व्यवस्था ५:१-३३
५ अनि मोसाले सबै इस्राएलीलाई बोलाएर यसो भने: “हे इस्राएली हो, मैले आज तिमीहरूलाई बताउन लागेको नीतिनियम र विधिविधान सुन। ती नीतिनियम र विधिविधानबारे सिक र ती होसियार भई पालन गर।
२ यहोवा हाम्रा परमेश्वरले हामीसित होरेबमा एउटा करार गर्नुभएको थियो।+
३ यहोवा परमेश्वरले त्यो करार हाम्रा पुर्खासित होइन तर हामीसित, हो अहिले यहाँ जीवित रहेका हामी सबैसित गर्नुभएको थियो।
४ यहोवा परमेश्वरले त्यस डाँडामा आगोको बीचबाट तिमीहरूसित आमनेसामने कुरा गर्नुभएको थियो।+
५ त्यसबेला म तिमीहरूलाई यहोवा परमेश्वरको सन्देश सुनाउन यहोवा परमेश्वर र तिमीहरूको बीचमा उभिएको थिएँ+ किनभने तिमीहरू डाँडामा आगो बलेको देखेर डराएका थियौ र त्यहाँ उक्लेका थिएनौ।+ तब उहाँले यसो भन्नुभयो:
६ “‘तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्वर हुँ।+
७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्नू।+
८ “‘तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू;+ माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।
९ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।+
१० तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम* देखाउनेछु।
११ “‘तिमीहरूले यहोवा आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्वरले सजाय नदिई छोड्नुहुन्न।+
१२ “‘यहोवा परमेश्वरले भन्नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+
१३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+
१४ तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्।+
१५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्रामदिन मान्ने आज्ञा दिनुभयो।
१६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+
१७ “‘तिमीहरूले हत्या नगर्नू।+
१८ “‘तिमीहरूले व्यभिचार* नगर्नू।+
१९ “‘तिमीहरूले चोरी नगर्नू।+
२० “‘तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+
२१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+
२२ “तिमीहरूको पूरै समुदायसित डाँडामा आगोबाट बोल्नुहुँदा यहोवा परमेश्वरले यी आज्ञाहरू* दिनुभएको थियो। त्यसबेला त्यस ठाउँलाई बाक्लो बादलले ढाकेको थियो अनि त्यहाँ घोर अन्धकार छाएको थियो+ र उहाँले तिमीहरू सबैसित ठूलो स्वरमा कुरा गर्नुभएको थियो। उहाँले यी आज्ञाहरूमा अरू केही थप्नुभएन। अनि उहाँले यी आज्ञाहरू ढुङ्गाका दुई वटा पाटीमा लेख्नुभयो र मलाई दिनुभयो।+
२३ “डाँडामा आगो बलिरहेको थियो।+ अनि घोर अन्धकारबाट तिमीहरूले परमेश्वरको स्वर सुन्नेबित्तिकै तिमीहरूका कुलहरूका अगुवाहरू र नाइकेहरू मकहाँ आए।
२४ त्यसपछि तिमीहरूले भन्यौ, ‘यहोवा हाम्रा परमेश्वरले हामीलाई आफ्नो महानता र महिमा देखाउनुभएको छ अनि हामीले आगोको बीचबाट उहाँको स्वर सुन्यौँ।+ आज हामीले थाह पायौँ, परमेश्वर मानिसहरूसित बोल्नुहुन्छ र उहाँको स्वर सुने पनि मानिसहरू जीवित रहन सक्छन्।+
२५ तर यस भयानक आगोले हामीलाई भस्म गर्न सक्छ; हामी मर्न चाहँदैनौँ। यदि हामीले यहोवा परमेश्वरको स्वर सुनिरह्यौँ भने त हामी पक्कै मर्नेछौँ।
२६ यसरी जीवित परमेश्वरले आगोको बीचबाट बोलेको सुनेर पनि जीवित रहने हामीजस्तो मानिस अरू को होला र?
२७ अब यहोवा हाम्रा परमेश्वर के-के भन्नुहुन्छ, त्यो सुन्न तपाईँ नै उहाँको नजिक जानुहोस्। अनि यहोवा हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्नेछौँ र त्यसैअनुसार गर्नेछौँ।’+
२८ “यहोवा परमेश्वरले तिमीहरूले भनेका सबै कुरा सुन्नुभयो। त्यसैले यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘यी मानिसहरूले तिमीलाई भनेका कुरा मैले सुनेँ। तिनीहरूको कुरा ठीक हो।+
२९ यदि तिनीहरूले मनैदेखि मेरो डर मानिरहे+ र मेरा सबै आज्ञा पालन गरिरहे भने+ तिनीहरूको अनि तिनीहरूका सन्तानको सधैँ भलो हुनेछ।+
३० जाऊ, तिनीहरूलाई “आ-आफ्नो पालमा फर्क” भन।
३१ तर तिमीचाहिँ मेरो नजिकै बस। म तिमीलाई मेरा सबै आज्ञा, नीतिनियम र विधिविधान बताउनेछु। त्यसपछि गएर तिमीले ती सबै कुरा इस्राएलीहरूलाई सिकाउनू। अनि मैले तिनीहरूको अधिकारमा दिन लागेको देशमा तिनीहरूले ती पालन गरून्।’
३२ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जे-जे आज्ञा दिनुभएको छ, ती तिमीहरूले होसियारीसाथ पालन गर्नू।+ तिमीहरू त्यसबाट दायाँबायाँ नलाग्नू;+
३३ यहोवा परमेश्वरले देखाउनुभएको बाटोमा मात्र हिँड्नू।+ यसो गऱ्यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ र त्यहाँ तिमीहरूको फलिफाप हुनेछ।+
फुटनोटहरू
^ वा “मेरो विरुद्धमा गएर।”
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ शा., “शब्दहरू।”