पहिलो समुएल २०:१-४२

  • जोनाथन दाउदप्रति वफादार हुन्छन्‌ (१-४२)

२०  तब दाउद रामाको नाइओथबाट भागे। उनी जोनाथनकहाँ गए र यसो भने: “मैले के गरेँ र?+ मेरो गल्ती के हो? मैले तपाईँको बुबाविरुद्ध त्यस्तो के पाप गरेँ र? उहाँ किन मेरो ज्यान लिन खोज्दै हुनुहुन्छ?” २  यो सुनेर जोनाथनले भने: “यस्तो कदापि हुँदैन!+ तपाईँलाई कसैले मार्दैन। हेर्नुहोस्‌! मलाई नबताईकन बुबा कुनै पनि काम गर्नुहुन्‍न, चाहे त्यो सानो होस्‌ या ठूलो। यो कुराचाहिँ बुबाले मबाट किन लुकाउनुहोला र? यस्तो हुनै सक्दैन!” ३  तर दाउदले फेरि कसम खाए र भने: “तपाईँ र मबीच गहिरो मित्रता छ भनेर तपाईँको बुबालाई राम्ररी थाह छ।+ त्यसैले उहाँले यसो भन्‍नुभएको हुनुपर्छ, ‘यसबारे जोनाथनले केही थाह नपाओस्‌ नत्र त ऊ रिसाउँछ।’ तर म जीवित परमेश्‍वर यहोवाको र तपाईँको कसम खाएर भन्छु, मेरो मृत्यु अब धेरै टाढा छैन!”+ ४  अनि जोनाथनले दाउदलाई भने: “तपाईँ जे भन्‍नुहुन्छ, म तपाईँको निम्ति त्यही गर्नेछु।” ५  दाउदले भने: “भोलि औँसी हो+ अनि म राजासित भोजन गर्न बस्नुपर्नेछ। तर मलाई यहाँबाट जान दिनुहोस्‌ अनि पर्सि साँझसम्म म सहरबाहिर कतै लुकेर बस्नेछु। ६  तपाईँको बुबाले म भोजमा नआएको याद गर्नुभयो भने यसो भनिदिनुहोस्‌, ‘आफ्नो घर बेतलेहेममा+ तुरुन्तै जानुपर्ने भएकोले दाउदले मसित अनुमति मागे; उनीहरूको सम्पूर्ण परिवारको निम्ति हरेक वर्षझैँ यसपालि पनि बलि चढाउनुपर्ने रहेछ।’+ ७  उहाँले ‘त्यसोभए ठीकै छ’ भन्‍नुभयो भने हजुरको यस सेवकको लागि कुनै खतरा छैन। तर उहाँ रिसाउनुभयो भने उहाँले मलाई केही नराम्रो गर्ने अठोट गर्नुभएको छ भनेर पक्का हुनुभए हुन्छ। ८  तपाईँको यस सेवकमाथि दया* गर्नुहोस्‌+ किनकि तपाईँले यहोवा परमेश्‍वरसामु मसित करार गर्नुभएको छ।+ तर म दोषी हुँ भने+ तपाईँले नै मेरो ज्यान लिनुहोस्‌। मलाई किन तपाईँको बुबाको हातमा पर्न दिनुहुन्छ?” ९  जोनाथनले भने: “यस्तो कुरा सोच्दै नसोच्नुहोस्‌! मेरो बुबा जसरी भए पनि तपाईँलाई मार्न चाहनुहुन्छ भनेर थाह पाएँ भने म तपाईँलाई अवश्‍य बताउनेछु।”+ १०  अनि दाउदले भने: “तपाईँको बुबा मसित रिसाउनुभयो भनेर मलाई कसले बताउनेछ?” ११  जोनाथनले भने: “आउनुहोस्‌, हामी सहरबाहिर जाऔँ।” अनि तिनीहरू दुवै सहरबाहिर गए। १२  तब जोनाथनले भने: “बुबाको मनमा के छ भनेर भोलि यही समयतिर अथवा पर्सिसम्ममा म पत्ता लगाउनेछु र इस्राएलका परमेश्‍वर यहोवा यस कुराको साक्षी हुनुहुन्छ। मेरो बुबा तपाईँसित रिसाउनुभएको छैन भने म तपाईँलाई बताउनेछु। १३  तर मेरो बुबाले तपाईँलाई केही नराम्रो गर्न चाहनुभएको रहेछ भन्‍ने थाह पाएर पनि मैले तपाईँलाई केही भनिनँ र तपाईँ यहाँबाट सकुशल निस्कन सक्नुभएन भने यहोवा परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌। यहोवा परमेश्‍वरले जसरी मेरो बुबालाई साथ दिनुभएको थियो,+ त्यसरी नै तपाईँलाई पनि साथ देऊन्‌।+ १४  म बाँचुन्जेल र मरिसकेपछि पनि तपाईँले मप्रति यहोवा परमेश्‍वरले जस्तै अटल प्रेम देखाइरहनुहोस्‌।+ १५  यहोवा परमेश्‍वरले तपाईँका सबै शत्रुलाई यस धर्तीबाट नामेट पार्नुहुँदा समेत मेरो घरानालाई अटल प्रेम देखाउन नछोड्‌नुहोस्‌।”+ १६  त्यसैले जोनाथनले दाउदको घरानासित करार गरे र यसो भने: “यहोवा परमेश्‍वरले दाउदका शत्रुहरूसित पक्कै लेखा लिनुहुनेछ।” १७  तब जोनाथनले दाउदलाई फेरि एक पटक आफ्नो मायाको कसम खान लगाए किनभने तिनी दाउदलाई आफूलाई जस्तै माया गर्थे।+ १८  तब जोनाथनले दाउदलाई भने: “भोलि औँसी हो।+ अनि खाना खाने बेला तपाईँको ठाउँ खाली देखेपछि बुबाले तपाईँलाई खोज्नुहुनेछ। १९  पर्सिसम्ममा त उहाँले अवश्‍य तपाईँबारे सोधखोज गर्नुहुनेछ। तपाईँ त्यो दिन* जहाँ लुक्नुभएको थियो, यसपालि पनि त्यहीँ लुक्नुहोस्‌। अनि यस ढुङ्‌गाको छेवैमा पर्खेर बस्नुहोस्‌। २०  एउटा निसानालाई ताकेर हानेझैँ म यस ढुङ्‌गाको छेउमा तीन चोटि काँड हान्‍नेछु। २१  अनि म आफ्नो सेवकलाई यसो भन्‍नेछु, ‘जाऊ, काँडहरू खोजेर ल्याऊ।’ मैले सेवकलाई ‘हेर! काँडहरू तिम्रो नजिकै छन्‌; ती लिएर आऊ’ भनेमा तपाईँ फर्केर आउन सक्नुहुन्छ। जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, त्यसको अर्थ हो, सबै कुरा ठीक छ र तपाईँलाई कुनै खतरा छैन। २२  तर मैले आफ्नो सेवकलाई ‘हेर! काँडहरू अझै पर छन्‌’ भनेमा तपाईँ जानुहोस्‌ किनभने यहोवा परमेश्‍वर तपाईँ यहाँबाट गएको चाहनुहुन्छ। २३  तर यहोवा परमेश्‍वर सदासर्वदाको लागि तपाईँ र मैले बाँधेको वाचाको+ साक्षी हुनुहुन्छ।”+ २४  त्यसैले दाउद सहरबाहिर लुकेर बसे। औँसीको दिनमा राजा साउलले भोजनको लागि आसन ग्रहण गरे।+ २५  राजा भित्तानेर आफू सधैँ बस्ने गरेको स्थानमा बसिरहेका थिए। जोनाथन राजा साउलको ठीक अगाडि राजातिरै फर्केर बसेका थिए अनि अब्नेरचाहिँ+ राजाको छेउमा बसिरहेका थिए। तर दाउदको ठाउँ भने खाली थियो। २६  साउलले त्यो दिन केही भनेनन्‌ किनकि तिनले मनमनै यसो भने: ‘केही कारणले गर्दा अशुद्ध भएकोले ऊ यहाँ नआएको हुनुपर्छ।’+ २७  औँसीको भोलिपल्ट पनि दाउदको ठाउँ खाली नै थियो। त्यसैले साउलले आफ्नो छोरा जोनाथनलाई सोधे: “यिसैको छोरा+ भोजनको लागि किन आएन? ऊ हिजो पनि थिएन र आज पनि छैन।” २८  जोनाथनले साउललाई यस्तो जवाफ दिए: “दाउदले बेतलेहेम जान पाऊँ भनेर मलाई बिन्ती गरेका थिए।+ २९  उनले मलाई यसो भने, ‘बिन्ती छ, मलाई जान दिनुहोस्‌ किनकि मेरो पूरै परिवारले सहरमा बलि चढाइरहेको छ। अनि मेरो आफ्नै दाइले मलाई बोलाउनुभएको छ। मैले तपाईँको निगाह पाएको छु भने दाइहरूलाई भेट्‌न कृपया मलाई सुटुक्क जान दिनुहोस्‌।’ उनी आज यहाँ राजासित भोजन गर्न आउन नसक्नुको कारण यही हो।” ३०  यो सुनेपछि रिसले चूर हुँदै साउलले जोनाथनलाई भने: “तँ विद्रोही!* तैँले यिसैको छोराको पक्ष लिइरहेको छस्‌ भनेर मलाई थाह छैन भन्ठानिस्‌? यस्तो काम गरेर तैँले आफ्नो र आफ्नी आमाको बेइज्जत गर्दै छस्‌। ३१  यिसैको छोरा यस धर्तीमा रहुन्जेल तँ र तेरो राजपद सुरक्षित हुनेछैन।+ त्यसलाई लिन तुरुन्तै मान्छे पठाइहाल्‌, त्यो मारिनै पर्छ।”+ ३२  तर जोनाथनले आफ्नो बुबा साउललाई भने: “उनलाई किन मार्ने?+ उनले के गरेका छन्‌ र?” ३३  त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन्‌ भनेर जोनाथनलाई पक्का भयो।+ ३४  रिसले चूर भएर जोनाथन आफ्नो ठाउँबाट उठेर गइहाले। अनि तिनले त्यो दिन केही पनि खाएनन्‌ किनकि तिनको आफ्नै बुबाले दाउदको अपमान गरेकोले तिनी दाउदको लागि चिन्तित थिए।+ ३५  आफूले वचन दिएअनुसारै भोलिपल्ट बिहान जोनाथन दाउदलाई भेट्‌न सहरबाहिर गए। जोनाथनसित एक जना सेवक पनि थियो।+ ३६  जोनाथनले आफ्नो सेवकलाई भने: “म काँडहरू हान्छु, तिमी दौडेर टिप्न जाऊ।” त्यो सेवक दौड्‌यो अनि जोनाथनले त्यो सेवकभन्दा अझै पर पुग्नेगरि काँड हाने। ३७  जब त्यो सेवक दौडँदै जोनाथनले काँड हानेको ठाउँसम्म पुग्यो, तब जोनाथनले कराएर भने: “काँडहरू अझै पर छन्‌।” ३८  जोनाथनले आफ्नो सेवकलाई कराएर फेरि भने: “छिटो! ढिला नगर! छिटो ल्याइहाल!” तब त्यो सेवक काँडहरू टिपेर आफ्नो मालिक जोनाथनकहाँ फर्क्यो। ३९  यस घटनाको अर्थ जोनाथन र दाउदले मात्र बुझेका थिए, जोनाथनको सेवकलाई भने केही थाह थिएन। ४०  जोनाथनले आफ्ना हतियारहरू त्यस सेवकलाई दिए र भने: “यी सबै लिएर तिमी सहर फर्क।” ४१  जोनाथनको सेवक त्यहाँबाट गइसकेपछि दाउद दक्षिणतिर आफू लुकिरहेको ठाउँबाट निस्के। त्यसपछि तिनी घुँडा टेकेर जोनाथनसामु तीन चोटि भुईँमा घोप्टो परे। तिनीहरूले एकअर्कालाई म्वाइँ खाए अनि दुवै जना रुन थाले। तर दाउदचाहिँ धेरै रोए। ४२  जोनाथनले दाउदलाई भने: “तपाईँ ढुक्क भएर जानुहोस्‌ किनकि हामी दुवैले यहोवा परमेश्‍वरको नाममा यस्तो कसम खाएका छौँ,+ ‘तपाईँ र मबीच अनि तपाईँका सन्तान र मेरा सन्तानबीच यहोवा परमेश्‍वर सदासर्वदाको लागि साक्षी रहिरहून्‌!’”+ त्यसपछि दाउद त्यहाँबाट गए अनि जोनाथनचाहिँ सहर फर्के।

फुटनोटहरू

वा “अटल प्रेम।”
शा., “काम गर्ने दिन।”
वा “विद्रोही आइमाईको छोरा।” यी शब्दहरू जोनाथनको अपमान गर्न प्रयोग गरिएका थिए।