पहिलो समुएल ७:१-१७

  • किर्यथ-येरिममा करारको सन्दुक ()

  • समुएल बिन्ती गर्छन्‌: ‘यहोवाको मात्र सेवा गर’ (२-६)

  • मिस्पामा इस्राएलीहरूको विजय (७-१४)

  • समुएल इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गर्छन्‌ (१५-१७)

७  त्यसैले किर्यथ-येरिमका मानिसहरू यहोवा परमेश्‍वरको सन्दुक* लिन आए अनि लगेर डाँडामा भएको अबिनादाबको घरमा राखे।+ तिनीहरूले अबिनादाबको छोरा एलियाजारलाई यहोवा परमेश्‍वरको सन्दुकको हेरचाह गर्न नियुक्‍त गरे।* २  परमेश्‍वरको सन्दुक किर्यथ-येरिममा ल्याइएको २० वर्ष बित्यो। यति लामो समयपछि मात्र इस्राएलका सबै घरानाले यहोवा परमेश्‍वरको मदत खोज्न थाले।+ ३  त्यसपछि समुएलले इस्राएलका सबै घरानालाई भने: “यदि तिमीहरू मनैदेखि यहोवा परमेश्‍वरतर्फ फर्कन चाहन्छौ भने+ तिमीहरूबीच भएका अरू देवताहरू+ र अस्तोरेथका मूर्तिहरू+ फ्याँकिदेओ; तिमीहरूको पूरा हृदय यहोवा परमेश्‍वरतर्फ लगाओ, उहाँको मात्र सेवा गर।+ अनि उहाँले तिमीहरूलाई पलिस्तियालीहरूको हातबाट जोगाउनुहुनेछ।”+ ४  तब इस्राएलीहरूले बाआल देवताहरू र अस्तोरेथका मूर्तिहरू फ्याँके अनि यहोवा परमेश्‍वरको मात्र सेवा गर्न थाले।+ ५  त्यसपछि समुएलले भने: “सबै इस्राएलीलाई मिस्पामा बोलाओ+ र तिमीहरूको तर्फबाट म यहोवा परमेश्‍वरलाई बिन्ती चढाउनेछु।”+ ६  त्यसैले तिनीहरू सबै मिस्पामा जम्मा भए। त्यसपछि तिनीहरूले पानी भरेर ल्याए अनि यहोवा परमेश्‍वरसामु खन्याए* र त्यो दिन उपवास बसे।+ तिनीहरूले यसो भने: “हामीले यहोवा परमेश्‍वरको आज्ञा पालन नगरेर पाप गरेका छौँ।”+ त्यसपछि समुएलले मिस्पामा इस्राएलीहरूको न्यायकर्ताको+ रूपमा सेवा गर्न थाले। ७  इस्राएलीहरू मिस्पामा जम्मा भएका छन्‌ भनेर पलिस्तियालीहरूले+ सुनेपछि तिनीहरूका शासकहरू इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। पलिस्तियालीहरू आउँदै छन्‌ भन्‍ने सुनेर इस्राएलीहरू असाध्यै डराए। ८  त्यसैले इस्राएलीहरूले समुएललाई भने: “हाम्रा परमेश्‍वर यहोवालाई पुकार्न नछोड्‌नुहोस्‌;+ हामीलाई मदत गर्न र पलिस्तियालीहरूको हातबाट बचाउन उहाँलाई बिन्ती गरिरहनुहोस्‌।” ९  त्यसपछि समुएलले दूध नछुटेको एउटा पाठो ल्याए र त्यसलाई अग्निभेटीको+ रूपमा यहोवा परमेश्‍वरको लागि चढाए। अनि इस्राएलीहरूको तर्फबाट समुएलले यहोवा परमेश्‍वरसँग मदत माग्दै प्रार्थना गरे र यहोवा परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो।+ १०  समुएलले अग्निभेटी चढाइरहेको बेला पलिस्तियालीहरू भने इस्राएलीहरूसँग लडाइँ गर्न अघि बढे। त्यो दिन यहोवा परमेश्‍वरले जोडसित आकाश गर्जाउनुभयो+ र पलिस्तियालीहरूबीच गोलमाल मच्चाइदिनुभयो+ अनि तिनीहरू इस्राएलीहरूसित हारे।+ ११  तब इस्राएलका पुरुषहरू मिस्पाबाट निस्के अनि पलिस्तियालीहरूलाई खेद्‌न थाले। तिनीहरूलाई मार्दै इस्राएलीहरू बेथ-करको दक्षिणसम्म पुगे। १२  त्यसपछि समुएलले एउटा ढुङ्‌गो लिए+ अनि त्यसलाई मिस्पा र यसानाहको बीचमा ठड्‌याए। तिनले यसो भनेर त्यस ढुङ्‌गोको नाम एबेनेजेर* राखे: “यहोवा परमेश्‍वरले अहिलेसम्म हामीलाई मदत गरिरहनुभएको छ।”+ १३  यसरी पलिस्तियालीहरूको हार भयो र त्यस समयदेखि तिनीहरू इस्राएलीहरूको इलाकामा आएनन्‌।+ समुएल बाँचुन्जेल यहोवा परमेश्‍वर पलिस्तियालीहरूको विरुद्धमा खडा भइरहनुभयो।+ १४  त्यसबाहेक पलिस्तियालीहरूले एक्रोनदेखि गाथसम्मका सहरहरू इस्राएलीहरूलाई फिर्ता गरे। यसरी पलिस्तियालीहरूले पहिला कब्जा गरेको इलाका इस्राएलीहरूले फिर्ता पाए। त्यतिबेला इस्राएलीहरूले एमोरीहरूसित भने लडाइँ गर्नुपरेको थिएन।+ १५  समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६  समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे। १७  त्यसपछि तिनी आफ्नो घर रामा+ फर्कन्थे र त्यहाँ पनि इस्राएलीहरूको लागि न्यायकर्ताको रूपमा सेवा गर्थे। रामामा समुएलले यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।+

फुटनोटहरू

शा., “पवित्र पारे।”
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
यो पश्‍चाताप गरेको देखाउने एउटा विधि हुनुपर्छ।
यसको अर्थ हो, “मदतको ढुङ्‌गो।”