दोस्रो राजा ८:१-२९
८ एलिसाले जुन बालकलाई ब्युँताएका थिए, उनकी आमालाई तिनले यसो भने:+ “तिमी आफ्नो पूरै परिवार लिएर यहाँबाट गइहाल! जुन ठाउँमा बस्न सक्छौ, त्यहाँ गएर परदेशी भएर बस। किनकि यहोवा परमेश्वरले यस देशमा सात वर्षसम्म अनिकाल पर्नेछ भनी घोषणा गर्नुभएको छ।”+
२ ती स्त्रीले साँचो परमेश्वरका सेवकले भनेझैँ गरिन्। तिनी आफ्नो पूरै परिवार लिएर पलिस्तियालीहरूको+ देशमा गइन् अनि सात वर्षसम्म त्यहीँ बसोबास गरिन्।
३ सात वर्षपछि ती स्त्री पलिस्तियालीहरूको देशबाट फर्किन् अनि आफ्नो घर र जग्गाजमिन फिर्ता पाऊँ भनी बिन्ती गर्न राजाकहाँ गइन्।
४ त्यतिबेला राजा साँचो परमेश्वरका सेवकको चाकर गेहजिसित कुरा गर्दै थिए। राजाले उनलाई यस्तो आग्रह गरेका थिए: “एलिसाले गरेका सबै ठूलठूला कामबारे मलाई बताऊ!”+
५ एलिसाले मरेको मान्छेलाई फेरि जिउँदो बनाएको कुरा गेहजिले राजालाई बताउँदै थिए।+ त्यति नै खेर ती स्त्री, जसको छोरोलाई एलिसाले जिउँदो बनाएका थिए, आफ्नो घर र जग्गाजमिन फिर्ता पाऊँ भनी राजालाई बिन्ती गर्न त्यहाँ आइपुगिन्।+ तिनलाई देख्नेबित्तिकै गेहजिले भने: “हे मेरा प्रभु! मेरा महाराज! ती स्त्री यिनी नै हुन् अनि एलिसाले जिउँदो बनाउनुभएको त्यो ठिटो ऊ नै हो।”
६ तब राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे र तिनले राजालाई सबै कुराको बेलीबिस्तार लगाइन्। त्यसपछि राजाले दरबारका एक जना अफिसरलाई यस्तो हुकुम गरे: “तिनको सबै कुरा तिनलाई फिर्ता देऊ! तिनी यहाँबाट गएको दिनदेखि अहिलेसम्म तिनको खेतमा जे-जति उब्जनी भयो, त्यसबराबरको दाम पनि तिनलाई देऊ!”
७ एकदिन एलिसा दमिसक गए।+ त्यतिबेला सिरियाका राजा बेन-हदद+ बिरामी भएका थिए। राजालाई यस्तो खबर दिइयो: “साँचो परमेश्वरका सेवक+ दमिसक आएका छन्।”
८ तब राजाले हाजाएललाई+ भने: “साँचो परमेश्वरका सेवकलाई+ भेट्न जाऊ। तिनको लागि केही उपहार पनि लैजानू। तिनलाई म निको हुन्छु कि हुँदिनँ भनी यहोवा परमेश्वरलाई सोध्न आग्रह गर।”
९ तब हाजाएल एलिसालाई भेट्न गए। उनले एलिसाको लागि भनेर दमिसकको हरेक किसिमका असल-असल थोक ४० वटा उँटमा राखेर लगे। उनी एलिसाकहाँ आएर तिनीसामु उभिए र यसो भने: “तपाईँका सेवक, सिरियाका राजा बेन-हददले मलाई यहाँ पठाउनुभएको हो। उहाँ आफू निको हुन्छु कि हुँदिनँ भनी जान्न चाहनुहुन्छ।”
१० एलिसाले उनलाई जवाफ दिए: “गएर तिनलाई यसो भनिदेऊ, ‘तिमी अवश्य निको हुनेछौ।’ तर यहोवा परमेश्वरले तिनको मृत्यु पक्कै हुनेछ भनेर मलाई प्रकट गर्नुभएको छ।”+
११ एलिसाले हाजाएललाई एकटक लगाएर हेरिरहे अनि त्यसले गर्दा हाजाएललाई अप्ठ्यारो लाग्यो। त्यसपछि साँचो परमेश्वरका सेवक रुन थाले।
१२ तब हाजाएलले सोधे: “प्रभु, तपाईँ किन रुनुभएको?” तिनले जवाफ दिए: “किनकि तिमीले इस्राएलीहरूलाई कत्ति हानि पुऱ्याउनेछौ भनेर मलाई थाह छ।+ तिमीले पर्खालले घेरिएको तिनीहरूका सहरहरूलाई आगो लगाइदिनेछौ, तिनीहरूका बलिया-बलिया पुरुषहरूलाई तरबारले काट्नेछौ, तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मार्नेछौ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट चिरिदिनेछौ।”+
१३ तब हाजाएलले भने: “तपाईँको यो सेवक, यो जाबो कुकुरले यस्तो काम कसरी गर्न सक्छ र?” तर एलिसाले भने: “तिमी सिरियाका राजा हुनेछौ भनी यहोवा परमेश्वरले मलाई प्रकट गर्नुभएको छ।”+
१४ त्यसपछि उनी आफ्नो मालिककहाँ फर्के। तब राजाले उनलाई सोधे: “एलिसाले के भने त?” उनले जवाफ दिए: “उहाँले तपाईँ अवश्य निको हुनुहुनेछ भन्नुभयो।”+
१५ तर भोलिपल्ट हाजाएलले एउटा तन्ना लिए, त्यसलाई पानीमा चोपे अनि त्यसले राजाको मुख छोपेर तिनको हत्या गरे।+ त्यसपछि तिनको ठाउँमा हाजाएल राजा भए।+
१६ यहुदामा यहोसापातले शासन गरिरहेकै बेला तिनका छोरा यहोराम पनि राजा भए। त्यतिबेला इस्राएलमा आहाबका छोरा यहोरामको+ शासनकालको पाँचौँ वर्ष चलिरहेको थियो।+
१७ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे।
१८ आहाबको घरानाजस्तै+ तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+
१९ तर यहोवा परमेश्वरले आफ्ना सेवक दाउदको खातिर यहुदाको विनाश गर्न चाहनुभएन।+ किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+
२० यहोरामको शासनकालमा एदोमले यहुदाको विद्रोह गऱ्यो+ र एदोमका मानिसहरू आफैले आफ्नो निम्ति राजा खडा गरे।+
२१ त्यसैले यहोराम आफ्ना सबै रथ लिएर पारिपट्टि जाइर भन्ने ठाउँमा गए। अनि यहोरामले राती नै उठेर एदोमीहरूलाई आक्रमण गरे र तिनीहरूलाई हराए, जसले तिनलाई र रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई घेरेका थिए। त्यसपछि एदोमीहरू भागेर आ-आफ्नो पालमा गए।
२२ तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्यो।
२३ यहोरामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
२४ यहोराम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो।+ तिनीपछि तिनका छोरा आहाज्याह+ राजा भए।
२५ आहाबका छोरा, इस्राएलका राजा यहोरामको शासनकालको १२ औँ वर्ष चलिरहेको बेला यहुदाका राजा यहोरामका छोरा आहाज्याह राजा भएका थिए।+
२६ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र तिनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। तिनकी आमाको नाम अथल्याह+ थियो। उनी इस्राएलका राजा ओम्रिकी+ नातिनी* थिइन्।
२७ आहाज्याह आहाबको घरानाको चालमा हिँडे+ र तिनीहरूले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि आहाबको घरानासित तिनको वैवाहिक नाता थियो।+
२८ त्यसैले तिनी सिरियाका राजा हाजाएलसित लडाइँ गर्न आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा सिरियालीहरूले यहोरामलाई घाइते बनाइदिए।+
२९ सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न जाँदा रामामा सिरियालीहरूले यहोरामलाई घाइते बनाएको हुनाले उनी निको हुन यिज्रेल फर्के।+ तब यहोरामका छोरा यहुदाका राजा आहाज्याह आहाबका छोरा यहोरामलाई भेट्न यिज्रेल गए किनकि उनी घाइते भएका थिए।*