पहिलो इतिहास ५:१-२६
५ इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन।
२ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान् थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।
३ इस्राएलका पहिलो सन्तान रुबेनका छोराहरू यी थिए: हानोक, पल्लु, हेस्रोन र कर्मि।+
४ योएलका सन्तान यी थिए: तिनका छोरा सेमायाह, सेमायाहका छोरा गोग, गोगका छोरा सिमि,
५ सिमिका छोरा मिका, मिकाका छोरा रायाह, रायाहका छोरा बाआल
६ र बाआलका छोरा बिराह। बिराहलाई अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ बन्दी बनाएर लगेका थिए। बिराह रुबेनको कुलका कुलनायक थिए।
७ तिनीहरूको घरानाको वंशावलीअनुसार बिराहका दाजुभाइ यी थिए: यइएल, जो मुखिया थिए, जकरिया
८ र बेला। बेला अजाजका छोरा सेमाका नाति र योएलका पनाति थिए। बेलाको घराना अरोएरमा+ बसोबास गर्थ्यो अनि उनीहरूको बस्ती नेबो र बाआल-मोनसम्मै+ फैलिएको थियो।
९ गिलादको इलाकामा उनीहरूको गाईवस्तुको सङ्ख्या निकै बढेको थियो।+ त्यसैले उनीहरूले पूर्वपट्टि निर्जनभूमि सुरु हुने ठाउँसम्मको इलाका ओगटेका थिए। यो निर्जनभूमि युफ्रेटिस नदीसम्मै फैलिएको थियो।+
१० साउलको शासनकालमा उनीहरूले हगारीहरूसित युद्ध लडे र तिनीहरूलाई हराए। त्यसपछि उनीहरू गिलादको पूर्वपट्टिको पूरै इलाकामा हगारीहरूका पालहरूमा बसोबास गर्न थाले।
११ रुबेनका सन्तानको इलाकासँगै गादका सन्तानको इलाका थियो। गादका सन्तानको इलाका बासानमा र सालेकाहसम्मै फैलिएको थियो।+
१२ बासानमा योएल मुखिया थिए, दोस्रो दर्जामा सापाम थिए अनि यानै र सापात पनि अगुवा नै थिए।
१३ तिनीहरूको बुबापट्टिको घरानाका दाजुभाइ यी थिए: माइकल, मेसुल्लाम, सेबा, योरै, याकान, जिआ र एबेर। तिनीहरू जम्मा सात जना थिए।
१४ तिनीहरू अबिहेलका छोराहरू थिए। अबिहेल हुरिका छोरा थिए। हुरि यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद माइकलका छोरा थिए। माइकल यसिसैका छोरा थिए। यसिसै याहदोका छोरा थिए र याहदो बुजका छोरा थिए।
१५ गुनिका नाति, अब्दिएलका छोरा अहि तिनीहरूको बुबापट्टिको घरानाका नाइके थिए।
१६ तिनीहरू गिलाद,+ बासान+ र त्यसवरिपरिका सहरहरूमा बसोबास गर्थे। तिनीहरूको बस्ती सारोनका सबै चरनसम्म फैलिएको थियो।
१७ तिनीहरूको वंशावली यहुदाका राजा योताम+ र इस्राएलका राजा यरोबामको*+ शासनकालमा लेखिएको थियो।
१८ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलको सेनामा ४४ हजार ७ सय ६० जना वीर योद्धा थिए, जसले ढाल, तरबार अनि धनु बोक्थे। तिनीहरू तालिमप्राप्त सिपाही थिए।
१९ तिनीहरूले हगारीहरूसित+ अनि यतुर, नपिस+ र नोदाबका सन्तानसित युद्ध गरे।
२० परमेश्वरले तिनीहरूलाई युद्ध लड्न मदत गर्नुभयो। उहाँले हगारीहरू र उनीहरूलाई साथ दिने सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो किनभने तिनीहरूले युद्ध लड्न परमेश्वरसित मदत मागेका थिए। परमेश्वरले तिनीहरूको पुकारा सुन्नुभयो किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।+
२१ तिनीहरूले उनीहरूको ५० हजार उँट, २ लाख ५० हजार भेडा र २ हजार गधा लुटे अनि १ लाख मानिसलाई बन्दी बनाए।
२२ युद्धमा थुप्रै शत्रु मारिए किनभने साँचो परमेश्वरले नै त्यो युद्ध लड्नुभएको थियो।+ तिनीहरूलाई निर्वासनमा नलगिएसम्म तिनीहरू उनीहरूको इलाकाहरूमा बसोबास गरे।+
२३ मनस्सेको आधा कुलका सन्तान+ बासानदेखि बाआल-हर्मोनसम्मको इलाकामा, सेनिरमा र हर्मोन डाँडाको इलाकामा बसोबास गर्थे।+ तिनीहरू असङ्ख्य थिए।
२४ तिनीहरूको बुबापट्टिका घरानाका नाइकेहरू यी थिए: एपेर, इसि, एलिएल, अज्रिएल, यर्मिया, होदबियाह र याहदिएल। यिनीहरू वीर योद्धा र नाम चलेका पुरुषहरू थिए अनि आफ्ना बुबापट्टिका घरानाका नाइकेहरू थिए।
२५ तर यिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वरसित विश्वासघात गरे। जुन जातिहरूलाई परमेश्वरले तिनीहरूको सामने नाश गर्नुभएको थियो, तिनीहरूले त्यही जातिहरूको देवीदेवतासित वेश्यावृत्ति गर्न थाले।*+
२६ त्यसैले इस्राएलका परमेश्वरले अस्सेरियाका राजा पुलको (अर्थात् अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरको)+ मनलाई उक्साउनुभयो।+ उनले रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई बन्दी बनाए। अनि तिनीहरूलाई हलह, हबोर र हारामा अनि गोजान नदीमा लगे।+ तिनीहरू आजसम्म त्यहीँ छन्।