दोस्रो राजा १:१-१८

  • एलिया आहाज्याहको मृत्युबारे भविष्यवाणी गर्छन्‌ (१-१८)

१  आहाबको मृत्युपछि मोआबले+ इस्राएलको विद्रोह गर्न थाल्यो। २  त्यसै समयतिरको कुरा हो, आहाज्याह सामरियामा आफ्नो महलको छतको झ्यालबाट* खसेर घाइते भए। त्यसैले तिनले आफ्ना सन्देशवाहकहरूलाई यस्तो हुकुम गरे: “गएर एक्रोनका+ देवता बाआल-जिबुबलाई म निको हुन्छु कि हुँदिनँ भनी सोधेर आओ।”+ ३  तर यहोवा परमेश्‍वरका स्वर्गदूतले तिस्बेली एलियाकहाँ* आएर भने:+ “उठ! गएर सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट अनि यसो भन, ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमीहरू किन एक्रोनका+ देवता बाआल-जिबुबलाई सोधपुछ गर्न जाँदै छौ? ४  यहोवा परमेश्‍वर राजालाई यसो भन्‍नुहुन्छ: “तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।”’” त्यसपछि एलिया त्यहाँबाट गए। ५  ती सन्देशवाहकहरू फर्केर आएको देख्नेबित्तिकै राजाले तिनीहरूलाई सोधे: “तिमीहरू किन फर्क्यौ?” ६  तिनीहरूले जवाफ दिए: “एक जना मान्छे हामीलाई भेट्‌न आयो र यसो भन्यो, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर यसो भनिदेऊ, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमी किन एक्रोनका देवता बाआल-जिबुबलाई सोधपुछ गर्न आफ्ना मानिसहरू पठाउँछौ? त्यसैले तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।’”’”+ ७  तब राजाले तिनीहरूलाई सोधे: “तिमीहरूलाई भेटेर यी सबै कुरा बताउने त्यो मान्छे कस्तो देखिन्थ्यो?” ८  तिनीहरूले जवाफ दिए: “उसले भुत्लाबाट बनेको लुगा लगाएको थियो+ र कम्मरमा छालाको पटुका बाँधेको थियो।”+ राजाले तुरुन्तै यसो भने: “तिनी त तिस्बेली एलिया हुन्‌।” ९  त्यसपछि राजाले ५० जना सैनिकका एक कप्तानलाई एलियाकहाँ पठाए। ती कप्तान आफ्ना सैनिकहरूसहित एलियालाई भेट्‌न जाँदा उनी डाँडाको टुप्पोमा बसिरहेका थिए। तब तिनले भने: “हे साँचो परमेश्‍वरका सेवक!+ राजा यस्तो हुकुम गर्नुहुन्छ, ‘तल आऊ!’” १०  तर एलियाले जवाफ दिए: “यदि म परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌+ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब आकाशबाट आगोको मुस्लो आयो र ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो। ११  राजाले फेरि ५० जना सैनिकका अर्का कप्तानलाई तिनका सैनिकहरूसहित एलियाकहाँ पठाए। तिनी एलियाकहाँ गए र उनलाई भने: “हे साँचो परमेश्‍वरका सेवक! राजा यस्तो हुकुम गर्नुहुन्छ, ‘झट्टै तल आऊ!’” १२  तर एलियाले तिनीहरूलाई जवाफ दिए: “यदि म साँचो परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब परमेश्‍वरले आकाशबाट आगोको मुस्लो पठाउनुभयो र त्यसले ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो। १३  त्यसपछि राजाले तेस्रो पटक ५० जना सैनिकका अर्का कप्तानलाई तिनका सैनिकहरूसहित एलियाकहाँ पठाए। तिनी डाँडा उक्लेर एलियाकहाँ गए र घुँडा टेकेर एलियासँग दयाको भीख माग्दै यसो भने: “हे साँचो परमेश्‍वरका सेवक! बिन्ती छ, मेरो जीवन र तपाईँका यी ५० जना सेवकको जीवन तपाईँको नजरमा अनमोल ठहरियोस्‌। १४  यसअघि आएका दुई जना कप्तान र तिनीहरूका ५०-५० जना सैनिकहरूको दललाई आगोले भस्म पाऱ्‍यो। तर ममाथि दया गर्नुहोस्‌ र मेरो ज्यान नलिनुहोस्‌।” १५  तब यहोवा परमेश्‍वरका स्वर्गदूतले एलियालाई यसो भने: “ऊसँग नडराऊ। ऊसँगै ओर्लेर तल जाऊ।” त्यसैले एलिया उठे अनि ती कप्तानसँगै डाँडाबाट ओर्लेर राजाकहाँ गए। १६  त्यसपछि एलियाले राजालाई यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘तिमीले किन एक्रोनका+ देवता बाआल-जिबुबलाई सोधपुछ गर्न आफ्ना मानिसहरू पठायौ?+ के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमीले किन उहाँसँग सोधपुछ गरेनौ? त्यसैले तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।’” १७  यहोवा परमेश्‍वरले एलियामार्फत जुन सन्देश पठाउनुभएको थियो, त्यसअनुसारै राजा मरे। राजाको कुनै छोरा थिएन। त्यसैले तिनीपछि यहोराम*+ राजा भए। त्यसबेला यहोसापातका छोरा, यहुदाका राजा यहोरामको+ शासनकालको दोस्रो वर्ष चलिरहेको थियो। १८  आहाज्याहको+ जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।

फुटनोटहरू

यहाँ बताइएको झ्यालले घाम छिरोस्‌ भनेर छतमा खुल्लै छोडिएको भागलाई जनाउँछ, जसलाई काठको ग्रिलले ढाकिन्थ्यो।
यसको अर्थ हो, “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ।”
यहोराम आहाज्याहका भाइ थिए।