यर्मिया ४३:१-१३

  • मानिसहरू कुरा सुन्दैनन्‌ र मिश्र जान्छन्‌ (१-७)

  • मिश्रमा यर्मियाकहाँ आएको यहोवाको वचन (८-१३)

४३  यहोवा परमेश्‍वरले मानिसहरूलाई भन्‍नू भनेर अह्राउनुभएका सबै कुरा यर्मियाले ती मानिसहरूलाई बताए। यहोवा तिनीहरूका परमेश्‍वरले भन्‍नुभएको एक-एक कुरा यर्मियाले सबै मानिसलाई बताइसकेपछि २  होसायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान+ र सबै अहङ्‌कारी पुरुषले यर्मियालाई यसो भने: “झूट! सरासर झूट! ‘मिश्रमा बस्न नजानू’ भन्‍ने सन्देश यहोवा हाम्रा परमेश्‍वरले तपाईँलाई दिनुभएको हुँदै होइन। ३  हामीलाई कल्दियालीहरूको हातमा सुम्पन नेरियाहको छोरा बारुकले+ तपाईँलाई सुऱ्‍याएको हो। कल्दियालीहरूले हामीलाई मारून्‌ अथवा हामीलाई बेबिलोनमा कैदी बनाएर लगून्‌ भनेर त्यसले तपाईँलाई हामीविरुद्ध सुऱ्‍याउँदै छ।”+ ४  यहोवाले यहुदामा नै बस्नू भनेर दिनुभएको आदेश कारेहका छोरा योहानान, सेनापतिहरू र मानिसहरू कसैले पनि मानेनन्‌। ५  बरु कारेहका छोरा योहानान र सबै सेनापतिले यहुदामा बाँकी रहेका सबै मानिसलाई, जो पहिले अरू देशमा तितरबितर भएका थिए र अहिले यहुदामा बसोबास गर्न फर्केका थिए, तिनीहरूलाई आफूसितै लगे।+ ६  राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ सापानका+ नाति अहिकामका+ छोरा गदल्याहलाई+ जिम्मा लगाएका पुरुष, स्त्री, केटाकेटी, राजकुमारीहरू र सबै मानिसका साथै भविष्यवक्‍ता यर्मिया र नेरियाहका छोरा बारुकलाई पनि तिनीहरूले आफूसितै लगे। ७  तिनीहरूले यहोवाको कुरा सुनेनन्‌। तिनीहरू मिश्र गए र तपनेससम्मै पुगे।+ ८  तपनेसमा यहोवाको यो वचन यर्मियाकहाँ आयो: ९  “ठूलठूला ढुङ्‌गा लेऊ र ती ढुङ्‌गा तपनेसमा फारोको दरबारको मूलढोकाछेउमा भएको इँटा छापिएको पेटीमा राख र तिनलाई बज्रले* छोप। तिमीले यो सब काम यहुदी पुरुषहरूले देख्नेगरि गर। १०  त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्‌नेजरलाई* बोलाउनेछु र मैले लुकाएका यी ढुङ्‌गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्‌गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्‌।+ ११  तिनी आउनेछन्‌ र मिश्रलाई आक्रमण गर्नेछन्‌।+ महामारीको निम्ति छुट्ट्याइएकाहरू महामारीले मारिनेछन्‌, कैदको निम्ति छुट्ट्याइएकाहरू कैदमा पर्नेछन्‌ र तरबारको निम्ति छुट्ट्याइएकाहरू तरबारले काटिनेछन्‌।+ १२  म मिश्रका देवीदेवताका मन्दिरहरूमा आगो लगाइदिनेछु।+ तिनले ती देवीदेवतालाई जलाउनेछन्‌ र कैद गरेर लैजानेछन्‌। गोठालोले सजिलै खास्टो ओढेझैँ तिनले पनि मिश्रलाई सजिलै जित्नेछन्‌। अनि तिनी त्यहाँबाट सकुशल* फर्कनेछन्‌। १३  तिनले मिश्रको बेथ-सेमेसमा* भएका खम्बाहरू* टुक्राटुक्रा पार्नेछन्‌ र मिश्रका देवीदेवताका मन्दिरहरू जलाउनेछन्‌।”’”

फुटनोटहरू

चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।
शा., “नबुकद्‌रेजरलाई।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।
वा “शान्तिपूर्वक।”
शा., “सूर्य देवको मन्दिरमा।”
वा “स्तम्भहरू।”