हबकुक २:१-२०

  • ‘उहाँले के भन्‍नुहुन्छ भनी थाह पाउन उहाँको बाटो हेर्नेछु’ ()

  • यहोवाले भविष्यवक्‍तालाई दिनुभएको जवाफ (२-२०)

    • ‘दर्शनको बाटो हेर्दै बस’ ()

    • धर्मी मानिस आफ्नो विश्‍वासद्वारा जिउनेछ ()

    • कल्दियालीहरूलाई पाँच पटक धिक्कारियो (६-२०)

      • यहोवाको ज्ञानले पृथ्वी भरिनेछ (१४)

२  म आफ्नो चौकीमा उभिरहनेछु+ अनि म किल्लामा पर्खिरहनेछु। उहाँले ममार्फत के भन्‍नुहुनेछ भनी थाह पाउन अनि मलाई सुधारिँदा मैले के जवाफ दिनेछु भनी जान्‍न म उहाँको बाटो हेर्नेछु।  २  तब यहोवाले मलाई यस्तो जवाफ दिनुभयो: “त्यो दर्शन* लेख, त्यसलाई पाटीमा स्पष्टसित लेखिराख+ ताकि त्यो पढेर सुनाउनेले सजिलै* पढ्‌न सकोस्‌।+  ३  किनकि त्यो दर्शन तोकिएको समयमा पूरा हुनेछ अनि त्यो पूरा हुने समय नजिकै आउँदै छ र त्यो झूटो साबित हुनेछैन। त्यसले ढिला गऱ्‍यो* भने पनि त्यसको बाटो हेर्दै बस*+ किनकि त्यो पक्कै पूरा हुनेछ। त्यसले ढिला गर्नेछैन!  ४  त्यस मानिसलाई हेर, जो घमन्डले फुलेको छ; उसको मन सोझो छैन। तर धर्मी मानिस आफ्नो विश्‍वासद्वारा जिउनेछ।+  ५  साँच्चै, मद्यले मानिसलाई धोका दिन्छ, त्यसैले घमन्डीले आफ्नो लक्ष्य हासिल गर्न सक्नेछैन। त्यसले आफ्नो भोक चिहानजस्तै* बढाउँछ; मृत्युलाई जस्तै त्यसलाई कहिल्यै तृप्त पार्न सकिँदैन। त्यसले जातिजातिका सबै मानिसलाई जम्मा गरिरहन्छ अनि सबै जातिका मानिसलाई आफ्नो लागि भेला गरिरहन्छ।+  ६  के यी सबैले त्यसको विरुद्धमा आहान भन्‍नेछैनन्‌, अड्‌को थाप्नेछैनन्‌ अनि त्यसलाई व्यङ्‌ग्य हान्‍नेछैनन्‌?+ तिनीहरूले भन्‍नेछन्‌: ‘धिक्कार छ त्यसलाई, जसले अरूको सम्पत्ति थुपारेर त्यसलाई आफ्नो बनाउँछ अनि आफ्नो ऋण बढाउँदै लैजान्छ। तर कहिलेसम्म?  ७  जो-जोसँग तैँले ऋण लिएको छस्‌, तिनीहरू तँविरुद्ध एक्कासि उठ्‌नेछैनन्‌ र? तिनीहरू जाग्नेछन्‌ अनि तँलाई बेसरी हल्लाउनेछन्‌ अनि तँ तिनीहरूको लागि लुटको मालसरि हुनेछस्‌।+  ८  तैँले धेरै राष्ट्रलाई लुटिस्‌। त्यसैले तिनीहरूका बाँकी मानिसहरूले तँलाई लुट्‌नेछन्‌।+ किनकि तैँले मानिसहरूको रगत बगाइस्‌ अनि पृथ्वीमाथि, सहरहरूमाथि र त्यहाँ रहनेहरूमाथि हिंसा मच्चाइस्‌।+  ९  धिक्कार छ त्यसलाई, जसले बेइमानी गरेर आफ्नो घर भर्छ अनि विपत्तिबाट जोगिन आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ। १०  तैँले रचेको षड्‌यन्त्रले गर्दा तेरो घर लाजमा परेको छ। थुप्रै मानिसको विनाश गरेर तैँले आफ्नै विरुद्धमा पाप गरेको छस्‌।+ ११  भित्ताबाट ढुङ्‌गा कराउनेछ अनि दलिनबाट काठले त्यसलाई जवाफ दिनेछ। १२  धिक्कार छ त्यसलाई, जसले रक्‍तपात गरेर सहर निर्माण गर्छ अनि दुष्ट काम गरेर नगर स्थापना गर्छ। १३  हेर! आगोमा भस्म भएर जाने कुराको लागि मानिसहरू मरिमेटी काम गर्छन्‌। जातिजातिका मानिसहरूले व्यर्थको कुराको लागि आफूलाई थकाउँछन्‌। के सेनाहरूका यहोवाले गर्दा नै त्यसो भएको होइन र?+ १४  किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको महिमाको ज्ञानले भरिनेछ।+ १५  धिक्कार छ त्यसलाई, जसले आफ्ना साथीहरूलाई पिउने कुरा दिन्छ अनि तिनीहरूलाई मत्ताउन त्यसमा रिस र क्रोध मिसाइदिन्छ। त्यसले तिनीहरूको नग्नता हेर्न त्यसो गर्छ। १६  तँ महिमाको साटो अनादरले भरिनेछस्‌। तैँले पनि पिउनेछस्‌ र खतना नभएको आफ्नो अवस्था देखाउनेछस्‌।* यहोवाको दायाँ हातमा भएको प्यालाबाट पिउने तेरो पालो आइसकेको छ+ अनि तेरो महिमालाई लाजले ढाक्नेछ। १७  लेबनानमाथि तैँले गरेको हिंसाले तँलाई घेर्नेछ अनि तैँले जनावरहरूलाई भयभीत पार्न जुन विनाश ल्याइस्‌, त्यही विनाश तँमाथि पनि आइपर्नेछ। किनकि तैँले मानिसहरूको रगत बगाइस्‌ अनि पृथ्वीमा, सहरहरूमा र त्यहाँ रहनेहरूमाझ हिंसा मच्चाइस्‌।+ १८  मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र, जुन ऊ आफैले बनाएको हो? धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र? तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+ १९  धिक्कार छ त्यसलाई, जसले काठको टुक्रालाई “जाग्नुहोस्‌!” भन्छ अनि बोल्न नसक्ने ढुङ्‌गालाई “उठ्‌नुहोस्‌! हामीलाई सिकाउनुहोस्‌!” भन्छ। हेर! त्यसलाई सुन र चाँदीले मोहोरिएको छ+ अनि त्यसमा सास छँदै छैन।+ २०  तर यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+ हे सारा पृथ्वी! उहाँको अगाडि चुपचाप रहो।’”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “सरर्र।”
वा “त्यसले ढिला गरेको जस्तो लाग्यो।”
वा “उत्सुक हुँदै त्यसलाई पर्ख।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “र लरखराउनेछस्‌।”