योएल ३:१-२१
३ “किनकि हेर! ती दिनमा र ती समयमा
जब म यहुदा र यरुसलेमबाट कैद गरेर लगिएकाहरूलाई फर्काएर ल्याउनेछु,+
२ तब सबै राष्ट्रका मानिसलाई पनि जम्मा गर्नेछु
अनि तिनीहरूलाई यहोसापात* बेँसीमा ल्याउनेछु।
मेरो जाति र मेरो सम्पत्ति इस्राएलको खातिर
म तिनीहरूसित त्यहाँ मुद्दा लड्नेछु।+
किनकि तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूमाझ तितरबितर पारिदिए
र तिनीहरूले मेरो भूमि आपसमा भागबन्डा गरे।+
३ तिनीहरूले मेरो जातिको लागि गोला हाले;+
अनि तिनीहरूले वेश्याहरूलाई ज्यालास्वरूप केटाहरू दिए
र रक्सीको लागि केटीहरूलाई बेचे।
४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,
तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?
के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?
यदि तिमीहरू बदला लिँदै छौ भने
चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+
५ किनकि तिमीहरूले मेरो सुनचाँदी लियौ+
अनि मेरो अनमोल खजाना तिमीहरूका मन्दिरहरूमा लग्यौ।
६ अनि तिमीहरूले यहुदा र यरुसलेमका मानिसहरूलाई उनीहरूको इलाकाबाट टाढा पठाउन
उनीहरूलाई ग्रीकहरूको हातमा बेच्यौ।+
७ म उनीहरूलाई तिमीहरूले बेचेका ठाउँहरूबाट फिर्ता ल्याउनेछु+
अनि तिमीहरूको कामको प्रतिफल तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।
८ म तिमीहरूका छोराछोरीलाई यहुदाका मानिसहरूको हातमा बेचिदिनेछु;+
उनीहरूले तिमीहरूका छोराछोरीलाई टाढाको देश सेबाका मानिसहरूको हातमा बेचिदिनेछन्;
किनकि यहोवा स्वयम्ले यो कुरा भन्नुभएको हो।
९ राष्ट्रहरूमाझ यस्तो घोषणा गर:+
‘युद्धको लागि तयारी गर! शूरवीरहरूलाई सुऱ्याऊ!
सिपाहीहरू सबै अघि बढून् र आक्रमण गरून्!+
१० हलोको फालीलाई पिटेर तरबार बनाऊ र हँसियालाई भाला बनाऊ।
अनि कमजोरहरूले यसो भनून्: “म शक्तिशाली छु।”
११ ए वरपरका राष्ट्रहरू हो! आओ र जम्मा होओ अनि मदत गर।’”+
हे यहोवा, आफ्ना शक्तिशाली योद्धाहरूलाई त्यहाँ ल्याउनुहोस्।
१२ “राष्ट्र-राष्ट्रका मानिसहरू जुरमुरिऊन् र तिनीहरू यहोसापात बेँसीमा आऊन्
किनकि म त्यहाँ बसेर वरपरका सबै राष्ट्रको इन्साफ गर्नेछु।+
१३ बाली पाकिसकेको छ, हँसिया लगाऊ।
आएर कुल्च किनकि कोल भरिएको छ।+
घ्याम्पाहरू भरिएर पोखिएका छन् किनकि दुष्टता असाध्यै बढेको छ।
१४ फैसलाको बेँसीमा हुलका हुल मानिस जम्मा भएका छन्
किनकि फैसलाको बेँसीमा यहोवाको दिन नजिकै छ।+
१५ सूर्य र चन्द्रमा अँध्यारो हुनेछ
अनि ताराहरूको चमक हराउनेछ।
१६ अनि यहोवा सियोनबाट गर्जनुहुनेछ,
यरुसलेमबाट उहाँ ठूलो स्वरले कराउनुहुनेछ।
अनि स्वर्ग र पृथ्वी डगमगाउनेछ
तर यहोवा आफ्ना मानिसहरूको शरणस्थान बन्नुहुनेछ,+
इस्राएलीहरूको गढ बन्नुहुनेछ।
१७ अनि म यहोवा नै तिमीहरूका परमेश्वर हुँ र म आफ्नो पवित्र डाँडा सियोनमा बास गर्छु भनेर तिमीहरूले जान्नेछौ+
यरुसलेम पवित्र ठाउँ हुनेछ+
अनि अपरिचित मानिसहरू* कहिल्यै त्यहाँबाट भएर जानेछैनन्।+
१८ त्यस दिनमा पहाडहरूबाट नयाँ मद्य तपतप चुहिनेछ+
डाँडाहरूबाट दूधको खोला बग्नेछ
अनि यहुदाका सबै नदीमा पानी बग्नेछ
यहोवाको भवनबाट मूल फुट्नेछ+
अनि ‘बबुलको रूखको बेँसी’-लाई* भिजाउनेछ।
१९ तर मिश्र* उजाड हुनेछ+
अनि एदोमचाहिँ मरुभूमि।+
किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+
र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+
२० तर यहुदा सदासर्वदाको लागि आबाद हुनेछ
अनि यरुसलेममा पुस्तौँपुस्तासम्म मानिसहरू रहनेछन्।+
२१ उनीहरूमाथि लागेको रगतको दोष म मेटाइदिनेछु+
अनि सियोनमा यहोवा बास गर्नुहुनेछ।”+
फुटनोटहरू
^ यसको अर्थ हो, “यहोवा न्यायकर्ता हुनुहुन्छ।”
^ वा “विदेशीहरू।”
^ वा “वादीलाई।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ वा “इजिप्ट।”