पहिलो समुएल १६:१-२३

  • समुएल दाउदलाई अर्को राजाको रूपमा अभिषेक गर्छन्‌ (१-१३)

    • “यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ” ()

  • परमेश्‍वर आफ्नो पवित्र शक्‍ति साउलबाट हटाउनुहुन्छ (१४-१७)

  • साउलको लागि दाउद वीणा बजाउने काम गर्छन्‌ (१८-२३)

१६  केही समय बितेपछि यहोवा परमेश्‍वरले समुएललाई यसो भन्‍नुभयो: “मैले साउललाई इस्राएलीहरूका राजाको रूपमा इन्कार गरिसकेँ।+ तिमी कतिन्जेल साउलको लागि शोक गरिरहन्छौ?+ अब भेडाको एउटा सिङ लेऊ र त्यसमा तेल भर।+ म तिमीलाई बेतलेहेममा बस्ने यिसैलाई+ भेट्‌न पठाउनेछु किनभने उनको एक जना छोरालाई मैले राजा हुन रोजेको छु।”+ २  तर समुएलले भने: “म त्यहाँ कसरी जान सक्छु र? यो कुरा साउलले सुने भने तिनले मलाई मार्नेछन्‌।”+ यहोवा परमेश्‍वरले भन्‍नुभयो: “एउटा कोरली* लिएर जाऊ र भन, ‘म यहोवा परमेश्‍वरको लागि बलि चढाउन आएको हुँ।’ ३  बलि चढाउने ठाउँमा यिसैलाई बोलाऊ; त्यसपछि तिमीले के गर्नुपर्ने हो, म बताउनेछु। मैले रोजेको मानिस को हो भनेर म तिमीलाई देखाउनेछु र तिमीले उसलाई मेरो तर्फबाट अभिषेक गर्नू।”+ ४  समुएलले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै गरे। तिनी बेतलेहेम+ पुग्दा त्यहाँका नाइकेहरू डराउँदै तिनीकहाँ आए र तिनीहरूले सोधे: “सबै कुरा ठीक त छ?” ५  समुएलले जवाफ दिए: “अँ, ठीक छ। म यहोवा परमेश्‍वरको लागि बलि चढाउन आएको हुँ। तिमीहरू आफूलाई चोख्याओ र बलि चढाउन मसँगै आओ।” त्यसपछि समुएलले यिसै र उनका छोराहरूलाई चोख्याए अनि उनीहरूलाई बलि चढाउने ठाउँमा बोलाए। ६  उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” ७  तर यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “उसको रूपरङ्‌ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्‍वरले मानिसले झैँ हेर्नुहुन्‍न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”+ ८  त्यसपछि यिसैले अबिनादाबलाई+ बोलाए र उनलाई समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्‍वरले रोज्नुभएको मानिस ऊ होइन।” ९  त्यसपछि यिसैले साम्माहलाई+ समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्‍वरले रोज्नुभएको मानिस ऊ पनि होइन।” १०  यसरी यिसैले आफ्ना सात जना छोरालाई समुएलको अगाडि ल्याए। तर समुएलले यिसैलाई भने: “यहोवा परमेश्‍वरले यिनीहरूमध्ये कसैलाई पनि रोज्नुभएको छैन।” ११  अन्तमा समुएलले यिसैलाई सोधे: “तिम्रा छोराहरू यति नै हुन्‌?” यिसैले भने: “होइन, कान्छो छोरा+ पनि छ। ऊ अहिले भेडा चराउन गएको छ।”+ यो सुनेर समुएलले यिसैलाई भने: “उसलाई बोलाउन मान्छे पठाऊ, ऊ यहाँ नआएसम्म हामी खान बस्नेछैनौँ।” १२  त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+ १३  त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे। १४  यहोवा परमेश्‍वरले साउलबाट आफ्नो पवित्र शक्‍ति हटाइसक्नुभएको थियो।+ त्यसैले यहोवाले तिनको मन बेचैन हुन दिनुभयो र तिनले बौलाहाले जस्तै व्यवहार गर्न थाले।+ १५  साउलका सेवकहरूले तिनलाई भने: “महाराज! परमेश्‍वरले त्याग्नुभएकोले हजुरको मन बेचैन भएको छ। १६  त्यसैले हजुरका सेवकहरूलाई आदेश दिनुहोस्‌। हामी वीणा बजाउन सिपालु मानिस खोजेर ल्याउनेछौँ।+ जब-जब हजुरको मन बेचैन हुन्छ, तब-तब उसले वीणा बजाउनेछ र हजुरको मन शान्त हुनेछ।” १७  अनि साउलले सेवकहरूलाई भने: “हुन्छ, त्यसै गर। वीणा बजाउन सिपालु मानिस खोज र मकहाँ ल्याओ।” १८  यो सुनेर राजाका एक जना सेवकले भने: “महाराज! बेतलेहेममा बस्ने यिसैको छोराले एकदमै राम्रोसँग वीणा बजाएको मैले देखेको छु। ऊ बलियो र साहसी योद्धा हो।+ ऊ बोल्नमा सिपालु छ, उसको जीउडाल आकर्षक छ+ अनि यहोवा परमेश्‍वर पनि उसको साथमा हुनुहुन्छ।”+ १९  त्यसपछि साउलले सन्देशवाहकहरूमार्फत यिसैकहाँ यस्तो खबर पठाए: “भेडाबाख्रा चराउने तिम्रो छोरा दाउदलाई मकहाँ पठाइदेऊ!”+ २०  यो खबर पाएपछि यिसैले रोटी र एक मशक* मद्य गधामा लादे अनि बाख्राको एउटा पाठो पनि आफ्नो छोरा दाउदसँगै साउलकहाँ पठाइदिए। २१  यसरी दाउद साउलकहाँ पुगे र तिनको सेवा गर्न थाले।+ साउलले दाउदलाई असाध्यै मन पराउन थाले र उनी साउलको हतियार बोक्ने सेवक भए। २२  साउलले यिसैकहाँ यस्तो सन्देश पठाए: “कृपया, दाउदलाई मकहाँ रहेर मेरो सेवा गर्न देऊ किनभने म ऊसित प्रसन्‍न छु।” २३  परमेश्‍वरले साउललाई त्याग्नुभएकोले जब-जब तिनको मन बेचैन हुन्थ्यो, तब-तब दाउद वीणा बजाउँथे। त्यसपछि साउलको मन शान्त हुन्थ्यो, तिनी हलुका महसुस गर्थे अनि तिनको बेचैनी हट्‌थ्यो।+

फुटनोटहरू

साँढे नलगाइएको गाई।
जनावरको छालाबाट बनेको थैलो।