पहिलो पत्रुस ४:१-१९
४ मानिसको रूपमा हुनुहुँदा ख्रिष्टले दुःख भोग्नुभएको हुनाले+ तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव* विकास गर किनकि जसले मानिसको रूपमा दुःख भोगेको हुन्छ, उसले पाप गर्न छोडेको हुन्छ+
२ ताकि उसले आफ्नो मानव जीवनको बाँकी समय मानिसहरूको अभिलाषा पूरा गर्न होइन+ तर परमेश्वरको इच्छा पूरा गर्न बिताउन सकोस्।+
३ किनकि निर्लज्ज आचरण,* अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न+ जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।+
४ तिमीहरूले तिनीहरूसित यस्तो दुराचारको मार्गमा हिँड्न छोडिदिएको हुनाले तिनीहरू चकित भएका छन्, त्यसैले तिमीहरूको विषयमा दुर्वचन बोल्छन्।+
५ तर यी मानिसहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई+ लेखा दिनेछन्।
६ वास्तवमा मरेकाहरूलाई पनि यसैका लागि सुसमाचार घोषणा गरियो+ ताकि सबै मानिसलाई जस्तै तिनीहरूलाई पनि बाहिरी रूप हेरेर न्याय गरिएको भए तापनि परमेश्वरको नजरमा भने तिनीहरू उहाँको पवित्र शक्तिको निर्देशनअनुसार जिउन सकून्।
७ तर सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले सुझबुझ चलाओ+ र प्रार्थना गर्ने विषयमा सजग* भइरहो।+
८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।+
९ गनगन नगरी एकअर्काको अतिथि-सत्कार गर।+
१० तिमीहरू हरेकले परमेश्वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्न तरिकामा प्रकट भएको परमेश्वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।+
११ यदि कोही बोल्छ भने उसले परमेश्वरबाट आएको वचन बोलोस् अनि यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्+ ताकि येसु ख्रिष्टद्वारा सबै कुरामा परमेश्वरको महिमा होस्।+ महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्। आमिन।
१२ हे प्रियहरू हो, परीक्षाको जुन आगो तिमीहरूमाथि आइपरेको छ, आफूमाथि कुनै अनौठो घटना आइलागेजस्तो गरी यसमा अचम्म नमान।+
१३ बरु यस हदसम्म ख्रिष्टका दुःखहरूमा साझेदार हुन पाएकोमा रमाओ।+ त्यसो गऱ्यौ भने उहाँको महिमा प्रकट हुँदा तिमीहरू रमाउन र अत्यन्तै खुसी हुन सक्नेछौ।+
१४ ख्रिष्टको नामको खातिर तिमीहरूको बदनाम* भइरहेको छ भने तिमीहरू आनन्दित हौ+ किनकि परमेश्वरको पवित्र शक्ति र त्यसको महिमा तिमीहरूमाथि छ।
१५ तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्।+
१६ तर यदि कसैले ख्रिष्टियन भएको कारण दुःख भोग्छ भने उसले सरम नमानोस्+ तर ख्रिष्टियनको रूपमा जीवन बिताएर परमेश्वरको महिमा गरिरहोस्।
१७ किनकि न्याय गर्न तोकिएको समय आइपुगेको छ र न्याय गर्ने काम परमेश्वरको घरानाबाटै सुरु हुनेछ।+ अब यदि यसको सुरुवात हामीबाटै हुन्छ+ भने परमेश्वरको सुसमाचारप्रति आज्ञाकारी नहुनेहरूको हालत के होला?+
१८ “यदि धर्मी मानिसको त बल्लतल्ल उद्धार हुन्छ भने भक्तिहीन र पापी मानिसको हालत झन् के होला?”+
१९ त्यसकारण परमेश्वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्, तिनीहरूले असल काम गर्दै आफूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिरहून्।+
फुटनोटहरू
^ वा “अठोट; सङ्कल्प।”
^ वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
^ वा “सचेत; जागा।”
^ वा “अपमान।”