पहिलो समुएल ५:१-१२

  • करारको सन्दुक पलिस्तियालीहरूको इलाकामा लगिन्छ (१-१२)

    • दागोनको अपमान हुन्छ (१-५)

    • पलिस्तियालीहरूमाथि विपत्ति आइपर्छ (६-१२)

५  साँचो परमेश्‍वरको सन्दुक* कब्जा गरेर+ पलिस्तियालीहरूले त्यसलाई एबेनेजेरबाट अस्दोद लगे। २  पलिस्तियालीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई आफ्नो देवता दागोनको मन्दिरमा लगे र दागोनको मूर्तिसँगै राखे।+ ३  भोलिपल्ट अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्‍वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे।+ तिनीहरूले त्यो मूर्ति उठाए र पहिलाकै ठाउँमा राखे।+ ४  अर्को दिन पनि अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्‍वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे। मूर्तिको टाउको र दुवै हात काटिएको थियो र मन्दिरको ढोकाको सँघारमा राखिएको थियो। मूर्तिको जीउको भाग मात्र* सग्लो थियो। ५  त्यसैकारण दागोनका पुजारीहरू र अस्दोदका मानिसहरू दागोनको मन्दिरभित्र जाँदा अहिले पनि मन्दिरको ढोकाको सँघारमा टेक्दैनन्‌। ६  यहोवा परमेश्‍वरले अस्दोदका मानिसहरूलाई दण्ड दिनुभयो। उहाँले अस्दोदका र त्यसवरपरको इलाकाका मानिसहरूलाई अल्काई* रोगले प्रहार गर्नुभयो।+ ७  यो देखेर अस्दोदका मानिसहरूले भने: “इस्राएलका देवताको सन्दुक हामीकहाँ नराखौँ किनभने तिनीहरूका देवताले हामी र हाम्रा देवता दागोनलाई कडा सजाय दिएका छन्‌।” ८  त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर सोधे: “इस्राएलका देवताको सन्दुकलाई हामी के गरौँ?” ती शासकहरूले भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट गाथमा लगियोस्‌।”+ त्यसैले मानिसहरूले त्यस सन्दुकलाई गाथमा पुऱ्‍याए। ९  तिनीहरूले सन्दुकलाई गाथमा पुऱ्‍याएपछि यहोवा परमेश्‍वरले त्यस सहरलाई दण्ड दिनुभयो र सहरमा ठूलो त्रास फैलियो। सहरमा भएका सानादेखि ठूला सबै मानिसलाई उहाँले अल्काई रोगले प्रहार गर्नुभयो।+ १०  तब उनीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई त्यहाँबाट एक्रोनमा पठाए।+ तर साँचो परमेश्‍वरको सन्दुक एक्रोन पुग्नेबित्तिकै त्यहाँका मानिसहरू यसो भन्दै कराउन थाले: “यिनीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न इस्राएलका देवताको सन्दुक यहाँ ल्याएका छन्‌।”+ ११  त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट लैजानुहोस्‌; यसलाई यसकै ठाउँमा फर्काइदिनुहोस्‌ नत्र त हामी र हाम्रा मानिसहरू मर्नेछौँ।” सारा सहरमा मृत्युको डर फैलिएको थियो किनभने साँचो परमेश्‍वरले त्यहाँका मानिसहरूलाई दण्ड दिनुभएको थियो।+ १२  जो जीवितै थिए, तिनीहरूलाई पनि अल्काई रोगले सताएको थियो। अनि सहरका मानिसहरूको गुहार स्वर्गसम्मै पुग्यो।

फुटनोटहरू

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
वा “माछाजस्तो देखिने भाग मात्र।”
वा “पाइल्स।”