यर्मिया ७:१-३४

  • यहोवाको मन्दिरमा देखावटी भरोसा (१-११)

  • मन्दिरको हालत सिलोको जस्तै हुनेछ (१२-१५)

  • औपचारिक उपासनाको भर्त्सना (१६-३४)

    • “स्वर्गकी रानी”-को पूजा (१८)

    • हिन्‍नोममा बालकहरूको बलि (३१)

७  यहोवा परमेश्‍वरको यो वचन यर्मियाकहाँ आयो: २  “यहोवाको भवनको मूलढोकामा उभिएर यो सन्देश सुनाउनू, ‘यहोवालाई दण्डवत्‌ गर्न यी ढोकाहरूबाट पस्ने यहुदाका सबै मानिस हो, यहोवाको वचन सुन। ३  सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूको चालचलन राम्रो बनाओ अनि आफ्नो काम सुधार। अनि मात्र म तिमीहरूलाई यो ठाउँमा बसिरहन दिनेछु।+ ४  छली कुराहरूमा भरोसा गरेर यसो नभन, ‘यो यहोवाको मन्दिर हो, यहोवाको मन्दिर! हो, हाम्रा परमेश्‍वर यहोवाको मन्दिर!’+ ५  यदि तिमीहरूले आफ्नो चालचलन राम्रो बनायौ र आफ्नो काम सुधाऱ्‍यौ भने; यदि तिमीहरूले कुनै मानिस र उसको छिमेकीको बीचमा सही न्याय गऱ्‍यौ भने;+ ६  विदेशी, टुहुराटुहुरी* वा विधवालाई हेपेनौ,+ निर्दोषहरूको रगत बगाएनौ अनि आफ्नै हानि हुनेगरि अरू देवताको पछि लागेनौ भने+ ७  म तिमीहरूलाई यो ठाउँमा अर्थात्‌ मैले तिमीहरूका पितापुर्खालाई दिएको देशमा सधैँभरि बसिरहन दिनेछु।”’” ८  “तर तिमीहरू छली कुराहरूमा भरोसा गर्दै छौ।+ यसले तिमीहरूलाई कुनै लाभ पुऱ्‍याउनेछैन। ९  तिमीहरू चोरी गर्छौ,+ हत्या गर्छौ, व्यभिचार* गर्छौ, झूटो कसम खान्छौ,+ बाआल देवतालाई बलि चढाउँछौ+ अनि चिन्दै नचिनेका देवताहरूको पछि लाग्छौ। १०  अनि मेरो नामले चिनिएको यस भवनमा आएर मसामु खडा भएर यसो भन्छौ, ‘हामीलाई केही हुनेछैन।’ यी सबै घिनलाग्दा कामहरूको बाबजुद तिमीहरू कसरी यस्तो कुरा सोच्न सक्छौ? ११  के तिमीहरूले मेरो नामले चिनिएको यस भवनलाई डाँकुहरूको ओडार सम्झेका छौ?+ हेर, मैले तिमीहरूका सबै कर्तुत आफ्नै आँखाले देखेको छु,” यहोवा घोषणा गर्नुहुन्छ। १२  “‘जाओ, मैले सुरुमा आफ्नो नामको खातिर चुनेको+ पवित्र भूमि सिलोमा गएर हेर।+ मेरो प्रजा इस्राएलले खराब काम गरेकोले मैले त्यस ठाउँलाई के गरेँ, तिमीहरूले त्यहाँ गएर थाह पाउनेछौ।+ १३  तर तिमीहरूले खराब काम गरी नै रह्‍यौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+ १४  त्यसैले मेरो नाम दिइएको यस भवन, जसमा तिमीहरू भरोसा गर्छौ+ अनि यो ठाउँ, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ, यसको हालत पनि सिलोको जस्तै बनाउनेछु।+ १५  तिमीहरूका दाजुभाइ अर्थात्‌ एप्रैमका सन्तानलाई फ्याँकेजस्तै म तिमीहरूलाई पनि फ्याँक्नेछु।’+ १६  “तर तिमीले यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने, प्रार्थना गर्ने वा बिन्ती चढाउने नगर+ किनभने म तिम्रो प्रार्थना सुन्‍नेछैनँ।+ १७  तिनीहरू यहुदाका सहरहरूमा अनि यरुसलेमका बाटोहरूमा के गर्दै छन्‌, के तिमी देख्दैनौ? १८  छोराहरू दाउरा बटुल्दै छन्‌, बुबाहरू आगो बाल्दै छन्‌, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्‌दै छन्‌+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्‌।+ १९  यहोवा घोषणा गर्नुहुन्छ, ‘तर के तिनीहरूले मलाई चोट पुऱ्‍याएका हुन्‌ र? के यसो गर्दा तिनीहरू आफै लाजमा पर्नेछैनन्‌ र?’+ २०  त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर! मेरो रिस र क्रोध यो ठाउँ,+ यहाँका मानिस, जनावर, बोटबिरुवा र फसल सबैमा खनिनेछ। ती सब जलेर खरानी हुनेछन्‌ र त्यसको आगो कहिल्यै निभ्नेछैन।’+ २१  “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘जाओ र गएर अरू बलिदानहरूसँगै अग्निभेटी पनि चढाओ अनि त्यसको मासु तिमीहरूले नै खाओ।+ २२  तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याउने बेला मैले तिनीहरूबाट चाहेको कुरा अग्निभेटी वा बलिदान थिएन।+ २३  बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+ २४  तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्‌नुको साटो पछि सरे। २५  मिश्रबाट आएको दिनदेखि नै तिमीहरू र तिमीहरूका पुर्खाहरूले त्यसै गरिरहेका छौ।+ त्यसैले मैले हरेक दिन, बारम्बार आफ्ना सेवकहरू अर्थात्‌ भविष्यवक्‍ताहरू पठाइरहेँ।+ २६  तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्‍यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्‍यौ। २७  “तिमीले यी सब कुरा तिनीहरूलाई बताउनेछौ+ तर तिनीहरूले सुन्‍नेछैनन्‌। तिमीले तिनीहरूलाई बोलाउनेछौ तर तिनीहरूले कुनै जवाफ दिनेछैनन्‌। २८  अनि तिमीले तिनीहरूलाई यसो भन्‍नेछौ, ‘यो यहोवाको आज्ञा नमान्‍ने जाति हो अनि यिनीहरू अनुशासन पनि स्विकार्दैनन्‌। वफादारी यिनीहरूको माझबाट लोप भइसकेको छ। वफादारी भनेको के हो, यिनीहरूले बिर्सिसकेका छन्‌।’*+ २९  “आ-आफ्नो कपाल खौरेर फालिदेओ। अनि नाङ्‌गो डाँडामा गएर अलापविलाप गर्दै शोकगीत गाओ किनभने यहोवाले उहाँलाई रिस उठाउने यस पुस्तालाई अस्वीकार गर्नुभएको छ र उहाँले तिनीहरूलाई त्याग्नुहुनेछ। ३०  यहोवा घोषणा गर्नुहुन्छ, ‘यहुदाका मानिसहरूले मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्‌। तिनीहरूले मेरो नाम दिइएको यस भवनमा घिनलाग्दा मूर्तिहरू राखेर यसलाई अशुद्ध पारेका छन्‌।+ ३१  मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा अनि मेरो मनमा पनि नआएको कुरा तिनीहरूले गरेका छन्‌:+ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउन+ “हिन्‍नोमको छोराको बेँसी”-मा*+ भएको तोफेथमा अग्ला थानहरू* बनाएका छन्‌।’ ३२  “यहोवा घोषणा गर्नुहुन्छ: ‘हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले त्यसलाई तोफेथ वा “हिन्‍नोमको छोराको बेँसी”* होइन, बरु हत्या बेँसी भन्‍नेछन्‌। तोफेथमा खाली ठाउँ नै नरहनेगरि लासहरू गाडिनेछन्‌।+ ३३  अनि ती लासहरू आकाशका चराचुरुङ्‌गी र जमिनका पशुहरूका आहारा हुनेछन्‌ र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+ ३४  यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमा म हर्ष र रमाहटको आवाज अनि दुलहादुलहीको आवाज बन्द गरिदिनेछु+ किनभने त्यो देश उजाड पारिनेछ।’”+

फुटनोटहरू

वा “बुबा गुमाएका बच्चाहरू।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।
शा., “वफादारी यिनीहरूको मुखबाट हटिसकेको छ।”
शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।