पहिलो इतिहास १९:१-१९
१९ पछि अम्मोनीहरूका राजा नहसको मृत्यु भयो र तिनको ठाउँमा तिनका छोरा राजा भए।+
२ यो खबर पाएपछि दाउदले भने: “हानुनका बुबा नहसले मलाई अटल प्रेम देखाएको हुनाले म पनि हानुनलाई अटल प्रेम देखाउनेछु।”+ त्यसैले हानुनको बुबाको मृत्यु भएकोमा उनलाई सान्त्वना दिन दाउदले आफ्ना सन्देशवाहकहरू पठाए। तर जब दाउदका सेवकहरू हानुनलाई सान्त्वना दिन अम्मोनीहरूको इलाकामा आइपुगे,+
३ तब अम्मोनी भारदारहरूले हानुनलाई भने: “के दाउदले तपाईँको बुबाको आदर गर्ने भएकोले तपाईँलाई सान्त्वना दिन आफ्ना सेवकहरू पठाएका हुन् र? होइन बरु यस देशको जासुसी गर्न र तपाईँलाई कसरी हराउन सकिन्छ भनी पत्ता लगाउन तिनका सेवकहरू यहाँ आएका हुन्।”
४ त्यसैले हानुनले दाउदका सेवकहरूलाई समातेर तिनीहरूको दाह्री खौरिदिए+ र तिनीहरूको लुगा पनि कम्मरभन्दा मुनि पूरै काटिदिए। त्यसपछि तिनीहरूलाई फर्काइदिए।
५ यो कुरा थाह पाउनेबित्तिकै दाउदले तिनीहरूलाई भेट्न आफ्ना मानिसहरू पठाए किनकि तिनीहरूको साह्रै बेइज्जत भएको थियो। राजाले तिनीहरूकहाँ यस्तो खबर पनि पठाए: “तिमीहरू दाह्री पलाएपछि मात्र फर्कनू; त्यतिन्जेल यरिहोमै बस्नू।”+
६ केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन् भनी अम्मोनीहरूले थाह पाए। तब हानुन र अम्मोनीहरूले १ हजार टालेन्ट* चाँदी तिरेर मेसोपोटामिया,* अराम-माकाह र जोबाहबाट रथहरू र घोडचढीहरू भाडामा झिकाए।+
७ तिनीहरूले ३२ हजार रथ अनि माकाहका राजा र उनका मानिसहरूलाई पनि भाडामा ल्याए। उनीहरू आएर मेदेबाको अगाडि छाउनी हाले।+ अम्मोनीहरू पनि लडाइँको लागि आ-आफ्नो सहरबाट निस्केर एक ठाउँमा भेला भए।
८ यो कुरा सुनेपछि दाउदले योआबसित+ आफ्ना सबैभन्दा वीर योद्धाहरूसहित पूरै सेनालाई पठाए।+
९ तब अम्मोनीहरू आए अनि सहरको मूलढोकामा दल बाँधेर तैनाथ भए। तिनीहरूसितै आएका अरू राजाहरूचाहिँ खुला मैदानमा थिए।
१० जब योआबले आफ्नो अगाडिपछाडि दुवैतिरबाट सिपाहीहरू आक्रमण गर्न आएको देखे, तब तिनले इस्राएलका सबैभन्दा कुशल योद्धाहरू छाने र सिरियालीहरूसित लडाइँ गर्न उनीहरूलाई दल बाँधेर तैनाथ गरे।+
११ अरू सिपाहीहरूलाई चाहिँ तिनले आफ्ना दाइ अबिसैको जिम्मा लगाए+ र उनीहरू अम्मोनीहरूसित लडाइँ गर्न दल बाँधेर तैनाथ भए।
१२ अनि योआबले अबिसैलाई भने: “यदि सिरियालीहरूले+ मलाई हराउन लागे भने तपाईँ मलाई बचाउन आउनुहोस्। तर अम्मोनीहरूले तपाईँलाई हराउन लागे भने म तपाईँलाई बचाउन आउनेछु।
१३ हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”
१४ त्यसपछि योआब र तिनका मानिसहरू सिरियालीहरूसित लडाइँ गर्न अघि बढे। तर सिरियालीहरू भने त्यहाँबाट भागे।+
१५ सिरियालीहरू भागेको देखेपछि अम्मोनीहरू पनि योआबका दाइ अबिसैदेखि डराएर भागे अनि सहरभित्र छिरे। त्यसपछि योआब यरुसलेम फर्के।
१६ इस्राएलीहरूसित हारेपछि सिरियालीहरूले युफ्रेटिस नदीवरपरको इलाकाका सिरियालीहरूलाई बोलाउन सन्देशवाहकहरू पठाए+ र तिनीहरूलाई हदद-एजेरका सेनापति सोपकको नेतृत्वमा आउन अह्राए।+
१७ यो कुरा सुन्नेबित्तिकै दाउदले इस्राएलका सबै सिपाहीलाई भेला गराए अनि तिनीहरू यर्दन पार गरेर सिरियालीहरूसित लड्न गए। तिनले लडाइँको निम्ति दल बाँधे र सिरियालीहरूले तिनीसित लडाइँ गरे।+
१८ तर सिरियालीहरू इस्राएलीहरूदेखि भागे। दाउदले लडाइँ गर्न रथमा आएका ७ हजार सिरियाली सिपाही र ४० हजार पैदल सिपाहीलाई मारे। तिनले सिरियाली सेनापति सोपकलाई पनि मारे।
१९ जब हदद-एजेरका सेवकहरू इस्राएलीहरूसित हारे,+ तब तिनीहरूले तुरुन्तै दाउदसित शान्ति सम्झौता गरे र तिनको अधीनमा बस्न राजी भए।+ त्यसपछि सिरियालीहरूले कहिल्यै अम्मोनीहरूलाई मदत गरेनन्।