हितोपदेश २५:१-२८
२५ यी हितोपदेश पनि सुलेमानका हुन्,+ जुन यहुदाका राजा हिजकियाहका+ भारदारहरूले सङ्कलन गरे र त्यसको नक्कल उतारे:
२ कुनै कुरा गोप्य राख्नु परमेश्वरको गौरव हो+
अनि मुद्दामामिलाको छानबिन गर्नुचाहिँ राजाहरूको गौरव हो।
३ जसरी आकाशको उचाइ र पृथ्वीको गहिराइ थाह पाउन सकिँदैन,
त्यसरी नै राजाको मनको कुरा पनि बुझ्न सकिँदैन।
४ चाँदीबाट कसर निकाल अनि त्यो पूरै शुद्ध हुनेछ।+
५ राजाको सामनेबाट दुष्टलाई हटाऊ
अनि धार्मिकताले तिनको राजगद्दी स्थिर हुनेछ।+
६ राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+
ठूलाबडाको माझमा बस्न नखोज+
७ किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा
बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+
८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर,
उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+
९ छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+
तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+
१० नत्र त तिम्रो कुरा सुन्ने मानिसले तिमीलाई लाजमा पार्ला,
तिमीले फैलाएको झूटलाई* फिर्ता ल्याउन सकिँदैन।
११ ठीक बेलामा ठीक कुरा भन्नु
चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+
१२ जसको सुन्ने कान छ, उसको लागि बुद्धिमान् मानिसको कुरा
सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+
१३ विश्वासयोग्य दूत
कटनीको दिनमा चिसो पानीले दिने शीतलताझैँ* हुन्छ
किनकि उसले आफ्नो मालिकलाई नयाँ जोस दिन्छ।+
१४ उपहार दिन्छु भनेर फुर्ती लगाउने तर कहिल्यै नदिने मानिस
पानी नपार्ने बादल र बतासजस्तै हो।+
१५ धैर्य गर्दा सेनापतिको मन जित्न सकिन्छ;
नरम बोलीले* हड्डी पनि गलाउन सक्छ।+
१६ मह पायौ भने आफूलाई चाहिनेजति मात्र खाऊ;
धेरै खायौ भने तिमीले बान्ता गरौला।+
१७ तिम्रो छिमेकीको घरमा घरीघरी नजाऊ
नत्र त उसलाई दिक्क लागेर तिमीलाई घृणा गर्ला।
१८ आफ्नो छिमेकीविरुद्ध झूटो साक्षी दिने मानिस
लट्ठी, तरबार र तीखो काँडजस्तै हो।+
१९ भरोसा गर्न नसकिने मानिसमा* विपत्तिको बेला भर पर्नु
भाँचिएको दाँतमा वा लुलो खुट्टामा भर पर्नुजस्तै हो।
२० मन उदास भएको मानिसको अगाडि गीत गाउनु
जाडोमा लुगा फुकाल्नु
अनि सोडामा* अमिलो झोल* खन्याउनुजस्तै हो।+
२१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ,
ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+
२२ यसो गर्दा तिमीले कोइलाको भुङ्ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+
अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ।
२३ उत्तरबाट बहने बतासले मुसलधारे पानी पार्छ
अनि कुरा काट्ने जिब्रोले अरूको अनुहार बिगार्छ।*+
२४ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा
कौसीको एउटा कुनामा बस्नु बेस हो।+
२५ टाढा देशबाट आएको शुभसमाचार
तिर्खाएको बेला चिसो पानी पिउनुजस्तै हो।+
२६ दुष्ट मानिससामु झुक्ने* धर्मी मानिस
धमिलो पानीको मुहान र दूषित कुवाजस्तै हो।
२७ मह धेरै खानु राम्रो होइन+
अनि आफ्नै मान खोज्नु पनि उचित होइन।+
२८ रिस थाम्न नसक्ने मानिस
पर्खाल भत्किएको सहरजस्तै हो।+
फुटनोटहरू
^ वा “अरूको गोप्य कुरा प्रकट नगर।”
^ वा “हानिकारक गफलाई।”
^ शा., “हिउँको शीतलताझैँ।”
^ शा., “नरम जिब्रोले।”
^ वा सम्भवतः “छली मानिसमा।”
^ यसले सोडियम कार्बोनेटलाई जनाउँछ।
^ वा “भिनेगर।”
^ शा., “तिमीलाई घृणा गर्ने मानिस।”
^ यसको अर्थ उसलाई कोमल र नरम बनाउनु हो।
^ वा “अरूलाई रिस उठाउँछ।”
^ वा “कचकचे।”
^ वा “सम्झौता गर्ने।” शा., “धरमराउने।”