लुकाका अनुसार १३:१-३५
१३ त्यसबेला त्यहाँ उपस्थित कसै-कसैले मन्दिरमा बलि चढाइरहेका केही गालिलीको पिलातसले हत्या गरेका थिए भनेर उहाँलाई खबर दिए।
२ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरू यस्तो घटनाको सिकार हुने गालिलीहरूलाई अरू सबै गालिलीभन्दा बढ्ता पापी ठान्छौ?
३ म तिमीहरूलाई भन्छु, त्यसो होइन तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।+
४ त्यसैगरि सिलोआमको धरहरा ढल्दा त्यसले थिचेर मर्ने १८ जनालाई के तिमीहरू यरुसलेमका अरू सबै बासिन्दाभन्दा बढ्ता दोषी ठान्छौ?
५ म तिमीहरूलाई भन्छु, त्यसो होइन तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।”
६ त्यसपछि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: “एक जना मानिसले अङ्गुर बगानमा अन्जिरको रूख लगाएको थियो अनि त्यसमा फल लागेको छ कि भनेर खोज्दा उसले केही भेटेन।+
७ तब उसले बगानको मालीलाई भन्यो: ‘मैले यस अन्जिरको रूखमा फल खोज्न थालेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म एउटै फेला पारिनँ। त्यसैले यसलाई काटिदेऊ! यसलाई किन बेकारमा जमिन ओगट्न दिने?’
८ मालीले उसलाई जवाफ दियो: ‘मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु।
९ यसले फल फलायो भने बेसै भयो, होइन भने काट्न लगाउनुहोला।’”+
१० एकपटक विश्रामदिनमा* उहाँ कुनै एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो।
११ अनि हेर! बितेको १८ वर्षदेखि प्रेतले* कमजोर* बनाएको एउटी स्त्री त्यहाँ थिई। कुप्री भएकीले ऊ ठाडो उभिन सक्दिनथी।
१२ त्यस स्त्रीलाई देखेपछि येसुले उसलाई भन्नुभयो: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्त भयौ।”+
१३ अनि उहाँले ऊमाथि आफ्नो हात राख्नुभयो। उत्तिखेरै ऊ सीधा भई र परमेश्वरको महिमा गर्न थाली।
१४ येसुले यसरी विश्रामदिनमा निको पार्नुभएको देखेर रिसले चूर भएका सभाघरका पदाधिकारीले भीडलाई यसो भने: “काम गर्नका लागि छ दिन छुट्ट्याइएको छ।+ त्यसैले ती दिनमा आएर निको होओ, विश्रामदिनमा होइन।”+
१५ तर प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “कपटीहरू हो,+ के तिमीहरू सबै जना विश्रामदिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ?+
१६ त्यसोभए हेर, सैतानले बितेको १८ वर्षदेखि बाँधेर राखेको यो स्त्री, जो अब्राहामकी छोरी हुन्, उसलाई विश्रामदिनमा फुकाउनु के उचित होइन?”
१७ उहाँको यो कुरा सुनेर उहाँका सबै विरोधी लज्जित भए तर भीडमा हुनेजति सबै भने उहाँले गर्नुभएका यी सब आश्चर्यजनक काम देखेर खुसी भए।+
१८ उहाँले अझै यसो भन्नुभयो: “परमेश्वरको राज्य केजस्तो हो र त्यसलाई म केसित तुलना गरूँ?
१९ त्यो त रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो र त्यो बढेर रूख बन्यो अनि त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गी बास बस्न थाले।”+
२० उहाँले फेरि यसो भन्नुभयो: “परमेश्वरको राज्यलाई म केसित तुलना गरूँ?
२१ त्यो त खमिरजस्तो* हो, जसलाई एउटी स्त्रीले तीन भाँडो* पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।”+
२२ अनि उहाँ सहर-सहर र गाउँ-गाउँमा सिकाउँदै यरुसलेमतिर जानुभयो।
२३ तब एक जना मानिसले उहाँलाई सोध्यो: “हे प्रभु, के थोरैले मात्र उद्धार पाउँछन्?” उहाँले तिनीहरूलाई भन्नुभयो:
२४ “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर।+ किनकि म तिमीहरूलाई भन्छु, धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन् तर सफल हुनेछैनन्।
२५ अनि घरधनीले ढोका बन्द गरिसकेपछि तिमीहरूले बाहिर उभिएर ढोका ढकढक्याउँदै यसो भन्नेछौ: ‘प्रभु, हाम्रो लागि ढोका खोलिदिनुहोस् न।’+ तर उसले तिमीहरूलाई भन्नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन।’
२६ तब तिमीहरूले यसो भन्न थाल्नेछौ: ‘हामीले तपाईँकै अगाडि खायौँ, पियौँ अनि तपाईँले हामीलाई मूलबाटोमा सिकाउनुभयो।’+
२७ तर उसले तिमीहरूलाई यसो भन्नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन। ए कुकर्मी हो, मबाट पर हटिहाल।’
२८ जब तिमीहरूले अब्राहाम, इसहाक, याकुब अनि सबै भविष्यवक्तालाई परमेश्वरको राज्यभित्र तर आफूलाई भने बाहिर फ्याँकिएको पाउनेछौ, तब तिमीहरू दाह्रा किटी-किटी रुनेछौ।+
२९ साथै पूर्व, पश्चिम, उत्तर अनि दक्षिणबाट मानिसहरू आउनेछन् र परमेश्वरको राज्यमा खान बस्नेछन्।
३० अनि हेर! पछिल्लाहरूमध्ये कोही-कोही पहिला हुनेछन् र पहिलाहरूमध्ये कोही-कोही पछिल्ला हुनेछन्।”+
३१ त्यतिखेरै केही फरिसी* आएर उहाँलाई यसो भने: “यहाँबाट निस्केर गइहाल्नुहोस् किनभने हेरोदले तपाईँलाई मार्न खोज्दै छन्।”
३२ उहाँले तिनीहरूलाई भन्नुभयो: “जाओ, त्यस फ्याउरोलाई भनिदेओ: ‘हेर, म आज र भोलि प्रेतहरूलाई धपाउँछु अनि बिरामीहरूलाई निको पार्छु अनि तेस्रो दिनमा आफ्नो काम सिद्ध्याउनेछु।’
३३ तैपनि आज, भोलि अनि पर्सिसम्म मैले आफ्नो काम जारी राख्नै पर्छ किनकि भविष्यवक्ता यरुसलेमबाहिर मारिनु उचित हुँदैन।*+
३४ यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्ताहरूलाई मारिस् र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हानिस्!+ कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ।+
३५ हेर! परमेश्वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।+ म तिमीहरूलाई भन्छु, जबसम्म तिमीहरू ‘यहोवाको* नाममा आउने धन्यका हुन्’ भन्दैनौ,+ तबसम्म तिमीहरूले मलाई कुनै पनि हालतमा देख्नेछैनौ।”
फुटनोटहरू
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
^ वा “अपाङ्ग।”
^ शा., “सेआ।” एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ वा “मारिने कुरा सोच्न पनि सकिँदैन।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।