पहिलो समुएल १५:१-३५
१५ अनि समुएलले साउललाई भने: “आफ्ना प्रजा इस्राएलीहरूमाथि तपाईँलाई राजा अभिषेक गर्न यहोवा परमेश्वरले मलाई तपाईँकहाँ पठाउनुभएको थियो।+ यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्।+
२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा अमालेकीहरूले तिनीहरूलाई बाटोमा रोक्न खोजेका थिए; त्यसैले म उनीहरूलाई सजाय दिनेछु।+
३ अब जाऊ, अमालेकीहरूलाई आक्रमण गर+ अनि उनीहरूसित भएका सबै थोक नाश गर।+ उनीहरूका कुनै पनि कुरा बाँकी नछोड्नू;* उनीहरू र उनीहरूसित भएका कसैलाई पनि जिउँदै नछोड्नू।+ पुरुष होस् या स्त्री, केटाकेटी होस् या दूधे बालक, बहर होस् या भेडा, उँट होस् या गधा सबैलाई मार्नू।’”+
४ तब साउलले सिपाहीहरूलाई तेलैममा भेला गराए र तिनीहरूको गन्ती गरे: त्यहाँ २ लाख पैदल सिपाही अनि यहुदाका १० हजार मानिस थिए।+
५ साउल आफ्नो सेना लिएर अमालेकीहरूको सहरसम्मै गए र तिनले केही सिपाहीलाई बेँसीमा* ढुकेर बस्न लगाए।
६ अनि साउलले केनीहरूलाई+ भने: “अमालेकीहरूको इलाकाबाट निस्केर जाओ नत्र त अमालेकीहरूसँग तिमीहरू पनि नामेट होऔला।+ इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तिमीहरूले उनीहरूलाई दया* देखाएका थियौ।+ त्यसैले म तिमीहरूलाई नाश गर्नेछैनँ।” तब केनीहरू अमालेकीहरूको इलाकाबाट निस्केर गए।
७ त्यसपछि साउलले अमालेकीहरूलाई+ आक्रमण गरे; तिनीहरूलाई मार्दै साउल हविलाहदेखि+ मिश्रनजिकैको सुरसम्म+ पुगे।
८ तिनले अमालेकीहरूका राजा अगागलाई+ जिउँदै पक्रे तर बाँकी सबैलाई भने तरबारले मारे।+
९ साउल र तिनका सिपाहीहरूले राजा अगाग, राम्रा-राम्रा भेडाबाख्रा, गाईवस्तु, मोटाघाटा जनावर, थुमा अनि असल-असल चिजबिज सबै बाँकी राखे;+ तिनीहरूले ती नाश गर्न चाहेनन्। तर कुनै मोल नभएका र बेकारका चिजबिज भने नाश गरे।
१० अनि यहोवा परमेश्वरले समुएललाई भन्नुभयो:
११ “साउललाई राजा बनाएकोमा मलाई पछुतो* लागेको छ किनभने तिनी मदेखि तर्केर गएका छन् र तिनले मेरो आज्ञा पालन गर्न छोडेका छन्।”+ यो सुनेर समुएल असाध्यै दुःखी भए अनि उनले रातभरि यहोवा परमेश्वरलाई पुकारिरहे।+
१२ साउललाई भेट्न समुएल भोलिपल्ट सबेरै उठे। तब उनले यस्तो सन्देश पाए: “साउल कर्मेल+ गए र त्यहाँ तिनले आफ्नो सम्मानमा एउटा स्मारक खडा गरे।+ त्यसपछि तिनी गिलगाल गए।”
१३ जब समुएल साउलकहाँ पुगे, तब साउलले उनलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई आशिष् देऊन्! यहोवा परमेश्वरले भन्नुभएअनुसारै मैले गरेको छु।”
१४ तर समुएलले भने: “त्यसोभए यो भेडाबाख्रा र गाईवस्तुको आवाजचाहिँ के हो त?”+
१५ तब साउलले भने: “ती जनावरहरू अमालेकीहरूकहाँबाट ल्याइएका हुन्। त्यहाँका राम्रा-राम्रा भेडाबाख्रा र गाईवस्तु यहोवा परमेश्वरको निम्ति बलि चढाउन सिपाहीहरूले बाँकी राखेका हुन्। तर अरू सबै कुरा हामीले नाश गऱ्यौँ।”
१६ यो सुनेपछि समुएलले साउललाई भने: “बस्, भयो! यहोवा परमेश्वरले हिजो राती मलाई के भन्नुभयो, म तपाईँलाई बताउँछु।”+ साउलले भने: “हुन्छ, भन्नुहोस्!”
१७ समुएलले भने: “तपाईँ इस्राएलका कुलहरूका नाइके बन्नुहुँदा+ अनि यहोवा परमेश्वरले तपाईँलाई इस्राएलीहरूमाथि राजा अभिषेक गर्नुहुँदा के तपाईँले आफूलाई एकदमै सानो ठान्नुभएको थिएन र?+
१८ पछि यहोवा परमेश्वरले तपाईँलाई एउटा ठूलो काम सुम्पनुभयो र यसो भन्नुभयो, ‘जाऊ! ती पापी अमालेकीहरूलाई नाश गर।+ तिनीहरूको नामोनिसान नमेटिउन्जेल तिनीहरूसित लडाइँ गर।’+
१९ तैपनि तपाईँले किन यहोवा परमेश्वरको आज्ञा पालन गर्नुभएन? तपाईँले लोभी भएर शत्रुहरूको धनमाल लिनुभयो+ अनि यहोवा परमेश्वरले जे नगर्नू भन्नुभएको थियो, त्यही गर्नुभयो!”
२० तब साउलले समुएललाई भने: “तर मैले यहोवा परमेश्वरको आज्ञा पालन गरेँ। यहोवाले मलाई जुन काम गर्न पठाउनुभएको थियो, त्यो मैले गरेँ। अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रेर ल्याएँ अनि बाँकी सबैलाई मारेँ।+
२१ तर तपाईँका परमेश्वर यहोवाको निम्ति गिलगालमा बलि चढाउन भनेर मानिसहरूले नाश गर्नुपर्ने भेडाबाख्रा र गाईवस्तुमध्येबाट राम्रा-राम्राचाहिँ छानेर ल्याए।”+
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+
२३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+
२४ अनि साउलले समुएललाई भने: “मैले पाप गरेँ। मैले यहोवा परमेश्वरले दिनुभएको आज्ञा उल्लङ्घन गरेँ अनि तपाईँको कुरा मानिनँ। किनकि म मानिसहरूसँग डराएँ अनि तिनीहरूले भनेअनुसार गरेँ।
२५ त्यसैले बिन्ती छ, मेरो पाप क्षमा गरिदिनुहोस् र मसँगै आउनुहोस् ताकि म यहोवा परमेश्वरलाई दण्डवत् गर्न सकूँ।”+
२६ तर समुएलले साउललाई भने: “म तपाईँसित आउँदिनँ किनकि तपाईँले यहोवा परमेश्वरको आज्ञा मान्न इन्कार गर्नुभयो। त्यसैले यहोवा परमेश्वरले पनि तपाईँलाई इन्कार गर्नुभएको छ र तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन।”+
२७ जब समुएल त्यहाँबाट जान फनक्क फर्के, तब साउलले उनको बाहुला नभएको अलखाको* छेउ च्याप्प समाते र त्यो च्यातियो।
२८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्तिलाई दिनुहुनेछ।+
२९ इस्राएलका सर्वोच्च परमेश्वरले+ झूट बोल्नुहुन्न+ र आफ्नो मन बदल्नुहुन्न; उहाँ मानिसहरूले जस्तो आफ्नो मन बदल्नुहुन्न।”+
३० तब साउलले भने: “मैले पाप गरेँ। तर बिन्ती छ, मेरा प्रजाका नाइकेहरूसामु र सबै इस्राएलीसामु मेरो इज्जत राखिदिनुहोस्। मसँगै आउनुहोस् अनि म तपाईँका परमेश्वर यहोवालाई दण्डवत् गर्नेछु।”+
३१ तब समुएल साउलसँगै गए अनि साउलले यहोवा परमेश्वरलाई दण्डवत् गरे।
३२ समुएलले भने: “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्याऊ।” तब अगाग हिचकिचाउँदै* समुएलकहाँ गए किनकि तिनले यस्तो सोचेका थिए: ‘अबचाहिँ मृत्युको खतरा टऱ्यो।’
३३ तर समुएलले भने: “जसरी तिम्रो तरबारले स्त्रीहरूको सन्तान खोस्यो, त्यसरी नै तिम्री आमाको पनि सन्तान खोसिनेछ।” यति भनेर समुएलले अगागलाई गिलगालमा यहोवा परमेश्वरसामु टुक्राटुक्रा पारे।+
३४ त्यसपछि समुएल रामा गए अनि साउल पनि गिबाहमा आफ्नै घर फर्के।
३५ अनि समुएलले आफू बाँचुन्जेल साउललाई भेटेनन्; साउलको कारण उनी साह्रै दुःखी भएका थिए।+ साउललाई इस्राएलीहरूको राजा बनाएकोमा यहोवा परमेश्वरले पछुतो मान्नुभयो।+
फुटनोटहरू
^ वा “कसैलाई पनि दया नदेखाउनू।”
^ वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
^ वा “दु:ख।”
^ शा., “टेराफिम मूर्तिहरू पुज्नुजत्तिकै।” अर्थात्, कुलदेवता; मूर्तिहरू।
^ गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
^ शा., “च्यात्नुहुनेछ।”
^ वा सम्भवतः “निर्धक्क भएर।”