लेवी १३:१-५९
१३ यहोवा परमेश्वरले मोसा र हारुनलाई अझै यसो भन्नुभयो:
२ “कुनै मानिसको छाला कतै सुन्नियो, छालामा फुस्रो दाद वा दाग देखा पऱ्यो भने उसलाई कुष्ठरोग* लागेको हुन सक्छ।+ त्यसैले उसलाई पुजारी हारुन अथवा उनका छोराहरू—पुजारीहरूमध्ये एक जनाकहाँ लैजानू।+
३ पुजारीले उसको सङ्क्रमित छाला जाँचून्। सुन्निएको वा दाग देखा परेको ठाउँको रौँ सेतो भएको छ र दाग भित्रसम्मै गढेको छ भने त्यो कुष्ठरोग हो। पुजारीले जाँचेपछि उसलाई अशुद्ध ठहराऊन्।
४ उसको छालाको दाग सेतो छ तर त्यो भित्रसम्म गढेको छैन अनि त्यहाँको रौँ सेतो भएको छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
५ त्यसपछि सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचून्। जाँचेर हेर्दा त्यो दाग जस्ताको तस्तै छ र फैलिएको छैन भने पुजारीले अरू सात दिनसम्म उसलाई अलग्गै राखून्।
६ “सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचून्। दाग हराउँदै गएको छ र त्यो छालामा फैलिएको छैन भने पुजारीले उसलाई शुद्ध ठहराऊन्;+ त्यो सामान्य दाद मात्र हो। त्यसपछि उसले आफ्नो लुगा धोओस् र शुद्ध होस्।
७ तर शुद्ध ठहरिन पुजारीकहाँ गएपछि त्यो दाद* छालामा फैलिँदै गयो भने ऊ फेरि* पुजारीकहाँ जाओस्।
८ पुजारीले उसलाई जाँचून् र दाद छालामा फैलिएको छ भने तिनले उसलाई अशुद्ध ठहराऊन्। यो कुष्ठरोग हो।+
९ “यदि कुनै मानिसमा कुष्ठरोग देखियो भने उसलाई पुजारीकहाँ लैजानू
१० र पुजारीले उसलाई जाँचून्।+ यदि सुन्निएको ठाउँ सेतो भएर त्यहाँको रौँ पनि सेतो भएको छ र त्यहाँ आलो घाउ निस्केको छ भने+
११ त्यो दीर्घकालीन कुष्ठरोग हो र पुजारीले उसलाई अशुद्ध ठहराऊन्। तर पुजारीले उसलाई अलग्गै नराखून्+ किनकि ऊ पहिल्यैदेखि अशुद्ध भइसकेको छ।
१२ तर उसको छालामा देखिएको कुष्ठरोग जीउभरि फैलिएको छ र रोगले टाउकोदेखि पैतालासम्म पूरै छोइसकेको कुरा पुजारीले देखे भने
१३ पुजारीले उसलाई जाँचेर हेरून् र उसको जीउभरि कुष्ठरोग फैलिसकेको छ भने उसलाई शुद्ध ठहराऊन्।* सबै शरीर नै सेतो भइसकेकोले ऊ शुद्ध छ।
१४ तर छालामा आलो घाउ निस्कियो भने ऊ अशुद्ध होस्।
१५ पुजारीले आलो घाउ देखेमा उसलाई अशुद्ध ठहराऊन्।+ आलो घाउ अशुद्ध हो। त्यो कुष्ठरोग हो।+
१६ तर त्यो आलो घाउ निको भएर छाला सेतो भयो भने ऊ फेरि पुजारीकहाँ आओस्।
१७ पुजारीले उसलाई जाँचेर हेरून्+ र उसको छाला सेतो भएको छ भने पुजारीले उसलाई शुद्ध ठहराऊन्। ऊ शुद्ध छ।
१८ “कुनै मानिसको छालामा खटिरा निस्क्यो र त्यो निको भयो
१९ तर त्यो खटिरा निस्केको ठाउँ सेतो भएर सुन्नियो वा त्यहाँ सेतोसेतो, रातोरातो किसिमको दाग देखा पऱ्यो भने उसले पुजारीलाई देखाओस्।
२० पुजारीले उसलाई जाँचेर हेरून्+ र त्यो दाग भित्रसम्मै गढेको छ र त्यहाँको रौँ सेतो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो खटिराबाट निस्केको कुष्ठरोग हो।
२१ तर पुजारीले जाँचेर हेर्दा त्यहाँको रौँ सेतो भएको छैन, त्यो दाग भित्रसम्म गढेको छैन र दाग हराउँदै गएको छ भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
२२ त्यो दाग छालामा फैलिसकेको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो कुष्ठरोग हो।
२३ तर त्यो दाग फैलिएको छैन र एकै ठाउँमा छ भने त्यो खटिराले गर्दा सुन्निएको मात्र हो; पुजारीले उसलाई शुद्ध ठहराऊन्।+
२४ “अथवा कसैलाई आगोले पोल्यो र पोलेको ठाउँको आलो मासुमा रातोरातो, सेतोसेतो वा सेतो दाग देखियो भने
२५ पुजारीले उसलाई जाँचेर हेरून्। दाग भएको ठाउँको रौँ सेतो भएको छ र त्यो दाग भित्रसम्मै गढेको छ भने त्यो पोलेको ठाउँबाट निस्केको कुष्ठरोग हो; पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो कुष्ठरोग हो।
२६ तर पुजारीले जाँचेर हेर्दा त्यहाँको रौँ सेतो भएको छैन, त्यो दाग भित्रसम्म गढेको छैन र दाग हराउँदै गएको छ भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
२७ सातौँ दिनमा पुजारीले उसलाई जाँचेर हेरून् र त्यो दाग छालामा फैलिएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो कुष्ठरोग हो।
२८ तर त्यो दाग फैलिएको छैन र एकै ठाउँमा छ अनि हराउँदै गएको छ भने त्यो घाउ सुन्निएको मात्र हो; पुजारीले उसलाई शुद्ध ठहराऊन् किनकि त्यो पोलेको ठाउँमा सुन्निएको मात्र हो।
२९ “कुनै पुरुष वा स्त्रीको टाउको वा चिउँडोमा सङ्क्रमण भयो भने
३० पुजारीले त्यो जाँचेर हेरून्।+ त्यो भित्रसम्मै गढेको छ र त्यहाँको रौँ पहेँलो र मसिनो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो टाउकोको छाला वा दाह्रीमा देखिएको रोग हो; त्यो टाउको वा चिउँडोको कुष्ठरोग हो।
३१ तर पुजारीले जाँचेर हेर्दा त्यो सङ्क्रमण भित्रसम्म गढेको देखिँदैन र त्यसमा कालो रौँ छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
३२ सातौँ दिनमा पुजारीले उसलाई जाँचेर हेरून्। त्यो फैलिएको छैन, रौँ पहेँलो भएको छैन र भित्रसम्म गढेको छैन भने
३३ उसले सङ्क्रमण भएको ठाउँ छोडेर बाँकी भाग खौरोस्। अनि पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।
३४ “सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचेर हेरून्। जाँचेर हेर्दा टाउकोको छाला र दाह्रीको सङ्क्रमण फैलिएको छैन र भित्रसम्म गढेको छैन भने पुजारीले उसलाई शुद्ध ठहराऊन्। अनि उसले आफ्नो लुगा धोओस् र ऊ शुद्ध होस्।
३५ तर उसलाई शुद्ध ठहराइसकेपछि सङ्क्रमण फैलियो भने
३६ पुजारीले उसलाई जाँचेर हेरून्। सङ्क्रमण फैलिएको छ भने पुजारीले त्यहाँको रौँ पहेँलो भएको छ कि छैन भनेर जाँच्नुपर्दैन; ऊ अशुद्ध हो।
३७ तर जाँचेर हेर्दा सङ्क्रमण फैलिएको देखिएन र त्यहाँ कालो रौँ उम्रेको देखियो भने त्यो निको भएको हो। ऊ शुद्ध छ र पुजारीले उसलाई शुद्ध ठहराऊन्।+
३८ “कुनै पुरुष वा स्त्रीको छालामा दागहरू देखियो र ती सेता छन् भने
३९ पुजारीले जाँचेर हेरून्।+ ती दाग हल्का सेता छन् भने ती छालामा निस्केका डाबर मात्र हुन्। त्यो मानिस शुद्ध हो।
४० “कुनै पुरुषको कपाल पूरै झरेर ऊ तालुखुइले भएको छ भने ऊ शुद्ध हो।
४१ यदि अगाडिपट्टिको कपाल झरेर तालुखुइले भएको छ भने ऊ शुद्ध हो।
४२ तर तालु खुइलिएको भागमा वा निधारमा रातोरातो, सेतोसेतो घाउ देखिएमा त्यो उसको तालु वा निधारमा आएको कुष्ठरोग हो।
४३ पुजारीले उसलाई जाँचेर हेरून्। उसको तालु खुइलिएको भागमा वा निधारमा भएको त्यो सुन्निएको घाउ रातोरातो, सेतोसेतो छ र त्यो कुष्ठरोगजस्तो देखिन्छ भने
४४ ऊ कुष्ठरोगी हो; ऊ अशुद्ध हो। उसको टाउकोमा लागेको त्यस रोगले गर्दा पुजारीले उसलाई अशुद्ध ठहराऊन्।
४५ कुष्ठरोगीले च्यातिएको लुगा लगाओस् र कपाल नकोरोस्। अनि उसले आफ्नो मुख छोपेर ‘अशुद्ध, अशुद्ध!’ भन्दै कराओस्।
४६ रोग निको नभएसम्म ऊ अशुद्ध रहोस्। अशुद्ध भएकोले ऊ अलग्गै बसोस्। ऊ छाउनीदेखि बाहिरै बसोस्।+
४७ “ऊनको होस् वा मलमलको, यदि कुनै लुगामा ढुसी लाग्यो
४८ अनि त्यो ढुसी लुगाको धागोमा* लागेको होस् अथवा छालामा वा छालाबाट बनेको कुनै सामानमा,
४९ यदि त्यसले गर्दा त्यस लुगामा, छालामा, धागोमा वा छालाको अरू कुनै सामानमा पहेँलोपहेँलो खालको हरियो दाग वा रातो दाग देखियो भने त्यो ढुसी नै हो र त्यो पुजारीलाई देखाउनुपर्छ।
५० पुजारीले त्यसलाई जाँचेर हेरून् र ढुसी लागेको सामानलाई सात दिनसम्म अलग्गै राखून्।+
५१ पुजारीले सातौँ दिनमा जाँचेर हेर्दा त्यो ढुसी लुगामा, धागोमा वा छालामा (त्यो छाला जुनसुकै कामको लागि प्रयोग गरिए तापनि) फैलिएको भेट्टाएमा त्यो सर्ने किसिमको ढुसी हो। त्यसैले त्यो अशुद्ध हो।+
५२ तिनले लुगा, मलमलको वा ऊनको लुगाको धागोमा र छालाबाट बनेको जुनसुकै सामान, जसमा ढुसी लागेको छ, त्यो जलाऊन् किनकि त्यो सर्ने किसिमको ढुसी हो। त्यसलाई आगोमा जलाउनू।
५३ “तर पुजारीले जाँचेर हेर्दा लुगामा, धागोमा वा छालाबाट बनेको कुनै पनि सामानमा ढुसी फैलिएको छैन भने
५४ पुजारीले ढुसी लागेको सामानलाई धुन लगाऊन् र तिनले त्यो सामान अरू सात दिनसम्म अलग्गै राखून्।
५५ ढुसी लागेको सामानलाई राम्ररी धोएपछि पुजारीले त्यसलाई जाँचेर हेरून्। यसरी हेर्दा ढुसी नफैलिए तापनि त्यो पहिलाको जस्तै देखिन्छ भने त्यो अशुद्ध हो; त्यसलाई आगोमा जलाइदिनू किनकि ढुसीले त्यसलाई भित्रभित्रैबाट वा बाहिरबाट खाइसकेको छ।
५६ “तर राम्ररी धोइसकेपछि पुजारीले त्यसलाई जाँचेर हेर्दा ढुसी कम हुँदै गएको छ भने तिनले ढुसी लागेको भाग त्यो धागो वा लुगा वा छालाबाट च्यातेर फ्याँकून्।
५७ तर त्यो लुगामा, धागोमा वा छालाको कुनै पनि सामानमा फेरि ढुसी देखा पऱ्यो भने ढुसी फैलिरहेको छ; ढुसी लागेको त्यो सामानलाई आगोमा जलाइदिनू।+
५८ तर धोइसकेको लुगा, धागो वा छालाको कुनै पनि सामानबाट ढुसी हराएर गयो भने त्यसलाई फेरि एक पटक धुनू अनि त्यो शुद्ध हुनेछ।
५९ “ऊन वा मलमलको लुगामा, धागोमा वा छालाको कुनै पनि सामानमा लाग्ने ढुसीलाई शुद्ध वा अशुद्ध ठहराउने नियम यही हो।”
फुटनोटहरू
^ यहाँ “कुष्ठरोग” भनेर अनुवाद गरिएको हिब्रू शब्दको विभिन्न अर्थ छ। यसमा छालामा लाग्ने विभिन्न सरुवा रोगहरू र लुगामा अनि घरमा देखिने ढुसी पनि समावेश छ।
^ वा “सङ्क्रमण।”
^ वा “दोस्रो पटक।”
^ वा “उसको कुष्ठरोग नसर्ने किसिमको हो भनी ठहराऊन्।”
^ शा., “ताना वा बानामा।”