यर्मिया ३९:१-१८
३९ यहुदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनामा बेबिलोनका राजा नबुकद्नेजर* र तिनका सारा फौज यरुसलेम आए र त्यसलाई घेरा हाले।+
२ सिदकियाहको शासनकालको ११ औँ वर्षको चौथो महिनाको नवौँ दिनमा तिनीहरू सहरको पर्खाल फोरेर सहरभित्र पसे।+
३ बेबिलोनका राजाका सबै भारदार अर्थात् साम्गर* नेर्गल-सरेजर, रबसारिस नबो-सार्सकिम,* रबमाग* नेर्गल-सरेजर र बाँकी सबै भारदार सहरभित्र पसे अनि मध्य-ढोकामा बसे।+
४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+
५ तर कल्दियाली सेनाले तिनीहरूलाई खेद्यो र यरिहोको मरुभूमिमा सिदकियाहलाई भेट्टायो।+ उनीहरूले तिनलाई पक्रे अनि हमाथको+ रिब्लाहमा+ बेबिलोनका राजा नबुकद्नेजरसामु हाजिर गराए। त्यहाँ नबुकद्नेजरले तिनलाई सजाय सुनाए।
६ बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामने मार्न लगाए। साथै बेबिलोनका राजाले यहुदाका सबै गण्यमान्य मानिसलाई पनि मारे।+
७ त्यसपछि उनले सिदकियाहको आँखा फोरिदिए र तिनलाई बेबिलोनमा लैजान तामाको साङ्लाले बाँधे।+
८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+
९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।
१० तर पहरेदारहरूका कप्तान नबुजरदानले कुनै सरसम्पत्ति नभएका केही गरिब मानिसहरूलाई यहुदामै छोडे। साथै तिनीहरूले खेतीपाती* गरून् भनेर तिनीहरूलाई अङ्गुर बगान र खेतहरू पनि दिए।+
११ बेबिलोनका राजा नबुकद्नेजरले पहरेदारहरूका कप्तान नबुजरदानलाई यर्मियाको विषयमा यस्तो आदेश दिए:
१२ “तिनलाई लिएर आऊ र तिनको राम्ररी रेखदेख गर। तिनलाई हानि नपुऱ्याऊ। तिनले तिमीसित जे माग्छन्, त्यो देऊ।”+
१३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्तिले मानिसहरू पठाएर
१४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।
१५ यर्मिया पहरेदार-चोकमा थुनिएको बेला+ यहोवाको यो वचन तिनीकहाँ आएको थियो:
१६ “जाऊ र इथियोपियाली एबेद-मेलेकलाई भन,+ ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “यस सहरबारे मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। म यस सहरको भलो गर्नेछैनँ बरु यसमाथि विपत्ति ल्याउनेछु। यो सब तिमीले देख्नेछौ।”’
१७ “‘तर त्यतिखेर म तिमीलाई बचाउनेछु। म तिमीलाई शत्रुहरूको हातमा सुम्पनेछैनँ, जससित तिमी डराउँछौ,’ यहोवा घोषणा गर्नुहुन्छ।
१८ “‘म अवश्य तिमीलाई जोगाउनेछु; तिमी तरबारले काटिनेछैनौ। तिमी बाँच्नेछौ र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ*+ किनकि तिमीले ममाथि भरोसा गऱ्यौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
फुटनोटहरू
^ शा., “नबुकद्रेजर।” नबुकद्नेजर नामको अर्को हिज्जे।
^ यो एउटा पदवी हुन सक्छ।
^ वा हिब्रू अक्षरलाई विभाजन गर्ने अर्को तरिकाअनुसार, “नेर्गल-सरेजर, साम्गर-नबो, सार्सकिम, रबसारिस।”
^ वा “प्रमुख जादुगर (ज्योतिषी)।”
^ वा सम्भवतः “अनिवार्य सेवा।”
^ वा “दरबारका प्रमुख अफिसर।”
^ वा “प्रमुख जादुगर (ज्योतिषी)।”
^ वा “तिमीले आफ्नो ज्यान जोगाउनेछौ।”