यर्मिया ६:१-३०

  • यरुसलेमको घेराबन्दी नजिकै (१-९)

  • यरुसलेममाथि यहोवाको क्रोध (१०-२१)

    • शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्‌ (१४)

  • उत्तरबाट क्रूर शत्रुहरू चढाइ गर्न आउनेछन्‌ (२२-२६)

  • यर्मिया धातु जाँच्ने व्यक्‍ति हुनेछन्‌ (२७-३०)

६  हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ। तेकोमा+ सिङ फुक;+ बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल! किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+  २  सियोनकी छोरी* सुन्दर र कोमल छे।+  ३  गोठालाहरू आ-आफ्नो बगालसँगै आउनेछन्‌। अनि त्यसको चारैतिर तिनीहरूले आफ्नो पाल टाँग्नेछन्‌+ र आ-आफ्नो बगाल चराउनेछन्‌।+  ४  “त्यसविरुद्ध लड्‌न तयार होऊ! उठ, हामी मध्यदिनमा त्यसमाथि हमला गरौँ!” “तर हाय, दिन ढल्कँदै छ र बेलुकीको छाया लम्बिँदै छ!”  ५  “उठौँ, राती त्यसमाथि हमला गरौँ र त्यसका किल्लाहरू ध्वस्त पारौँ।”+  ६  किनकि सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “रूखहरू काटेर ढाल र यरुसलेमविरुद्ध घेरा-मचान* तयार पार।+ यस सहरले दण्ड पाउनै पर्छ; यो सहर अत्याचारै-अत्याचारले भरिएको छ।+  ७  जसरी कुवामा पानी ताजा रहिरहन्छ, त्यसरी नै त्यस सहरले दुष्टतालाई ताजा राखिरहेको छ। त्यहाँ हिंसा र विनाशको आवाज सुनिन्छ;+ त्यहाँ म सधैँ बिमारी र महामारी देख्छु।  ८  हे यरुसलेम, चेतावनी सुन नत्र त मलाई तिमीदेखि घिन लाग्नेछ र म तिमीलाई फर्केर पनि हेर्नेछैनँ;+ म तिमीलाई कोही पनि नबस्ने निर्जनभूमि बनाउनेछु।”+  ९  सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “इस्राएलका बाँकी रहेका मानिसहरू बोटमा बचेखुचेका अङ्‌गुरजस्तै छन्‌। बचेखुचेका अङ्‌गुर टिपेर जम्मा गर्ने मानिसले जस्तै तिनीहरूलाई एउटै बाँकी नरहनेगरि जम्मा गर्नू।” १०  “म कसलाई भनूँ र चेतावनी दिऊँ? कसले मेरो कुरा सुन्ला? तिनीहरूको कान बन्द भएको छ,* त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्‌।+ तिनीहरूले यहोवाको वचनको अपमान गरेका छन्‌;+ तिनीहरूलाई त्यो सुन्‍नै मन पर्दैन। ११  त्यसकारण मभित्र यहोवाको क्रोध दन्किरहेको छ अनि यसलाई थाम्दा-थाम्दा म थाकिसकेको छु।”+ “यसलाई सडकमा भएका केटाकेटीमाथि+ अनि एकसाथ भेला भएका जवान मानिसहरूमाथि खन्याइदेऊ। लोग्ने र स्वास्नी दुवैमाथि खन्याइदेऊ अनि उमेर खाइसकेका र बूढाहरूमाथि पनि खन्याइदेऊ।+ १२  तिनीहरूका खेतबारी र स्वास्नीहरूसँगसँगै तिनीहरूका घरहरू अरूलाई दिइनेछ।+ किनकि म यस देशका बासिन्दाहरूविरुद्ध आफ्नो हात पसार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ। १३  “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+ के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+ १४  अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌। १५  आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्‌? अहँ, रतीभर हुँदैनन्‌! लाज के हो, तिनीहरूलाई थाहै छैन!+ त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्‌नेछन्‌। मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ। १६  यहोवा यसो भन्‍नुहुन्छ: “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरूको विषयमा सोध, असल बाटो कहाँ छ, सोध र त्यसमै हिँड+ र तिमीहरूलाई चैन हुनेछ।” तर तिनीहरूले भने: “हामी त्यस बाटोमा हिँड्‌नेछैनौँ।”+ १७  “अनि मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्‍त गरेँ,+ जसले यसो भने, ‘सिङ फुकेको आवाज ध्यानसित सुन!’”+ तर तिनीहरूले भने: “हामी सुन्‍नेछैनौँ।”+ १८  “त्यसकारण तिनीहरूलाई के हुनेछ, हे जातिजातिका मानिस हो, सुन! हे समुदाय हो, थाह पाइराख। १९  हे पृथ्वीका सबै मानिस हो, सुन! यी मानिसहरूले मेरो कुरा सुनेनन्‌ अनि मेरो आज्ञा* पालन गरेनन्‌। त्यसैले यी मानिसहरूको कुबुद्धिले गर्दा म यी मानिसहरूमाथि विपत्ति ल्याउँदै छु।”+ २०  “तिमीहरूले सेबादेखि ल्याएको सेतो धूप* र टाढाको देशबाट ल्याएको बोझोको* मलाई के मतलब? तिमीहरूको अग्निभेटीमा* मलाई कुनै चासो छैन अनि तिमीहरूले चढाएको बलिदानले मलाई खुसी बनाउँदैन।”+ २१  त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ: “म यी मानिसहरूको अगाडि ठेस लाग्ने ढुङ्‌गाहरू राखिदिनेछु; तिनीहरूले त्यसमा ठेस खानेछन्‌ अनि बुबा र छोरा, साथीभाइ र छरछिमेक सबै नाश हुनेछन्‌।”+ २२  यहोवा भन्‍नुहुन्छ: “हेर उत्तरको देशबाट मानिसहरू आउँदै छन्‌। पृथ्वीको पल्लो छेउबाट आउन एउटा जाति सुरिँदै छ।+ २३  तिनीहरू धनु र भाला लिएर आउनेछन्‌। तिनीहरू क्रूर छन्‌; तिनीहरूले कुनै दयामाया देखाउनेछैनन्‌। तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै छ। हे सियोनकी छोरी, घोडामा सवार भएर+ तिनीहरू तिमीविरुद्ध पङ्‌क्‍ति बाँधेर लड्‌न आउनेछन्‌।” २४  यो खबर सुनेपछि हाम्रा हातहरू लल्याकलुलुक भए;+ हामी पीडाले छटपटायौँ; हाम्रो हालत बेथा लागेकी स्त्रीको जस्तै भयो।+ २५  खेततिर नजाऊ, बाटोतिर पनि ननिस्क किनभने शत्रुहरू तरबार लिएर उभिएका छन्‌; चारैतिर आतङ्‌क छाएको छ। २६  हे मेरा मानिसहरूकी छोरी,* भाङ्‌ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर। एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+ किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्‌।+ २७  “मेरा मानिसहरूको चालढाल जाँच्न अनि तिनीहरूलाई राम्ररी केलाउन मैले तिमीलाई* धातु जाँच्ने मानिससरह तुल्याएको छु। २८  तिनीहरू सबै जना साह्रै कठोर छन्‌,+ तिनीहरू अरूको निन्दा गर्दै हिँड्‌छन्‌।+ तिनीहरू तामा र फलामजस्तै छन्‌; तिनीहरू सबै भ्रष्ट भएका छन्‌। २९  खलाँती* कामै नलाग्ने भएको छ। आगोबाट सीसाबाहेक अरू केही निस्केन। तिनीहरूलाई शुद्ध पार्न निक्कै कोसिस गरियो तर केही फाइदा भएन+ किनभने जो दुष्ट छन्‌, उनीहरूलाई अलग पारिएको छैन।+ ३०  तिनीहरू काम नलाग्ने चाँदी कहलाइनेछन्‌ किनभने यहोवाले तिनीहरूलाई त्याग्नुभएको छ।”+

फुटनोटहरू

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
शा., “तिनीहरूको कानको खतना भएको छैन।”
वा “निर्देशन।”
शब्दावली हेर्नुहोस्‌।
एक किसिमको बास्नादार नर्कट।
शब्दावली हेर्नुहोस्‌।
यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।
अर्थात्‌, यर्मियालाई।
आरनमा आगो फुक्न चलाइने छालाको थैलो।