पहिलो समुएल २८:१-२५

  • साउल भूतप्रेत खेलाउने आइमाईलाई भेट्‌न एन-दोर जान्छन्‌ (१-२५)

२८  त्यसबेला इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरूले आफ्नो सेनालाई एक ठाउँमा भेला गराए।+ आकिसले दाउदलाई भने: “हेर, तिमी र तिम्रा मानिसहरू लडाइँ गर्न मसित जानुपर्छ भनेर त तिमीलाई थाहै छ।”+ २  तब दाउदले आकिसलाई भने: “हजुरको दासले के गर्नेछ, सो हजुर जान्‍नुहुन्छ।” आकिसले दाउदलाई भने: “यसैकारण म तिमीलाई सधैँको लागि मेरो अङ्‌गरक्षक नियुक्‍त गर्छु।”+ ३  यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+ ४  पलिस्तियालीहरू एक ठाउँमा भेला भए अनि तिनीहरूले सुनेममा+ गएर छाउनी हाले। साउलले पनि पूरै इस्राएली सेनालाई भेला गराए र उनीहरूले गिल्बोमा+ छाउनी हाले। ५  पलिस्तियालीहरूको छाउनी देखेर साउल डराए अनि तिनको मुटु बेसरी काँप्न थाल्यो।+ ६  साउलले यहोवा परमेश्‍वरसित सल्लाह मागे+ तर यहोवा परमेश्‍वरले न सपनामार्फत न ऊरीममार्फत*+ न त भविष्यवक्‍ताहरूमार्फत नै तिनलाई जवाफ दिनुभयो। ७  त्यसैले साउलले आफ्ना सेवकहरूलाई भने: “भूतप्रेत खेलाउने एउटी आइमाई खोज।+ म उसकहाँ गएर सल्लाह माग्छु।” तब तिनका सेवकहरूले भने: “महाराज! एन-दोरमा+ भूतप्रेत खेलाउने एउटी आइमाई बस्छे।” ८  त्यसपछि साउलले आफ्नो भेष बदले। तिनले अर्कै लुगा लगाए अनि आफ्ना दुई जना मानिस लिएर राती त्यस आइमाईकहाँ गए। साउलले उसलाई भने: “बिन्ती छ, भूतप्रेत खेलाएर मेरो भविष्य बताइदेऊ।+ अनि म जसको नाम लिन्छु, उसलाई जगाइदेऊ।” ९  तर त्यस आइमाईले भनी: “साउलले के गर्नुभएको थियो, त्यो त तपाईँलाई थाहै छ। उहाँले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाउनुभएको थियो।+ अब तपाईँ किन मलाई फन्दामा पार्न खोज्दै हुनुहुन्छ? यस्तो काम गर्न लगाएर तपाईँ किन मलाई मार्न खोज्दै हुनुहुन्छ?”+ १०  तब साउलले यहोवा परमेश्‍वरको कसम खाँदै त्यस आइमाईलाई भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यसको कारण तिमीमाथि कुनै दोष आइपर्नेछैन!” ११  तब त्यस आइमाईले भनी: “भन्‍नुहोस्‌, कसलाई जगाइदिऊँ?” साउलले भने: “समुएललाई।” १२  जब त्यस आइमाईले “समुएल”-लाई*+ देखी, तब उसले साउललाई ठूलो स्वरले चिच्याउँदै यसो भनी: “तपाईँ त साउल नै हुनुहुँदो रहेछ! तपाईँले मलाई किन झुक्क्याउनुभयो?” १३  राजाले उसलाई भने: “नडराऊ! बरु भन, तिमी के देख्दै छ्यौ?” त्यस आइमाईले भनी: “देवताजस्तै देखिने एक जना व्यक्‍ति जमिनबाट माथि आइरहेको देख्दै छु।” १४  साउलले तुरुन्तै उसलाई सोधे: “त्यो व्यक्‍ति को जस्तो देखिन्छ?” त्यस आइमाईले भनी: “एक जना बूढो मानिस निस्केर आउँदै छ; उसले बाहुला नभएको अलखा* लगाएको छ।”+ यति भन्‍नेबित्तिकै साउलले त्यो मानिस “समुएल” हो भनेर चिनिहाले। अनि साउल भुईँमा घोप्टो परेर लम्पसार परे। १५  तब “समुएल”-ले साउललाई भने: “मलाई जगाएर किन दुःख दिन्छौ?” साउलले भने: “म निकै ठूलो समस्यामा परेको छु। पलिस्तियालीहरू मसित लड्‌न आएका छन्‌ अनि परमेश्‍वरले पनि मलाई साथ दिन छोडिसक्नुभयो। उहाँ मलाई भविष्यवक्‍ताहरूमार्फत वा सपनाहरूमार्फत कुनै जवाफ दिनुहुन्‍न।+ त्यसैकारण अब मैले के गर्नुपर्ने हो भनी जान्‍न तपाईँलाई बोलाएको हुँ।”+ १६  “समुएल”-ले भने: “यहोवा परमेश्‍वरले तिमीलाई त्यागिसक्नुभएको छ+ र उहाँ तिम्रो शत्रु हुनुभएको छ। अब तिमी किन मसित सल्लाह माग्न आउँछौ? १७  यहोवा परमेश्‍वरले ममार्फत जुन भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यो पूरा गर्नुहुनेछ: यहोवा परमेश्‍वरले तिम्रो हातबाट राज्य खोस्नुहुनेछ र तिम्रै एक जना मानिस दाउदलाई दिनुहुनेछ।+ १८  तिमीले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनौ अनि उहाँलाई क्रोधित तुल्याउने अमालेकीहरूलाई नाश गरेनौ।+ त्यसैले यहोवा परमेश्‍वरले आज तिमीसित यस्तो व्यवहार गर्दै हुनुहुन्छ। १९  यहोवा परमेश्‍वरले इस्राएललाई र तिमीलाई पलिस्तियालीहरूको हातमा सुम्पिदिनुहुनेछ।+ अनि भोलि तिमी+ र तिम्रा छोराहरू+ मसँग हुनेछौ। यहोवा परमेश्‍वरले इस्राएलको सेनालाई पनि पलिस्तियालीहरूको हातमा सुम्पिदिनुहुनेछ।”+ २०  यो सुन्‍नेबित्तिकै साउल भुईँमा डङ्‌ग्रङ्‌ङ ढले। तिनी “समुएल”-को कुरा सुनेर असाध्यै डराएका थिए। तिनको शरीरमा तागतै थिएन किनकि तिनले दिनभरि र राती पनि केही खाएका थिएनन्‌। २१  त्यो आइमाई साउलको नजिकै गई र तिनी असाध्यै चिन्तित भएको देखेपछि यसो भनी: “यस दासीले हजुरको आज्ञा पालन गरेकी छे; मैले आफ्नो ज्यानको खतरा मोलेर हजुरले भन्‍नुभएअनुसारै गरेँ।+ २२  अब बिन्ती छ, यस दासीको कुरा सुन्‍नुहोस्‌। म हजुरको लागि एउटा रोटी ल्याइदिन्छु। त्यो खानुहोस्‌ र यात्रा गर्न हजुरले अलि तागत पाउनुहुनेछ।” २३  तर साउलले रोटी खान इन्कार गरे र यसो भने: “अहँ, म खान्‍नँ!” तिनका सेवकहरू र त्यस आइमाईले तिनलाई कर गरिरहे। बल्लतल्ल साउलले तिनीहरूको कुरा माने अनि भुईँबाट उठेर खाटमा बसे। २४  त्यस आइमाईको घरमा एउटा मोटो बाछो थियो। उसले त्यो बाछो तुरुन्तै काटी* अनि खमिर* नहाली पीठो मुछेर रोटी पकाई। २५  त्यसपछि उसले साउल र तिनका सेवकहरूलाई खाना टक्य्राई। खाइसकेपछि तिनीहरू उठे अनि राती नै आफ्नो बाटो लागे।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “समुएलजस्तो देखिने मानिसलाई।”
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
वा “बलि चढाई।”
शब्दावली हेर्नुहोस्‌।