पहिलो तिमोथि ४:१-१६
४ तथापि परमेश्वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्वास त्याग्नेछन्
२ अनि यस्ता कपटीहरूको झूटा कुरा सुनेर बहकिनेछन्,+ जसको अन्तस्करण तातो फलामले डामेझैँ डामिएको हुन्छ।
३ तिनीहरू विवाह गर्न निषेध गर्छन्+ अनि परमेश्वरले सृजनुभएका ती खानेकुराहरूदेखि+ अलग बस्ने आज्ञा दिन्छन्,+ जुन विश्वास हुने र सत्यको सही ज्ञान हुनेले धन्यवाद चढाएर खान सक्छन्।+
४ किनकि परमेश्वरको हरेक सृष्टि असल छ+ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन+
५ किनकि त्यस खानेकुरालाई परमेश्वरको वचनले र त्यसको निम्ति चढाइने प्रार्थनाले पवित्र पार्छ।
६ भाइहरूलाई यस्तो सल्लाह दिएर तिमी ख्रिष्ट येसुको असल सेवक बन्नेछौ, जसले विश्वासका वचनहरूबाट र असल शिक्षाबाट पोषण पाएको हुन्छ अनि तिमीले यस्तै शिक्षा होसियारीसाथ पालन गर्दै आएका पनि छौ।+
७ परमेश्वरको अनादर गर्ने झूटा कथाहरू सुन्न इन्कार गर,+ जस्तो कि बूढी आइमाईहरूले सुनाउने गर्छन्। बरु परमेश्वरको भक्ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।
८ किनकि शारीरिक तालिमबाट* केही फाइदा त हुन्छ तर परमेश्वरको भक्तिबाट भने सबै कुरामा फाइदा हुन्छ किनकि त्यसमा वर्तमान र भावी, दुवै जीवनमा पाइने आशिष्हरूको प्रतिज्ञा समावेश हुन्छ।+
९ यो कुरा विश्वासयोग्य अनि पूर्णतया स्वीकारयोग्य छ।
१० यसैकारण हामी कडा परिश्रम अनि सङ्घर्ष गर्दै छौँ+ किनभने हामीले जीवित परमेश्वरमाथि आफ्नो आशा राखेका छौँ, जो सबै किसिमका मानिसहरू+ र अझ विशेषगरि विश्वासी जनहरूका उद्धारक हुनुहुन्छ।+
११ यी आज्ञाहरू दिइरह अनि सिकाइरह।
१२ तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्। बरु बोली, चालचलन, प्रेम, विश्वास अनि चोखो* आचरणको सन्दर्भमा विश्वासी जनहरूको निम्ति उदाहरण बन।
१३ म नआउन्जेल तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्ने,+ अर्ती दिने* र सिकाउने काममा लागिरह।
१४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर।
१५ यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्।
१६ आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।+ यी कुराहरूमा लागिरह, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।+
फुटनोटहरू
^ वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
^ वा “व्यायामबाट।”
^ वा “शुद्ध।”
^ वा “प्रोत्साहन दिने।”