हितोपदेश ३०:१-३३
३० याकेका छोरा अगुरका महत्त्वपूर्ण उपदेश। यो उपदेश अगुरले इथिएल र उकाललाई सुनाए।
२ मजस्तो अबुझ अरू कोही छैन+
अनि मानिससित हुनुपर्ने समझ पनि मसित छैन।
३ मैले बुद्धि प्राप्त गरेको छैनँ
अनि महापवित्र परमेश्वरसित भएको ज्ञान मसित छैन।
४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+
बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ?
समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+
पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+
तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?
५ परमेश्वरका एक-एक वचन शुद्ध* छन्।+
उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।+
६ उहाँले भन्नुभएको कुरामा एक शब्द नथप+
नत्र उहाँले हप्काउनुहुनेछ
र तिमी फटाहा ठहरिनेछौ।
७ हे परमेश्वर, म तपाईँसित दुई वटा कुरा माग्छु।
म मर्नुअघि नै मलाई ती दिनुहोस्।
८ झूट र असत्य मबाट टाढै रहोस्।+
म गरिब हुन नपरोस् अनि मलाई धनी पनि नबनाउनुहोस्।
मलाई चाहिनेजति भोजन मात्र दिनुहोस्।+
९ नत्र त आफूसित कुनै अभाव नभएकोले म तपाईँलाई इन्कार गरूँला र यसो भनूँला, “यहोवा को हो र?”+
वा गरिब भएकोले चोर्न थालूँला र मेरा परमेश्वरको बदनाम गरूँला।
१० मालिकसित उसको नोकरको कुरा नकाट*
नत्र त नोकरले तिमीलाई सराप्नेछ र तिमी दोषी हुनेछौ।+
११ यस्ता मानिसहरू पनि छन्, जसले आफ्नो बुबालाई सराप्छन्
अनि आफ्नी आमाको आदर गर्दैनन्।+
१२ यस्ता मानिसहरू पनि छन्, जो आफूलाई चोखो ठान्छन्+
तर तिनीहरूले आफ्नै मैलासमेत* सफा गरेका छैनन्।
१३ यस्ता मानिसहरू पनि छन्, जसका आँखा घमन्डले भरिएका छन्
अनि जसको हेराइमा अहङ्कार झल्किन्छ!+
१४ यस्ता मानिसहरू पनि छन्, जसका दाँत तरबारजस्तै छन्
र जसका बङ्गारा चुपीजस्तै छन्;
तिनीहरूले पृथ्वीका दीनदुःखीलाई
र गरिबलाई निल्छन्।+
१५ जुकाका दुई छोरी छन्। एउटीले भन्छे, “देऊ!” अनि अर्कीले पनि भन्छे, “देऊ!”
तीन वटा कुरा छन्, जो कहिल्यै अघाउँदैनन्;
वास्तवमा चार वटा छन्, जसले कहिल्यै “भो! पुग्यो” भन्दैनन्।
१६ चिहान,*+ बाँझी स्त्री,
पानी नपाएर पटपट फुटेको जमिन
र दनदनी बलिरहेको आगो, जसले कहिल्यै “भो! पुग्यो” भन्दैन।
१७ आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्ने मानिसको आँखा+
बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन्
र त्यसलाई चीलका बचेराहरूले खानेछन्।+
१८ मैले बुझ्नै नसकेका* तीन वटा कुरा छन्;
वास्तवमा चार वटा छन्, जुन मैले बुझ्नै सकेको छैनँ:
१९ आकाशमा चीलको चाल,
पहरामा सर्पको चाल,
समुद्रमा जहाजको चाल
अनि तरुनी केटीसित हुँदा पुरुषको चाल।
२० परपुरुषसित लाग्ने स्त्रीको चाल यस्तो हुन्छ:
उसले खान्छे र आफ्नो मुख पुछेपछि
यसो भन्छे, “मैले केही गल्ती गरेकी छैनँ।”+
२१ धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्;
वास्तवमा चार वटा छन्, जुन धर्तीले सहनै सक्दैन:
२२ दास राजा भएको,+
मूर्खको अगाडि खानाको छेलोखेलो भएको,
२३ सबैको घृणापात्र भएकी स्त्री कसैकी पत्नी बनेको
अनि दासीले आफ्नी मालिक्नीको ठाउँ लिएको।+
२४ पृथ्वीमा चार वटा जीव छन्, जुन अत्यन्तै साना छन्
तर तिनीहरूमा सहज ज्ञान हुन्छ:*+
२५ कमिला, जो बलिया छैनन्
तैपनि ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छन्।+
२६ भीरखरायो,+ जो बलवान् जीव होइनन्
तैपनि तिनीहरूले पहरामा घर बनाउँछन्।+
२७ सलह,+ जसको राजा हुँदैन
तैपनि तिनीहरू दल-दल बनाएर अघि बढ्छन्।+
२८ माउसुली,+ जो भित्तामा पनि हिँड्न सक्छन्
अनि जसलाई राजाको दरबारमा जान समेत कसैले रोक्न सक्दैन।
२९ तीन वटा जीव छन्, जसको हिँडाइ रबाफिलो छ;
वास्तवमा चार वटा छन्, जो फुर्तीसाथ हिँड्छन्:
३० जनावरमा सबैभन्दा शक्तिशाली सिंह,
जो कसैसित डराएर पछि हट्दैन;+
३१ सिकारी कुकुर र बोका
अनि सेनाको अघिअघि हिँडेको राजा।
३२ यदि तिमीले आफैलाई उच्च पार्ने मूर्खता गरेका छौ+
वा त्यसो गर्ने योजना बनाइसकेका छौ भने
चुपचाप बस।*+
३३ दूध मथ्दा* घिउ निस्कन्छ,
नाक निचोर्दा रगत निस्कन्छ
अनि रिस उठाउँदा झगडा सुरु हुन्छ।+
फुटनोटहरू
^ वा “आगोले खारिएका।”
^ वा “निन्दा नगर।”
^ शा., “दिसासमेत।”
^ वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ वा “मलाई साह्रै अचम्म लागेका।”
^ वा “तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्।”
^ शा., “हातले मुख छोप।”
^ वा “फिट्दा।”