पहिलो समुएल २२:१-२३

  • दाउद अदुल्लाममा र मिस्पामा (१-५)

  • साउल नोबका पुजारीहरूलाई मार्ने आदेश दिन्छन्‌ (६-१९)

  • अबियातार भाग्छन्‌ (२०-२३)

२२  दाउद त्यहाँबाट भागेर+ अदुल्लामको गुफामा पुगे र त्यहीँ लुकेर बसे।+ दाउदका दाजुभाइ अनि उनका बुबाको सम्पूर्ण घरानाले यसबारे थाह पाएपछि तिनीहरू दाउदलाई भेट्‌न त्यहाँ आए। २  दुःखकष्टमा परेका, ऋणमा डुबेका र आफ्नो जीवनदेखि असन्तुष्ट भएका मानिसहरू दाउदकहाँ आए र उनी तिनीहरूका नाइके भए। यसरी दाउदसित ४०० जति मानिस भए। ३  पछि दाउद त्यहाँबाट मोआबको मिस्पामा गए अनि उनले मोआबका राजालाई भने:+ “परमेश्‍वरले मेरो निम्ति के गर्नुहुनेछ भनेर मलाई थाह नहोउन्जेल कृपया मेरो बुबा र आमालाई तपाईँकहाँ शरण दिनुहोस्‌।” ४  त्यसैले उनले आफ्ना आमाबुबालाई मोआबका राजाको जिम्मामा छोडेर गए। अनि दाउद जतिन्जेल लुकेर बसे, त्यतिन्जेल उनका आमाबुबा मोआबका राजाकै शरणमा बसे।+ ५  केही समयपछि भविष्यवक्‍ता गादले+ दाउदलाई भने: “तपाईँ त्यस गुफामा लुकेर नबस्नुहोस्‌। बरु यहुदाको इलाकामा जानुहोस्‌।”+ त्यसैले दाउद त्यो ठाउँ छोडेर हेरेथको जङ्‌गलमा गए। ६  साउलले दाउद र उनका मानिसहरू कहाँ छन्‌ भनी पत्ता लागेको खबर पाए। त्यतिबेला साउल गिबाहको+ डाँडामा एउटा रूखमुनि* हातमा भाला लिएर बसिरहेका थिए। अनि तिनको चारैतिर तिनका सेवकहरू तैनाथ थिए। ७  अनि साउलले आफ्नो चारैतिर तैनाथ सेवकहरूलाई भने: “हे बिन्यामिनीहरू हो, सुन! के यिसैको छोराले+ तिमीहरू सबैलाई खेत र अङ्‌गुरको बगान दिन्छ? के उसले तिमीहरू सबैलाई हजार-हजारको र सय-सयको कप्तान नियुक्‍त गर्छ?+ ८  तिमीहरू सबै मिलेर मविरुद्ध षड्‌यन्त्र रचेका छौ! मेरो आफ्नै छोराले त्यो यिसैको छोरासित करार गर्दा तिमीहरू कसैले पनि मलाई खबर गरेनौ!+ मलाई आक्रमण गर्न मेरो आफ्नै छोराले त्यस नोकरलाई उक्साएको छ र अहिले त्यही नोकर मलाई आक्रमण गर्न लुकेर बसिरहेको छ भनेर तिमीहरूले मलाई भनेनौ! मप्रति तिमीहरू कसैको दया जागेन!” ९  तब साउलका ती सेवकहरूको नाइके एदोमी दोएगले+ भने:+ “मैले यिसैको छोरालाई नोबमा अहितुबको+ छोरा अहिमेलेककहाँ आएको देखेको थिएँ। १०  अनि अहिमेलेकले यहोवा परमेश्‍वरसित दाउदको लागि सल्लाह मागे र उनलाई खानेकुरा दिए। अहिमेलेकले उनलाई पलिस्तियाली गोल्यतको तरबार पनि दिए।”+ ११  यो सुन्‍नेबित्तिकै राजा साउलले पुजारी अहितुबका छोरा अहिमेलेकलाई अनि नोबमा पुजारीको रूपमा सेवा गर्ने तिनको परिवारका सबैलाई बोलाउन पठाए। अनि तिनीहरू सबै जना राजासामु हाजिर भए। १२  अनि साउलले भने: “हे अहितुबका छोरा, मेरो कुरा सुन!” तब अहिमेलेकले भने: “हजुर प्रभु!” १३  साउलले अहिमेलेकलाई भने: “तिमी र यिसैको छोराले किन मविरुद्ध षड्‌यन्त्र रच्यौ? तिमीले किन उसलाई रोटी र तरबार दियौ अनि तिमीले किन परमेश्‍वरसित उसको लागि सल्लाह माग्यौ? ऊ मेरो विरोधी हो अनि मलाई आक्रमण गर्न अहिले ऊ लुकेर बसिरहेको छ।” १४  तब अहिमेलेकले राजालाई यस्तो जवाफ दिए: “हजुरका सेवकहरूमा उनीजत्तिको भरोसायोग्य अरू को छन्‌ र?+ उनी हजुरको ज्वाइँ+ र हजुरका अङ्‌गरक्षकहरूका कप्तान हुन्‌ अनि हजुरको घरानामा उनको निकै सम्मान गरिन्छ।+ १५  मैले परमेश्‍वरसित उनको लागि सल्लाह मागेको यो पहिलो चोटि हो र?+ हजुरविरुद्ध षड्‌यन्त्र रच्ने कुरा त म सोच्न समेत सक्दिनँ! म र मेरो बुबाको पूरै घरानाप्रति हजुरले कुनै प्रकारको दुस्मनी नराख्नुहोस्‌ किनभने हजुरको यस सेवकलाई यसबारे केही थाह थिएन।”+ १६  तर राजाले भने: “अहिमेलेक, तिमी र तिम्रो बुबाको पूरै घराना+ अब मारिनेछौ!”+ १७  त्यसपछि आफ्नो चारैतिर तैनाथ सिपाहीहरूलाई राजाले भने: “यहोवा परमेश्‍वरका पुजारीहरूलाई मार किनभने तिनीहरूले दाउदको पक्ष लिएका छन्‌! ऊ भगुवा हो भनेर तिनीहरूलाई थाह थियो तैपनि तिनीहरूले मलाई खबर गरेनन्‌!” तर राजाका सिपाहीहरू यहोवा परमेश्‍वरका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्‌। १८  तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+ १९  त्यसपछि तिनी पुजारीहरूको सहर नोब गए+ र त्यहाँ भएका सबैलाई तरबारले मारे। तिनले सहरका पुरुष, स्त्री, केटाकेटी र दूधे बालक कसैलाई बाँकी छोडेनन्‌; तिनले गोरु, गधा, भेडा, सबैलाई मारे। २०  तर अहितुबका नाति, अहिमेलेकका छोरा अबियातार+ त्यहाँबाट भागे र दाउदलाई भेट्‌न गए। २१  अबियातारले दाउदलाई भने: “साउलले यहोवा परमेश्‍वरका पुजारीहरूलाई मारे।” २२  यो सुनेपछि दाउदले अबियातारलाई भने: “त्यो दिन मैले एदोमी दोएगलाई त्यहाँ देखेपछि उसले मेरो विषयमा साउललाई बताउनेछ भनेर मलाई पक्का थियो।+ तपाईँको बुबाको घरानाका सबैको मृत्युको लागि म दोषी छु। २३  तपाईँ यहाँ मसितै बस्नुहोस्‌। नडराउनुहोस्‌ किनकि जसले तपाईँको ज्यान लिन खोज्छ, उसले मेरै ज्यान लिन खोजिरहेको हुन्छ; म तपाईँको रक्षा गर्नेछु।”+

फुटनोटहरू

टामरिस्क रूख। मसिना पात हुने, गुलाबी वा सेता फूल फुल्ने अनि सधैँ हराभरा हुने एक किसिमको रूख।
शब्दावली हेर्नुहोस्‌।