन्+ र जबसम्म म ती सरसामानतर्फ ध्यान लगाउँदिनँ, तबसम्म ती त्यहीँ रहनेछन्। त्यसपछि म ती सरसामान पहिले जहाँ थिए, त्यहीँ फर्काएर ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।’”+
फुटनोटहरू
^ जुवामा बाँध्ने डोरी।
^ वा “रोग।”
^ अर्थात्, मन्दिरमा भएको ‘समुद्र’ भनिने विशाल खड्कुँलो।