दोस्रो राजा ७:१-२०
७ तब एलिसाले भने, “यहोवा परमेश्वरको सन्देश सुन्नुहोस्। यहोवा यसो भन्नुहुन्छ: ‘भोलि यही समयतिर सामरियाको मूलढोकामा* एक सेआ* मसिनो पीठो एक शेकेलमा* र दुई सेआ जौ पनि एक शेकेलमै बिक्री हुनेछ।’”+
२ तब सेनाका सहायक अफिसर, जसलाई राजा निकै भरोसा गर्थे, तिनले साँचो परमेश्वरका सेवकलाई यसो भने: “यहोवा परमेश्वरले आकाशका पानीका बाँधहरू नै खोलिदिनुभयो भने पनि तपाईँले भन्नुभएको कुरा पूरा हुन सक्दैन।”+ एलिसाले भने: “तिमीले आफ्नै आँखाले त्यो पूरा भएको देख्नेछौ+ तर त्यसबाट खान भने पाउनेछैनौ।”+
३ सहरको मूलढोकानेर चार जना कुष्ठरोगी बस्थे।+ तिनीहरूले आपसमा यसो भने: “हामी किन बेकारमा यहाँ बसेर मर्ने दिन कुर्दै छौँ?
४ यदि हामी सहरभित्र गयौँ भने अनिकालले गर्दा हामी त्यहीँ मर्नेछौँ।+ यदि हामी यहीँ बसिरह्यौँ भने पनि मर्नेछौँ। त्यसैले बरु सिरियालीहरूको छाउनीमा जाऔँ। तिनीहरूले हामीलाई जिउँदै छोडिदिए भने बेसै भयो। तर तिनीहरूले हामीलाई मारे भने पनि ठीकै छ, त्यसै पनि हामी मर्ने नै हौँ।”
५ साँझपख अँध्यारो भएपछि तिनीहरू सिरियालीहरूको छाउनीमा गए। छाउनीको छेउमा पुग्दा तिनीहरूले त्यहाँ कोही पनि देखेनन्।
६ वास्तवमा के भएको थियो भने सिरियालीहरूले रथहरू र घोडाहरूसहित एउटा विशाल सेना आइरहेको आवाज सुने।+ यहोवा परमेश्वरले नै यसो गराउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा यसो भने: “इस्राएलका राजाले हामीसित लडाइँ गर्न हित्ती राजाहरू र मिश्री राजाहरूलाई भाडामा ल्याएछन्!”
७ साँझपख अँध्यारो भएपछि तिनीहरू तुरुन्तै आफ्नो ज्यान जोगाउन भागे। आफ्ना पालहरू, घोडाहरू, गधाहरू र पूरै छाउनी जस्ताको तस्तै छोडेर तिनीहरू भागे।
८ ती कुष्ठरोगीहरू छाउनीको छेउमा पुगेपछि एउटा पालमा छिरे र खानपिन गर्न थाले। तिनीहरूले त्यहाँ भेटिएका सुन, चाँदी र लुगाफाटा लगेर एक ठाउँमा लुकाए। तिनीहरू फेरि छाउनीमा फर्के र अर्को पालमा छिरे। अनि त्यहाँ भेटिएका सरसामानलाई पनि तिनीहरूले लुकाए।
९ आखिरमा तिनीहरूले आपसमा यसो भन्न थाले: “हामीले यसो गर्नु उचित होइन। यो त खुसीको समाचार हो; हामीले अरूलाई पनि यसबारे बताउनुपर्छ! हामीले अहिल्यै यो कुरा सुनाएनौँ र बिहानसम्म पर्खेर बस्यौँ भने अवश्य दण्ड पाउनेछौँ। त्यसैले अहिल्यै गएर राजमहलमा यो खबर देऔँ।”
१० तब तिनीहरू गए र सहरका ढोकेहरूलाई बोलाएर यसो भने: “हामी सिरियालीहरूको छाउनीमा गएका थियौँ तर त्यहाँ कोही पनि छैन। हामीले कसैको आवाज सुनेनौँ। त्यहाँ बाँधेर राखिएका घोडाहरू र गधाहरू मात्र छन् अनि पालहरू पनि जस्ताको तस्तै छोडिएका छन्।”
११ तब ढोकेहरूले तुरुन्तै महलका चाकरहरूलाई बोलाएर यो खबर दिए।
१२ राजा राती नै उठे र आफ्ना सेवकहरूलाई यसो भने: “हेर, सिरियालीहरूले के गर्न खोज्दै छन्, म तिमीहरूलाई बताउँछु। हामी भोकै छौँ भनेर तिनीहरूलाई थाह छ।+ त्यसैले तिनीहरू छाउनीमा नबसेर मैदानमा लुकेका छन्। तिनीहरूले सोचेका होलान्, ‘इस्राएलीहरू सहरबाट बाहिर निस्कनेछन् र हामी उनीहरूलाई जिउँदै पक्रेर सहरमा घुस्नेछौँ।’”+
१३ तब राजाका एक जना सेवकले यसो भने: “हेर्नुहोस्! सहरमा पाँच वटा घोडा बाँकी छ। बिन्ती छ, ती घोडाहरू लिएर केही मानिसलाई पठाउनुहोस् र तिनीहरूले वास्तवमा के भएको रहेछ भनी पत्ता लगाऊन्। यदि तिनीहरू त्यहाँ मारिए भने पनि ठीकै छ; आखिर यहाँ बसे पनि तिनीहरू हामी बाँकी रहेका इस्राएलीहरूजस्तै मर्ने नै हुन्।”
१४ त्यसैले ती मानिसहरूले घोडाहरू र दुई वटा रथ लिए अनि राजाले तिनीहरूलाई यस्तो हुकुम गरेर सिरियालीहरूको छाउनीमा पठाए: “जाओ! के भएको रहेछ, हेरेर आओ।”
१५ सिरियालीहरूलाई खोज्दै-खोज्दै ती मानिसहरू यर्दनसम्मै पुगे। तिनीहरूले बाटोभरि लुगाफाटा र भाँडाकुँडा देखे। सिरियालीहरूले आत्तिएर भाग्दा ती सब सरसामान फ्याँकेका थिए। ती सन्देशवाहकहरू फर्केर आए अनि राजालाई यो खबर दिए।
१६ त्यसपछि मानिसहरू सहरबाहिर गए अनि सिरियालीहरूको छाउनीमा भएका सबै कुरा लुटे। तब एक सेआ मसिनो पीठो एक शेकेलमा र दुई सेआ जौ पनि एक शेकेलमै बिक्री हुन थाल्यो। यसरी यहोवा परमेश्वरको वचन पूरा भयो।+
१७ सेनाका ती सहायक अफिसर, जसलाई राजा निकै भरोसा गर्थे, उनलाई राजाले मूलढोकामा निगरानी गर्न खटाएका थिए। तर मानिसहरूको भीडले उनलाई मूलढोकामा कुल्चेर माऱ्यो। यसरी साँचो परमेश्वरका सेवकले राजा तिनलाई भेट्न जाँदा जुन कुरा भनेका थिए, त्यो पूरा भयो।
१८ हो, साँचो परमेश्वरका सेवकले राजालाई भनेको यो कुरा पूरा भयो: “भोलि यही समयमा सामरियाको मूलढोकामा दुई सेआ जौ एक शेकेलमा र एक सेआ मसिनो पीठो पनि एक शेकेलमै बिक्री हुनेछ।”+
१९ तर त्यसबेला सेनाका सहायक अफिसरले साँचो परमेश्वरका सेवकलाई यसो भनेका थिए: “यहोवा परमेश्वरले आकाशका पानीका बाँधहरू नै खोलिदिनुभयो भने पनि तपाईँले भन्नुभएको कुरा पूरा हुन सक्दैन।” अनि एलिसाले भनेका थिए: “तिमीले आफ्नै आँखाले त्यो पूरा भएको देख्नेछौ तर त्यसबाट खान भने पाउनेछैनौ।”
२० ती अफिसरलाई ठीक त्यसै भयो। मानिसहरूले मूलढोकामा उनलाई कुल्चेर मारे।
फुटनोटहरू
^ वा “बजारहरूमा।”
^ एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।