यसैया २०:१-६
-
मिश्र र इथियोपियाविरुद्ध चिन्ह (१-६)
२० अस्सेरियाका राजा सार्गोनले तर्तानलाई* अस्दोदमा पठाएकै वर्ष तर्तानले अस्दोदमा+ आक्रमण गरेर त्यसलाई कब्जा गरे।+
२ त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्गै* अनि खाली खुट्टा हिँडे।
३ तब यहोवाले यसो भन्नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्गै अनि खाली खुट्टा हिँड्यो,
४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन।
५ अनि आफूले भरोसा गरेको इथियोपिया र गर्व गरेको मिश्रको हालत देखेर* तिनीहरू डराउनेछन् र लाजमा पर्नेछन्।
६ अनि तटवर्ती इलाकामा बस्नेहरूले त्यस दिन यसो भन्नेछन्: ‘हेर त! हाम्रो आशा चकनाचुर भयो। हामी त अस्सेरियाको राजाबाट बच्न अनि तिनको हातबाट उम्कन त्यहाँ भागेर गएका थियौँ। अब हामी कहाँ भाग्ने?’”
फुटनोटहरू
^ वा “सेनापति।”
^ वा “भित्री लुगा मात्र लगाएर।”
^ वा “र जुन मिश्रको सौन्दर्य देखेर तिनीहरू दङ्ग पर्थे, त्यसको हालत देखेर।”