पहिलो समुएल २५:१-४४

  • समुएलको मृत्यु ()

  • नाबाल दाउदका मानिसहरूलाई हकार्छन्‌ (२-१३)

  • अबिगेल बुद्धिमानी कदम चाल्छिन्‌ (१४-३५)

    • ‘यहोवा परमेश्‍वरले जोगाउनुहुनेछ’ (२९)

  • यहोवा मूर्ख नाबालको ज्यान लिनुहुन्छ (३६-३८)

  • अबिगेल दाउदकी पत्नी हुन्छिन्‌ (३९-४४)

२५  पछि समुएलको+ मृत्यु भयो। अनि सबै इस्राएली तिनको निम्ति शोक गर्न र तिनको लास रामामा तिनको घरनजिकै गाड्‌न जम्मा भए।+ त्यसपछि दाउद उठे र पारान भनिने निर्जनभूमितिर झरे। २  त्यही समयतिरको कुरा हो, माओनमा+ एक जना मानिस बस्थे र उनको वस्तुभाउ कर्मेलमा*+ थियो। उनी असाध्यै धनी थिए; उनीसित ३ हजार भेडा र १ हजार बाख्रा थियो। त्यतिबेला उनी कर्मेलमा भेडाको ऊन कत्रँदै थिए। ३  उनको नाम नाबाल+ थियो; उनी कालेबको वंशका+ थिए र उनकी पत्नीको नाम अबिगेल+ थियो। अबिगेल सुन्दरी र समझदार थिइन्‌। तिनका पति नाबाल भने क्रूर थिए; उनी अरूसित नराम्रो व्यवहार गर्थे।+ ४  नाबाल आफ्ना भेडाहरूको ऊन कत्रँदै छन्‌ भन्‍ने कुरा निर्जनभूमिमा बसिरहेका दाउदले सुने। ५  त्यसैले दाउदले आफ्ना १० जना मानिसलाई यसो भनेर नाबालकहाँ पठाए: “तिमीहरू माथि कर्मेल जाओ अनि नाबाललाई भेटेर मैले उहाँको हालखबर सोधेको छु भनिदेओ। ६  त्यसपछि यसो भन: ‘तपाईँको दीर्घायु होस्‌ र तपाईँको भलो होस्‌।* अनि तपाईँको घरानाको र तपाईँसँग भएका सबै कुराको भलो होस्‌। ७  तपाईँ आफ्ना भेडाहरूको ऊन कत्रँदै हुनुहुन्छ भन्‍ने सुनेँ। तपाईँका गोठालाहरू हामीसँग छँदा हामीले उनीहरूलाई दुःख दिएनौँ।+ अनि उनीहरू कर्मेलमा रहुन्जेल उनीहरूको केही पनि हराएन। ८  तपाईँका मानिसहरूलाई सोध्नुहोस्‌, उनीहरूले यसबारे बताउनेछन्‌। मेरा मानिसहरूमाथि तपाईँको निगाह रहोस्‌। किनकि यस्तो रमाइलो अवसरमा* हामी तपाईँकहाँ आएका छौँ। कृपया तपाईँका दासहरू र तपाईँको छोरा दाउदलाई जे-जति दिन सक्नुहुन्छ, दिनुहोस्‌।’”+ ९  त्यसपछि दाउदका मानिसहरू गए अनि दाउदले भनेको सबै कुरा नाबाललाई बताइदिए। ती मानिसहरूको कुरा सुनिसकेपछि १०  नाबालले तिनीहरूलाई भने: “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ? मैले त्यसको कुरा सुन्‍नुपर्ने त्यो को हो र? आजकल थुप्रै दास आफ्नो मालिकलाई छोडेर भागिरहेका छन्‌।+ ११  ऊन कत्रने मेरा मानिसहरूको लागि राखेको रोटी, पानी अनि मासु के मैले चिन्‍नु न जान्‍नुका मानिसहरूलाई दिनुपऱ्‍यो?” १२  तब दाउदका मानिसहरू फर्केर आए अनि नाबालले भनेको सबै कुरा दाउदलाई बताइदिए। १३  तिनीहरूको कुरा सुन्‍नेबित्तिकै दाउदले भने: “तिमीहरू सबै आ-आफ्नो तरबार भिर!”+ त्यसैले तिनीहरू सबैले तरबार भिरे। दाउदले पनि आफ्नो तरबार भिरे। लगभग ४०० जना मानिस दाउदसँगै गए अनि २०० जनाचाहिँ सामान कुर्न त्यहीँ बसे। १४  त्यस दौडान नाबालका एक जना सेवकले नाबालकी पत्नी अबिगेललाई भने: “दाउदले हाम्रा मालिकलाई शुभकामना दिन निर्जनभूमिबाट सन्देशवाहकहरू पठाएका थिए। तर मालिकले भने तिनीहरूलाई हकारेर तिनीहरूको बेइज्जत गर्नुभयो।+ १५  निर्जनभूमिमा तिनीहरूसित रहुन्जेल तिनीहरूले हामीलाई कहिल्यै दुःख दिएनन्‌ अनि हाम्रो केही पनि हराएन। तिनीहरूले हामीसित असाध्यै राम्रो व्यवहार गरेका थिए।+ १६  तिनीहरू हाम्रो लागि सुरक्षित पर्खालसरह थिए। भेडाबाख्रा चराउन तिनीहरूसँग रहुन्जेल तिनीहरूले दिनरात हाम्रो सुरक्षा गरे। १७  अब के गर्नुपर्ने हो, सो निर्णय गर्नुहोस्‌। किनकि हाम्रा मालिक र उहाँको सारा घरानामाथि पक्कै विपत्ति आउनेछ।+ अनि उहाँ यत्ति निकम्मा* हुनुहुन्छ+ कि उहाँसित कुरा गरेर केही फाइदै छैन।” १८  त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्‍न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन्‌ र ती सबै सामान गधाहरूमा राखिन्‌।+ १९  त्यसपछि तिनले आफ्ना सेवकहरूलाई भनिन्‌: “तिमीहरू अघिअघि जाओ; म तिमीहरूको पछिपछि आउँछु।” तर तिनले आफ्ना पति नाबाललाई यसबारे केही पनि भनिनन्‌। २०  अबिगेल गधामा चढेर ओरालो झरिरहेकी थिइन्‌। त्यतिबेला दाउद र उनका मानिसहरू पनि अबिगेल भएतिर आइरहेका थिए। तर डाँडाले छेकेको हुँदा उनीहरूले अबिगेललाई देखेनन्‌। अनि बाटोमा अबिगेलसित उनीहरूको भेट भयो। २१  दाउदले यसो भनेका थिए: “निर्जनभूमिमा त्यो मान्छेको सबै थोकको मैले सुरक्षा गरेँ। त्यसको केही कुरा पनि हराएन।+ तर मैले गरेको सबै बेकार भयो। अहिले त्यसले मलाई गुनको सट्टा बैगुन गर्दै छ।+ २२  भोलि बिहानसम्म मैले त्यसका सबै पुरुषलाई मारिनँ भने परमेश्‍वरले मेरा शत्रुहरूलाई* त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।” २३  दाउदलाई देखेपछि अबिगेल हतारहतार गधाबाट ओर्लिन्‌ अनि भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत्‌ गरिन्‌। २४  त्यसपछि दाउदको पाउ परेर तिनले भनिन्‌: “हे मेरा प्रभु! जे भयो, त्यसको दोष मैमाथि परोस्‌। तपाईँकी दासीलाई केही बोल्न दिनुहोस्‌; यस दासीको कुरा सुनिदिनुहोस्‌। २५  बिन्ती छ प्रभु, निकम्मा नाबालको कुरामा ध्यान नदिनुहोस्‌।+ उहाँको व्यहोरा पनि उहाँको नामजस्तै छ। उहाँको नाम नाबाल* हो र उहाँ आफ्नो नामजस्तै मूर्ख हुनुहुन्छ। प्रभु, तपाईँकी यस दासीले तपाईँले पठाउनुभएका मानिसहरूलाई देखिन। २६  अब हे मेरा प्रभु, म जीवित परमेश्‍वर यहोवाको र तपाईँको नाममा कसम खाएर भन्छु, तपाईँलाई रक्‍तदोषी हुनदेखि+ र बदला लिन हात उठाउनदेखि रोक्नुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ।+ तपाईँका शत्रुहरू र तपाईँलाई हानि पुऱ्‍याउन खोज्ने सबैको हालत नाबालको जस्तै होस्‌। २७  यस दासीले आफ्ना प्रभुको लागि ल्याएको यो उपहार*+ स्विकार्नुहोस्‌ र आफ्ना मानिसहरूलाई दिनुहोस्‌।+ २८  बिन्ती छ प्रभु, यस दासीको गल्ती माफ गरिदिनुहोस्‌। यहोवा परमेश्‍वरले तपाईँका सन्तानलाई लामो समयसम्म शासन गर्न दिनुहुनेछ+ किनकि तपाईँले यहोवा परमेश्‍वरको निम्ति लडाइँ गरिरहनुभएको छ+ र तपाईँमा अहिलेसम्म कुनै खराब कुरा भेटिएको छैन।+ २९  तपाईँविरुद्ध उठेर कसैले तपाईँको ज्यान लिन खोज्यो भने हे मेरा प्रभु, मानिसले आफ्ना बहुमूल्य कुराहरू झोलामा हालेर जोगाएझैँ यहोवा परमेश्‍वरले तपाईँलाई पनि जोगाउनुहुनेछ। तर तपाईँका शत्रुहरूको जीवनलाई चाहिँ घुयेँत्रोमा ढुङ्‌गा हालेर हुर्ऱ्याएझैँ हुर्ऱ्याइदिनुहुनेछ। ३०  अनि यहोवा परमेश्‍वरले आफूले प्रतिज्ञा गरेको सबै कुरा पूरा गर्नुहुनेछ र तपाईँलाई इस्राएलीहरूको नेता नियुक्‍त गर्नुहुनेछ।+ ३१  त्यसैले कुनै कारणविना अरूको रगत बगाएर अनि बदला लिन आफ्नो हात उठाएर पछि अफसोस गर्नुपर्ने वा पछुताउनुपर्ने काम नगर्नुहोस्‌।+ यहोवा परमेश्‍वरले तपाईँलाई आशिष्‌ दिनुहुँदा यस दासीलाई सम्झनुहोस्‌।” ३२  तब दाउदले अबिगेललाई भने: “इस्राएलका परमेश्‍वर यहोवाको जय होस्‌, जसले आज तिमीलाई मकहाँ पठाउनुभयो! ३३  यस्तो समझदारी देखाएकोमा परमेश्‍वरले तिमीलाई आशिष्‌ देऊन्‌! आज मलाई रक्‍तदोषी हुनदेखि+ र बदला लिन आफ्नो हात उठाउनदेखि रोकेकोमा तिमीलाई आशिष्‌ मिलोस्‌। ३४  तिमीलाई हानि पुऱ्‍याउनदेखि रोक्नुहुने इस्राएलका जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु,+ तिमी तुरुन्तै मलाई भेट्‌न नआएकी भए+ भोलि बिहानसम्ममा नाबालका एउटै पुरुष पनि बाँकी रहने थिएनन्‌।”+ ३५  त्यसपछि अबिगेलले ल्याएको उपहार दाउदले स्विकारे र तिनलाई भने: “अब ढुक्क भएर आफ्नो घर फर्क। हेर, मैले तिम्रो कुरा सुनेँ र म तिम्रो बिन्ती पूरा गरिदिनेछु।” ३६  पछि अबिगेल नाबालकहाँ फर्केर गइन्‌। त्यतिबेला नाबाल आफ्नो घरमा राजाले जस्तै भोज लगाएर मस्तले बसिरहेका थिए। नाबाल असाध्यै खुसी देखिन्थे र रक्सीले मात्तिएर बसेका थिए। बिहान उज्यालो नहोउन्जेल अबिगेलले नाबाललाई केही पनि भनिनन्‌। ३७  बिहान नाबाललाई नशाले छोडेपछि अबिगेलले उनलाई सबै कुरा बताइन्‌। यो सुनेर नाबाल ढुङ्‌गाजस्तै अचेत भए; मानौँ तिनको मुटुले काम गर्न छोडेजस्तै भयो। ३८  करिब १० दिनपछि यहोवा परमेश्‍वरले उनको ज्यान लिनुभयो। ३९  नाबालको मृत्यु भयो भन्‍ने कुरा सुनेपछि दाउदले भने: “यहोवा परमेश्‍वरको जय होस्‌! नाबालले मेरो बेइज्जत गरेको थियो+ तर उहाँले मेरो पक्षमा न्याय गरिदिनुभयो।+ यहोवा परमेश्‍वरले आफ्ना सेवकलाई खराब काम गर्नदेखि रोक्नुभयो+ र नाबालले गरेको नराम्रो कामको परिणाम उहाँले त्यसकै थाप्लोमा हालिदिनुभयो।” त्यसपछि दाउदले अबिगेलसित विवाह गर्न चाहेको खबर अबिगेलकहाँ पठाए। ४०  दाउदका सेवकहरूले कर्मेलमा गएर अबिगेललाई भने: “दाउदले तपाईँलाई लिन हामीलाई यहाँ पठाउनुभएको हो; उहाँ तपाईँसित विवाह गर्न चाहनुहुन्छ।” ४१  यो सुन्‍नेबित्तिकै अबिगेल उठिन्‌ अनि भुईँमा घोप्टो परेर भनिन्‌: “म दासी बनेर मेरा प्रभुका सेवकहरूको खुट्टा धोइदिन तयार छु।”+ ४२  त्यसपछि अबिगेल+ तुरुन्तै उठिन्‌ र आफ्नो गधामा चढिन्‌; तिनका पाँच जना दासी तिनको पछिपछि हिँडे। अबिगेल दाउदका सन्देशवाहकहरूसित गइन्‌ र तिनले दाउदसित विवाह गरिन्‌। ४३  दाउदले यिज्रेलमा+ बस्ने अहिनोमसित+ पनि विवाह गरेका थिए। यसरी ती दुवै स्त्री दाउदका पत्नी भए।+ ४४  तर साउलले आफ्नी छोरी अर्थात्‌ दाउदकी पत्नी मिकलको+ विवाह पल्तिसित+ गराइदिएका थिए, जो गाल्लिममा बस्ने लेसका छोरा थिए।

फुटनोटहरू

यहुदाको एउटा सहर; तर कर्मेल डाँडा होइन।
वा “तपाईँलाई शान्ति होस्‌।”
शा., “राम्रो दिनमा।”
वा “नालायक।”
एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
यसले सुकाएको अन्जिरलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।
वा सम्भवतः “मलाई।”
यसको अर्थ हो, “मूर्ख; बेसमझ।”
शा., “आशिष्‌।”