दोस्रो राजा २२:१-२०

  • यहुदाका राजा योसियाह (१, २)

  • मन्दिरको मर्मतसम्बन्धी निर्देशन (३-७)

  • व्यवस्थाको पुस्तक भेट्टाइन्छ (८-१३)

  • हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन्‌ (१४-२०)

२२  राजा हुँदा योसियाह+ आठ वर्षका थिए र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ तिनकी आमाको नाम यदिदाह थियो। उनी बोज्काथमा+ बस्ने आदायाहकी छोरी थिइन्‌। २  योसियाहले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे। तिनी आफ्ना पुर्खा दाउदको चालमा हिँडे,+ तिनी त्यसबाट दाहिने वा देब्रे लागेनन्‌। ३  योसियाहले आफ्नो शासनकालको १८ औँ वर्षमा मेसुल्लामका नाति, अजल्याहका छोरा सचिव सापानलाई यसो भनेर यहोवा परमेश्‍वरको भवनमा पठाए:+ ४  “प्रधानपुजारी हिल्कियाहकहाँ+ जानुहोस्‌ र ढोकेहरूले मानिसहरूबाट लिएर यहोवा परमेश्‍वरको भवनमा+ जम्मा गरेका सबै पैसा निकाल्न लगाउनुहोस्‌।+ ५  अनि त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन लगाउनुहोस्‌। त्यसपछि ती निरीक्षकहरूले त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्ने कामदारहरू+ ६  अर्थात्‌ शिल्पकारहरू, डकर्मीहरू र ढुङ्‌गाको काम गर्नेहरूलाई देऊन्‌। तिनीहरूले त्यो पैसाले काठहरू र नापअनुसार काटिएका ढुङ्‌गाहरू किनून्‌ र परमेश्‍वरको भवन मर्मत गरून्‌।+ ७  तर ती निरीक्षकहरूबाट पैसाको हिसाब-किताब नमागियोस्‌ किनकि उनीहरू भरोसायोग्य छन्‌।”+ ८  पछि प्रधानपुजारी हिल्कियाहले सचिव सापानलाई भने:+ “मैले यहोवा परमेश्‍वरको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।”+ हिल्कियाहले त्यो पुस्तक सापानलाई दिए र सापानले त्यो पढ्‌न थाले।+ ९  त्यसपछि सचिव सापानले राजाकहाँ गएर यसो भने: “तपाईँका सेवकहरूले यहोवा परमेश्‍वरको भवनमा ल्याइएको पैसा जम्मा गरेका छन्‌ अनि परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई ती दिएका छन्‌।”+ १०  सचिव सापानले राजालाई यसो पनि भने: “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिनुभएको छ।”+ त्यसपछि सापानले राजासामु त्यो पुस्तक पढ्‌न थाले। ११  व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सुन्‍नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ १२  त्यसपछि राजाले पुजारी हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकायाहका छोरा आक्बोर, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: १३  “जाओ! मेरो तर्फबाट, मानिसहरूको तर्फबाट र पूरै यहुदाको तर्फबाट भर्खरै भेटिएको यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। हामीमाथि यहोवा परमेश्‍वरको क्रोध दन्केको छ।+ किनकि यस पुस्तकमा हाम्रो निम्ति लेखिएका कुराहरू हाम्रा पितापुर्खाले पालन गरेनन्‌।” १४  तब पुजारी हिल्कियाह, आक्बोर, सापान र असयाह भविष्यवक्‍ता हुल्दाहकहाँ गए।+ उनका पति साल्लुम थिए, जो हारहसका नाति अनि तिक्भाहका छोरा थिए। साल्लुम वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसर थिए। हुल्दाह ‘यरुसलेमको नयाँ बस्ती’-मा बस्थिन्‌। योसियाहले पठाएका मानिसहरू त्यहीँ गएर उनीसित कुरा गरे।+ १५  हुल्दाहले तिनीहरूलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई यसो भन: १६  “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+ १७  किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+ १८  तर तिमीहरूलाई यहोवा परमेश्‍वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: १९  ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन्‌ र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु, यहोवा घोषणा गर्नुहुन्छ। २०  मैले यस ठाउँमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’” त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए।

फुटनोटहरू

वा “चिरा परेका ठाउँहरू।”