पहिलो समुएल ११:१-१५

  • साउल अम्मोनीहरूलाई जित्छन्‌ (१-११)

  • साउल नै राजा हुन्‌ भनेर फेरि घोषणा गरिन्छ (१२-१५)

११  अनि अम्मोनीहरूका+ राजा नहस आफ्नो सेना लिएर आए र गिलादको याबेसमाथि+ आक्रमण गर्न छाउनी हालेर बसे। याबेसका सबै मानिसले नहसलाई भने: “हामीसित करार* गर्नुहोस्‌ र हामी तपाईँको सेवा गर्नेछौँ।” २  अम्मोनी नहसले भने: “यो एउटा सर्तमा म तिमीहरूसित सन्धि गर्नेछु: तिमीहरू सबैको दाहिने आँखा निकालिनेछ। यसरी म पूरै इस्राएलको अपमान गर्नेछु।” ३  याबेसका नाइकेहरूले नहसलाई जवाफ दिए: “हामीलाई सात दिनको म्याद दिनुहोस्‌ र हामी इस्राएलका सबै इलाकामा सन्देशवाहकहरू पठाउनेछौँ। हामीलाई जोगाउन इस्राएलमा कोही पनि रहेनछ भने हामी तपाईँसामु आत्मसमर्पण गर्नेछौँ।” ४  केही समयपछि सन्देशवाहकहरू साउलको सहर गिबाहमा*+ आइपुगे। ती सन्देशवाहकहरूले त्यहाँका मानिसहरूलाई सबै कुरा बताए। तिनीहरूले ल्याएको खबर सुनेर मानिसहरू डाँको छोडेर रुन थाले। ५  त्यतिबेला साउल भने वस्तुभाउ धपाउँदै खेतबाट आइरहेका थिए। साउलले भने: “मानिसहरूलाई के भयो? तिनीहरू किन रोइकराइ गर्दै छन्‌?” त्यसपछि तिनीहरूले याबेसका सन्देशवाहकहरूले ल्याएको खबर साउललाई सुनाइदिए। ६  तिनीहरूको कुरा सुनेपछि परमेश्‍वरको पवित्र शक्‍ति साउलमाथि आयो+ अनि उनी रिसले आगो भए। ७  तब साउलले दुई वटा बहर ल्याए र त्यसलाई टुक्राटुक्रा पारेर काटे। त्यसपछि उनले ती टुक्राहरू सन्देशवाहकहरूको हातमा इस्राएलका सबै इलाकामा पठाए। ती सन्देशवाहकहरूले मानिसहरूलाई यस्तो खबर दिए: “ज-जसले साउल र समुएलले भनेअनुसार गर्दैनन्‌, तिनीहरूका वस्तुभाउको हालत पनि यस्तै हुनेछ!” त्यसपछि मानिसहरू यहोवा परमेश्‍वरसित डराउन थाले। त्यसैले तिनीहरू एकजुट* भएर साउलकहाँ आए। ८  त्यसपछि साउलले बेजेकमा तिनीहरूको गन्ती गरे। इस्राएलीहरू ३ लाख र यहुदाका मानिसहरू ३० हजार थिए। ९  तिनीहरूले ती सन्देशवाहकहरूलाई भने: “गिलादको याबेसका मानिसहरूलाई यस्तो खबर देओ: ‘भोलि मध्यान्हसम्ममा* तिमीहरू बचाइनेछौ।’” त्यसपछि सन्देशवाहकहरू फर्के र याबेसका मानिसहरूलाई त्यो खबर सुनाए। त्यो सुनेर त्यहाँका मानिसहरू असाध्यै खुसी भए। १०  तब याबेसका मानिसहरूले नहसलाई भने: “भोलि हामी तपाईँसामु आत्मसमर्पण गर्नेछौँ। अनि तपाईँलाई जसो गर्न उचित लाग्छ, हामीलाई त्यसै गर्नुहोस्‌।”+ ११  भोलिपल्ट साउलले मानिसहरूलाई तीन वटा समूहमा विभाजन गरे। त्यसपछि तिनीहरू बिहान उज्यालो हुनुअघि नै* अम्मोनीहरूको छाउनीमा घुसे अनि मध्यान्ह नहोउन्जेल उनीहरूलाई मार्न छोडेनन्‌।+ बचेकाहरू पनि एकअर्कालाई छोडेर एक्लै भाग्न थाले र उनीहरू तितरबितर भए। १२  त्यसपछि मानिसहरूले समुएललाई भने: “‘साउल हाम्रो राजा हुन सक्छ र’ भन्‍नेहरू को हुन्‌?+ तिनीहरूलाई हाम्रो हातमा सुम्पनुहोस्‌, हामी तिनीहरूलाई मार्नेछौँ।” १३  तर साउलले भने: “आजको दिन कसैको ज्यान लिनु उचित होइन+ किनकि आज यहोवा परमेश्‍वरले इस्राएललाई जोगाउनुभएको छ।” १४  पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन्‌ भनेर फेरि एक चोटि घोषणा गरौँ।”+ १५  त्यसैले सबै मानिस गिलगाल गए अनि त्यहाँ तिनीहरूले यहोवा परमेश्‍वरसामु साउललाई राजा बनाए। त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति मेलबलि चढाए।+ त्यो दिन साउल अनि सबै इस्राएलीले हर्षोल्लासका साथ त्यो उत्सव मनाए।+

फुटनोटहरू

वा “सम्झौता।”
शा., “साउलको गिबाहमा।”
शा., “एकै जना मानिसजस्तो।”
शा., “घाम चर्को हुँदा।”
बिहान २ बजेतिरदेखि बिहान ६ बजेसम्म।