यर्मिया ४७:१-७

  • पलिस्तियालीहरूबारे भविष्यवाणी (१-७)

४७  पलिस्तियालीहरूबारे भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको वचन आयो।+ यो सन्देश फारोले गाजामा पलिस्तियालीहरूलाई हराउनुअघि आएको थियो। २  यहोवा यसो भन्‍नुहुन्छ: “हेर! उत्तरतिरबाट पानी बगेर आउँदै छ! बाढी उर्लनेछ! सारा देश र देशमा भएका सबथोक डुबानमा पर्नेछन्‌, सहर र सहरवासी डुब्नेछन्‌। मानिसहरू ठूलो स्वरमा रुनेछन्‌, देशमा बस्ने सबैले अलापविलाप गर्नेछन्‌।  ३  उसका घोडाहरूको टापको आवाज, रथहरूको गडगडाहट अनि पाङ्‌ग्राहरूको घडघड सुन्दा बुबाहरू यसरी कुलेलाम ठोक्नेछन्‌ कि तिनीहरूले आफ्ना छोराहरूलाई फर्केर समेत हेर्नेछैनन्‌ किनकि तिनीहरूका हातहरू लल्याकलुलुक हुनेछन्‌,  ४  किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+ त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्‌। किनकि काफ्तोर* टापुबाट+ आएका बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।  ५  गाजाले कपाल खौरनेछ।* अस्कलोनको बोली बन्द गराइएको छ।+ हे गाजा र अस्कलोनका बेँसीमा बाँकी रहेकाहरू हो, तिमीहरू कतिन्जेल आफ्नो शरीरमा चोट पार्छौ?+  ६  हे यहोवाको तरबार!+ तँ कहिले तृप्त हुनेछस्‌? आफ्नो म्यानमा फर्की। आराम गर्‌, चुपचाप बस्‌।  ७  यहोवाले नै त्यसलाई जाइलाग्न आदेश दिनुभएकोले त्यो कसरी चुपचाप बस्न सक्ला र? उहाँले त्यसलाई अस्कलोन र समुद्री किनारमा+ आक्रमण गर्न अह्राउनुभएको छ।”

फुटनोटहरू

यसले क्रेटलाई जनाउँछ।
अर्थात्‌, शोक र लाजले गर्दा गाजाका मानिसहरूले आफ्नो कपाल खौरनेछन्‌।