हबकुक ३:१-१९

  • भविष्यवक्‍ताले प्रार्थनामा यहोवालाई कदम चाल्न बिन्ती गर्छन्‌ (१-१९)

    • परमेश्‍वरले आफ्नो अभिषिक्‍त जनलाई बचाउनुहुनेछ (१३)

    • दुःखमा पर्दा पनि यहोवालाई सम्झेर रमाउने (१७, १८)

३  भविष्यवक्‍ता हबकुकले शोकगीतको रूपमा चढाएको प्रार्थना:  २  हे यहोवा, मैले तपाईँबारे एउटा कुरा सुनेको छु। हे यहोवा, तपाईँका कामहरूले गर्दा ममा भय र श्रद्धा जागेको छ। हाम्रो पालामा* ती पूरा गर्नुहोस्‌! हाम्रो पालामा* त्यसबारे थाह दिनुहोस्‌। विपत्तिको बेलामा कृपा देखाउन नभुल्नुहोस्‌।+  ३  परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान डाँडाबाट आउनुभयो।+ (सेला)* उहाँको वैभवले आकाशलाई ढाक्यो+ अनि पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरियो।  ४  उहाँको चमक दिनको उज्यालोजस्तै थियो।+ उहाँको हातबाट दुई वटा किरण निस्कियो, जसमा उहाँको शक्‍ति लुकेको थियो।  ५  महामारी उहाँको अघिअघि गइरहेको थियो+ अनि निस्लोट ज्वरो उहाँको पछिपछि आइरहेको थियो।  ६  उहाँ टक्क अडिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो।+ उहाँको एक हेराइले राष्ट्रहरू डरले उफ्रिए।+ अनन्त कालका पहाडहरू चकनाचुर भए अनि प्राचीनकालका डाँडाहरू निहुरिए।+ पहिलेदेखि नै उहाँका मार्गहरू यस्तै छन्‌।  ७  कुसानको पालमा विपत्ति आएको मैले देखेँ। मिद्यानको पालका कपडाहरू काँपिरहेका थिए।+  ८  हे यहोवा, के तपाईँको रिस नदीहरूविरुद्ध हो? के तपाईँको क्रोध नदीहरूविरुद्ध दन्किएको हो? वा तपाईँ समुद्रदेखि क्रोधित हुनुभएको हो?+ किनकि तपाईँ आफ्ना घोडाहरूमा सवार हुनुभयो;+ तपाईँका रथहरू विजयी भए।*+  ९  तपाईँले आफ्नो धनु निकाल्नुभएको छ र तपाईँ काँड हान्‍न तयार हुनुहुन्छ। शपथ पूरा गर्नलाई छडी* तयार छ।* (सेला) तपाईँले पृथ्वीलाई नदीहरूले चिर्नुभयो। १०  तपाईँलाई देखेर पहाडहरू पीडाले छटपटाए।+ मुसलधारे पानी परेर भल बग्यो। जमिनमुनि पानीको मूल ठूलो स्वरले गर्जियो।+ त्यसले आफ्नो हात माथि उचाल्यो। ११  सूर्य र चन्द्रमा आफ्नो उच्च ठाउँमा टक्क अडिरहे।+ तपाईँका काँडहरू प्रकाशजस्तै अघि बढे।+ तपाईँको भालाको चमक बिजुलीको चमकजस्तै तेजिलो थियो। १२  क्रोधित हुँदै तपाईँ धर्तीमा पाइला टेक्दै जानुभयो। आफ्नो रिसमा तपाईँले राष्ट्रहरूलाई कुल्चनुभयो।* १३  तपाईँ आफ्ना मानिसहरूको उद्धार गर्न, आफूले अभिषेक गरेको जनलाई बचाउन निस्कनुभयो। दुष्टको घरानाको शासकलाई तपाईँले कुल्चीमिल्ची पार्नुभयो। तपाईँले त्यसलाई जगदेखि टुप्पोसम्मै* उदाङ्‌ग पार्नुभयो। (सेला) १४  त्यसका योद्धाहरू मलाई तितरबितर पार्न आँधीहुरीजस्तै आउँदा तपाईँले तिनीहरूको हतियार* तिनीहरूकै टाउकोमा रोपिदिनुभयो। दुःखमा परेकाहरूलाई सुटुक्क नाश गर्न पाउँदा तिनीहरू साह्रै रमाउँथे। १५  तपाईँ समुद्रमाथि, उर्लिरहेको विशाल सागरमाथि आफ्ना घोडाहरूमा सवार भएर आउनुभयो। १६  त्यो सुनेर म काँप्न थालेँ।* मैले सुनेको आवाजले गर्दा मेरा ओठ थरथराए। मेरा हड्डीहरू मक्किए;+ मेरा खुट्टाहरू काँप्न थाले। तर म विनाशको दिनलाई चुपचाप पर्खिरहन्छु+ किनकि त्यो विनाश हामीलाई आक्रमण गर्नेहरूमाथि आइपर्नेछ। १७  अन्जिरको रूखमा फूल नलागे पनि, अङ्‌गुरको बोटमा फल नलागे पनि, जैतुनको रूखले फल नदिए पनि अनि खेतले* उब्जनी नदिए पनि, खोरमा एउटै भेडाबाख्रा बाँकी नरहे पनि अनि गोठमा कुनै वस्तुभाउ बाँकी नरहे पनि १८  म भने यहोवालाई सम्झेर रमाउनेछु; मेरो उद्धार गर्नुहुने परमेश्‍वरलाई सम्झेर म आनन्दित हुनेछु।+ १९  ब्रह्‍माण्डका मालिक यहोवा नै मेरो बल हुनुहुन्छ;+ उहाँले मेरो खुट्टालाई हरिणको खुट्टाजस्तै बनाउनुहुनेछ र मलाई अग्ला-अग्ला ठाउँहरूमा हिँडाउनुहुनेछ।+

फुटनोटहरू

शा., “वर्षहरूको बीचमा।”
शा., “वर्षहरूको बीचमा।”
शब्दावली हेर्नुहोस्‌।
वा “रथहरूले उद्धार गरे।”
वा सम्भवतः “काँड।”
वा सम्भवतः “कुलहरूले शपथ खाएका छन्‌।”
शा., “दाइँ गर्नुभयो।”
शा., “गर्दनसम्मै।”
शा., “छडी।”
शा., “मेरो पेट काँप्यो।”
वा “गराले।”