दोस्रो राजा ११:१-२१
११ आफ्नो छोरा आहाज्याहको मृत्यु भयो+ भनेर थाह पाएपछि उनकी आमा अथल्याहले+ राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्।+
२ तर राजा यहोरामकी छोरी, आहाज्याहकी बहिनी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन् अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्। तिनीहरूले यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखे; त्यसैले तिनी मारिएनन्।
३ तिनलाई छ वर्षसम्म यहोवा परमेश्वरको भवनमा लुकाएर राखियो। त्यस दौडान यहुदामा अथल्याहले शासन गरिन्।
४ सातौँ वर्षमा यहोयादाले सय-सय जना शाही अङ्गरक्षकको* दलका कप्तानहरूलाई र महलका सय-सय जना पहरेदारको दलका कप्तानहरूलाई+ यहोवा परमेश्वरको भवनमा एकसाथ भेला गराए। उनले तिनीहरूसित सम्झौता* गरे र त्यो सम्झौता पालन गर्नेछु भनी यहोवा परमेश्वरको भवनमा कसम खान लगाए। त्यसपछि उनले तिनीहरूलाई राजकुमार देखाइदिए।+
५ उनले तिनीहरूलाई यस्तो आदेश दिए: “तिमीहरूले यसो गर्नू: तिमीहरूमध्ये एक तिहाइ विश्रामदिनमा* आफ्नो काममा आउनू र राजमहलको कडा निगरानी गर्नू।+
६ अर्को एक तिहाइ जग-ढोकामा तैनाथ हुनू अनि बाँकी एक तिहाइचाहिँ महलका पहरेदारहरूको पछिल्तिर भएको ढोकामा तैनाथ हुनू। तिमीहरू सबैले पालैपालो भवनमा* पहरा दिनू।
७ विश्रामदिनमा आफ्नो काममा आउनु नपर्ने दुई दलले पनि राजाको सुरक्षाको खातिर यहोवा परमेश्वरको भवनको कडा निगरानी गर्नुपर्नेछ।
८ तिमीहरू सबै आफ्नो हातमा हतियार बोकेर राजाको वरिपरि तैनाथ हुनू। यदि कोही सैनिकहरूको घेराभित्र घुस्न खोज्यो भने उसलाई मार्नू। राजा जहाँ-जहाँ जानुहुन्छ, तिमीहरू पनि त्यहाँ-त्यहाँ उहाँसँगै जानू।”
९ सय-सय जनाका कप्तानहरूले+ पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिएर तिनीहरू पुजारी यहोयादाकहाँ आए।+
१० त्यसपछि उनले सय-सय जनाका कप्तानहरूलाई यहोवा परमेश्वरको भवनमा राखिएका भालाहरू र गोलाकार ढालहरू दिए। यी हतियारहरू राजा दाउदका थिए।
११ महलका पहरेदारहरू+ आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ भए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको+ र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए।
१२ त्यसपछि यहोयादाले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। तिनीहरूले तिनलाई राजा अभिषेक गरे। तिनीहरूले थपडी मार्दै यसरी जयजयकार गर्न थाले: “राजा दीर्घायु होऊन्!”+
१३ मानिसहरू दौडिरहेको आवाज सुन्नेबित्तिकै अथल्याह यहोवा परमेश्वरको भवनमा गइन्। त्यहाँ मानिसहरू भेला भएका थिए।+
१४ त्यहाँ उनले राजालाई त्यसबेलाको चलनअनुसारै खम्बाको छेउमा उभिरहेको देखिन्।+ राजासँगै नाइकेहरू र बिगुल फुक्नेहरू+ पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन् र यसो भन्दै चिच्याइन्: “यो त धोका भयो, धोका!”
१५ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई यस्तो आदेश दिए:+ “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्वरको भवनमा नमार्नू।”
१६ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलमा घोडाहरू छिर्ने ठाउँनेर पुगेपछि उनलाई मारे।+
१७ त्यसपछि यहोयादाले यहोवा परमेश्वर, राजा र मानिसहरूबीच करार गरे,+ जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्वरको प्रजा रहनुपर्थ्यो। तिनले राजा र मानिसहरूबीच पनि करार गरे।+
१८ तब देशका सबै मानिस बाआलको मन्दिरमा आए र त्यसका सबै वेदी भत्काइदिए।+ तिनीहरूले त्यसका मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी+ मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।
तब पुजारीले यहोवा परमेश्वरको भवनको निगरानी गर्न मानिसहरू खटाए।+
१९ साथै तिनले सय-सय जनाका कप्तानहरू,+ शाही अङ्गरक्षकहरू, महलका पहरेदारहरू+ र देशका सबै मानिस लिए अनि उनीहरू सबैले राजालाई यहोवा परमेश्वरको भवनबाट बाहिर लगे। उनीहरू महलका पहरेदारहरूको ढोकाबाट राजमहलभित्र पसे। त्यसपछि राजा सिंहासनमा बसे।+
२० तब सबै मानिसले खुसीयाली मनाए र सहरमा शान्ति छायो किनकि तिनीहरूले अथल्याहलाई राजमहलमा तरबारले मारेका थिए।
२१ राजा हुँदा यहोआस+ सात वर्षका थिए।+
फुटनोटहरू
^ शा., “कारीहरूको।”
^ वा “करार।”
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “मन्दिरमा।”
^ यसले परमेश्वरको व्यवस्था लेखिएको मुठालाई जनाएको हुन सक्छ।