पहिलो समुएल १४:१-५२

  • जोनाथनले मिकमासमा देखाएको साहस (१-१४)

  • परमेश्‍वरले इस्राएलीहरूका शत्रुहरूलाई हराउनुहुन्छ (१५-२३)

  • साउल सोचविचारै नगरी कसम खान लगाउँछन्‌ (२४-४६)

    • मानिसहरू रगतैसमेत मासु खान्छन्‌ (३२-३४)

  • साउलका लडाइँहरू; तिनको परिवार (४७-५२)

१४  एक दिन साउलका छोरा जोनाथनले+ आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि पलिस्तियालीहरूको चौकीमा जाऔँ।” तर जोनाथनले यो कुरा आफ्नो बुबालाई भनेनन्‌। २  त्यतिबेला साउलचाहिँ गिबाहनजिकै+ मिग्रोनमा अनारको बोटमुनि बसिरहेका थिए र तिनीसित लगभग ६०० जना मानिस पनि थिए।+ ३  (अहियाहले एपोद*+ लगाएका थिए। अहियाह अहितुबका+ छोरा थिए। अहितुब इकाबोदका+ दाइ थिए। इकाबोद पिनहासका+ छोरा थिए अनि पिनहासचाहिँ सिलोमा+ यहोवा परमेश्‍वरको पुजारीको रूपमा सेवा गरेका एलिका+ छोरा थिए।) जोनाथन पलिस्तियालीहरू बसिरहेको ठाउँमा गएका छन्‌ भनेर ती मानिसहरूलाई थाह थिएन। ४  पलिस्तियालीहरूको चौकीमा पुग्न जोनाथन जुन बाटो भएर जान खोजिरहेका थिए, त्यस बाटोको दुवैपट्टि दाँतजस्तै तीखा चट्टानहरू थिए। एकापट्टिको चट्टानको नाम बोजेज र अर्कोपट्टिको चट्टानको नाम सेनेह थियो। ५  एउटा चट्टान उत्तरपट्टि थियो; त्यो खम्बाजस्तै ठडिएको थियो र मिक्मासतर्फ फर्किएको थियो। अर्को चट्टानचाहिँ दक्षिणपट्टि थियो र गेबातर्फ+ फर्किएको थियो। ६  जोनाथनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि ती बेखतनेहरूको चौकीमा जाऔँ।+ यहोवा परमेश्‍वरले हामीलाई मदत गर्नुहुन्छ होला। चाहे हामी धेरै होऔँ वा थोरै, तिनीहरूलाई जित्न यहोवा परमेश्‍वरले हामीलाई साथ दिनुहुनेछ, उहाँलाई कुनै कुराले रोक्न सक्दैन।”+ ७  तब हतियार बोक्ने ती सेवकले भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। तपाईँ जतातिर जान चाहनुहुन्छ, त्यतै जानुहोस्‌ र म तपाईँको पछिपछि लाग्नेछु।” ८  त्यसपछि जोनाथनले भने: “हामी पारिपट्टि ती मानिसहरूकहाँ जाऔँ र तिनीहरूले हामीलाई देखून्‌। ९  तिनीहरूले ‘हामी नआउन्जेल त्यहीँ उभिरह!’ भनेमा हामी अघि बढ्‌नेछैनौँ, त्यहीँ उभिरहनेछौँ। १०  तर तिनीहरूले ‘हामीसित लडाइँ गर्न माथि आओ!’ भनेमा हामी माथि उक्लनेछौँ। यहोवा परमेश्‍वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ भन्‍ने कुराको चिन्ह यही हुनेछ।”+ ११  त्यसपछि उनीहरू दुवै जना पलिस्तियालीहरूको चौकीमा भएका सिपाहीहरूले देख्नेगरि उभिए। तब ती पलिस्तियालीहरूले भने: “हेर त! हिब्रूहरू आफू लुकिरहेको दुलोबाट निस्केर आएछन्‌।”+ १२  त्यसपछि ती पलिस्तियालीहरूले जोनाथन र तिनको हतियार बोक्ने सेवकलाई भने: “हिम्मत छ भने माथि आओ! हामी तिमीहरूलाई पाठ सिकाउनेछौँ।”+ यो सुन्‍नेबित्तिकै जोनाथनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: “मेरो पछिपछि आऊ! यहोवा परमेश्‍वरले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ।”+ १३  अनि जोनाथन चार हातखुट्टा टेकेर भीर चढे। हतियार बोक्ने सेवक पनि तिनको पछिपछि लागे। त्यसपछि जोनाथनले पलिस्तियालीहरूलाई आक्रमण गरेर मार्न थाले अनि उम्केकाहरूलाई चाहिँ तिनको हतियार बोक्ने सेवकले मारे। १४  जोनाथन र तिनको हतियार बोक्ने सेवकले पहिलो आक्रमणमै लगभग आधा एकडको दूरीमा* २० जनाजतिलाई मारे। १५  तब छाउनीमा भएका पलिस्तियालीहरू, चौकीमा भएका सिपाहीहरू अनि लुटपाट गर्न+ निस्केका सिपाहीहरू सबै असाध्यै डराए। जमिन बेसरी हल्लियो र परमेश्‍वरले पलिस्तियालीहरूमाझ त्रास फैलाइदिनुभयो। १६  बिन्यामिनीहरूको इलाका गिबाहमा+ पहरा दिएर बसिरहेका साउलका मानिसहरूले शत्रुहरूको छाउनीमा जताततै खलबली मच्चिरहेको देखे।+ १७  साउलले आफ्ना सिपाहीहरूलाई भने: “अहिले यहाँ हामीसित कति जना सिपाही छन्‌, गनेर हेर! अनि को-को छैनन्‌, पत्ता लगाऊ।” गन्ती गर्दा जोनाथन र तिनको हतियार बोक्ने सेवक त्यहाँ छैनन्‌ भनेर थाह भयो। १८  तब साउलले अहियाहलाई+ भने: “साँचो परमेश्‍वरको सन्दुक* यहाँ ल्याउनुहोस्‌!” (त्यतिबेला* साँचो परमेश्‍वरको सन्दुक इस्राएलीहरूसँगै थियो।) १९  साउलले पुजारीसित कुरा गरिरहेको बेला पलिस्तियालीहरूको छाउनीमा झन्‌झनै खलबली मच्चिन थाल्यो। त्यसैले साउलले पुजारीलाई भने: “तपाईँ जे गर्दै हुनुहुन्छ, त्यो रोकिहाल्नुहोस्‌!”* २०  त्यसपछि साउल र तिनका सिपाहीहरू भेला भए अनि लडाइँ गर्न पलिस्तियालीहरूको छाउनीमा गए। त्यहाँ पुग्दा पलिस्तियालीहरूले एकअर्कालाई तरबारले काटाकाट गरिरहेको तिनीहरूले देखे। त्यहाँ असाध्यै गोलमाल मच्चिएको थियो। २१  पहिले पलिस्तियालीहरूको पछि लागेर उनीहरूकै छाउनीमा गएका हिब्रूहरूले पनि साउल र जोनाथनसँग भएका इस्राएलीहरूलाई साथ दिन थाले। २२  एप्रैमको पहाडी इलाकामा लुकेर बसेका+ इस्राएली सिपाहीहरूले पलिस्तियालीहरू भागे भनेर थाह पाए। त्यसपछि तिनीहरूले पनि पलिस्तियालीहरूलाई खेद्‌न थाले। २३  त्यो दिन यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बचाउनुभयो।+ अनि तिनीहरू लडाइँ गर्दै बेथ-आवेनसम्म+ पुगे। २४  त्यो दिन इस्राएली सिपाहीहरू लखतरान भएका थिए। त्यसमाथि साउलले पनि तिनीहरूलाई यस्तो कसम खान लगाएका थिए: “आज साँझसम्म मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल कसैले पनि केही नखाओस्‌, नत्र ऊ श्रापित हुनेछ!” त्यसैले ती सिपाहीहरूले केही पनि खाएका थिएनन्‌।+ २५  त्यसपछि सबै सिपाही जङ्‌गलमा आइपुगे। त्यहाँ भुईँमा मह थियो। २६  जङ्‌गलमा आइपुगेपछि तिनीहरूले मह तपतप चुहिरहेको देखे तर कसैले पनि त्यो मह खाएन किनकि आफूलाई खान लगाइएको कसमको कारण तिनीहरू डराएका थिए। २७  तर बुबाले सिपाहीहरूलाई कसम खान लगाएका छन्‌ भनेर जोनाथनले सुनेका थिएनन्‌।+ त्यसैले तिनले आफ्नो हातमा भएको लौरोको टुप्पोले महको चाकामा घोचे। त्यो मह खाएपछि तिनले तागत पाए।* २८  यो देखेपछि एक जना सिपाहीले भने: “तपाईँको बुबाले हामीलाई एउटा कसम खान लगाएर कडाइका साथ यसो भन्‍नुभएको छ, ‘आज कसैले पनि केही नखाओस्‌ नत्र ऊ श्रापित हुनेछ!’+ त्यसैले सिपाहीहरू लखतरान भएका छन्‌।” २९  तर जोनाथनले भने: “मेरो बुबाले गर्दा मानिसहरूलाई साह्रै कष्ट भएको छ। हेर त! मैले अलिकता मह चाख्दा मात्रै पनि कत्ति तागत पाएँ। ३०  शत्रुहरूबाट लुटेको सरसामानबाट सिपाहीहरूले पेटभरि खान पाएका भए कत्ति राम्रो हुने थियो!+ तिनीहरूले अझ धेरै पलिस्तियालीलाई मार्न सक्ने थिए।” ३१  त्यो दिन तिनीहरू पलिस्तियालीहरूलाई मार्दै मिक्मासदेखि ऐय्यालोनसम्म+ पुगे। तिनीहरू असाध्यै थाकेका थिए। ३२  अनि तिनीहरू लुटेको सरसामान लिन दौडादौड गर्न थाले। तिनीहरूले भेडाबाख्रा र गाईवस्तु लिए अनि ती जनावरहरूलाई त्यहीँ मारे। त्यसपछि तिनीहरूले रगतैसमेत मासु खाए।+ ३३  अनि साउललाई यस्तो खबर सुनाइयो: “हेर्नुहोस्‌! मानिसहरूले रगतैसमेत मासु खाएर यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका छन्‌।”+ तब साउलले भने: “तिमीहरूले घोर पाप गऱ्‍यौ। अब एउटा ठूलो ढुङ्‌गा गुडाएर तुरुन्तै यहाँ ल्याओ।” ३४  साउलले फेरि यसो भने: “सबै सिपाहीलाई यस्तो खबर देओ: ‘तिमीहरूले आ-आफ्नो बहर र भेडा यहाँ ल्याएर काट अनि त्यसको मासु खाओ। तर रगतचाहिँ नखाओ नत्र तिमीहरूले यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका हुनेछौ।’”+ त्यसैले त्यो रात तिनीहरू सबैले आ-आफ्नो बहर त्यहाँ ल्याएर काटे। ३५  अनि साउलले यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए।+ तिनले यहोवा परमेश्‍वरको निम्ति बनाएको पहिलो वेदी यही हो। ३६  पछि साउलले भने: “आज राती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऔँ अनि उज्यालो नहोउन्जेल तिनीहरूलाई लुटौँ। एक जनालाई पनि बाँकी नराखौँ।” तब सिपाहीहरूले भने: “हुन्छ, तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।” त्यसपछि पुजारीले भने: “हामी साँचो परमेश्‍वरसँग यहीँ सल्लाह मागौँ।”+ ३७  अनि साउलले परमेश्‍वरलाई सोधे: “म पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ कि नजाऊँ?+ के तपाईँले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यो दिन परमेश्‍वरले तिनलाई केही जवाफ दिनुभएन। ३८  त्यसैले साउलले भने: “नाइकेहरू सबै यहाँ आओ अनि आज हामीमाझ कस्तो पाप भयो, पत्ता लगाओ। ३९  इस्राएलीहरूलाई बचाउनुहुने जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यदि मेरो आफ्नै छोरा जोनाथनले पाप गरेको रहेछ भने पनि उसलाई मारिनेछ।” तर कसैले पनि केही भनेनन्‌। ४०  त्यसपछि साउलले इस्राएलीहरूलाई भने: “तिमीहरू सबै एकातिर उभिओ अनि म र मेरो छोरा जोनाथन अर्कोतिर उभिनेछौँ।” तब मानिसहरूले तिनलाई भने: “हुन्छ, तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।” ४१  त्यसपछि साउलले यहोवा परमेश्‍वरलाई भने: “हे इस्राएलका परमेश्‍वर! हामीलाई तुम्मीममार्फत*+ जवाफ दिनुहोस्‌।” यसबाट जोनाथन र साउल छानिए अनि अरूलाई भने जान दिइयो। ४२  तब साउलले भने: “म र मेरो छोरा जोनाथनमध्ये दोषी को हो, त्यो पत्ता लगाउन गोला हाल्नुहोस्‌।”+ गोला जोनाथनको नाममा पऱ्‍यो। ४३  त्यसपछि साउलले जोनाथनलाई सोधे: “तिमीले के गऱ्‍यौ, मलाई भन।” जोनाथनले जवाफ दिए: “मैले मेरो लौरोको टुप्पोले अलिकता मह चाखेको मात्र हुँ।+ म मर्न तयार छु।” ४४  तब साउलले भने: “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।”+ ४५  तर सिपाहीहरूले साउललाई भने: “जोनाथनले गर्दा नै इस्राएलीहरूको यत्ति ठूलो जित भयो;+ अब उल्टै उहाँलाई मार्नु उचित होला र? यस्तो कुरा त हामी सोच्न पनि सक्दैनौँ! जीवित परमेश्‍वर यहोवाको कसम खाएर हामी भन्छौँ, उहाँको शिरको एउटा केशसमेत भुईँमा खस्नेछैन। किनकि परमेश्‍वरको मदत पाएरै आज उहाँले यी सबै काम गर्नुभएको हो।”+ यसरी सिपाहीहरूले जोनाथनलाई बचाए र तिनी मारिएनन्‌। ४६  साउलले पलिस्तियालीहरूलाई खेद्‌न छोडिदिए अनि पलिस्तियालीहरू आफ्नो इलाकामा फर्के। ४७  साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात्‌ मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए। ४८  तिनले साहसी भएर अमालेकीहरूसित+ लडाइँ गरे र तिनीहरूलाई जिते। तिनले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाए। ४९  साउलका छोराहरू जोनाथन, इस्वि र मल्कि-सुअ+ थिए। तिनका दुई छोरी पनि थिए; जेठीको नाम मेराब+ अनि कान्छीको नाम मिकल+ थियो। ५०  साउलकी पत्नीको नाम अहिनोम थियो। उनी अहिमासकी छोरी थिइन्‌। साउलका सेनापति अब्नेर थिए। अब्नेर+ साउलका काका नेरका छोरा थिए। ५१  साउलका बुबा किस+ थिए र अब्नेरका बुबा नेर+ अबिएलका छोरा थिए। ५२  साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्‍यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
यसले एक हल गोरुले एक दिनमा जोत्न सक्नेजति जमिनलाई जनाउँछ।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
शा., “त्यो दिन।”
शा., “आफ्नो हात झिकिहाल्नुहोस्‌।”
शा., “तिनको आँखामा चमक आयो।”
शब्दावली हेर्नुहोस्‌।