दोस्रो समुएल १:१-२७

  • दाउदले साउलको मृत्यु भएको खबर पाउँछन्‌ (१-१६)

  • साउल र जोनाथनको लागि दाउदको शोक-गीत (१७-२७)

१  साउलको मृत्यु भइसकेको थियो र दाउद अमालेकीहरूलाई हराएर जिक्लग+ फर्किसकेका थिए। दाउद जिक्लग फर्केको दुई दिन भएको थियो। २  तेस्रो दिन साउलको छाउनीबाट एक जना मानिस दाउदकहाँ आयो। उसले आफ्नो लुगा च्यातेको थियो र शिरमा धुलो छरेको थियो। दाउदको नजिकै पुगेपछि उसले भुईँमा लम्पसार परेर दाउदलाई दण्डवत्‌ गऱ्‍यो। ३  दाउदले उसलाई सोधे: “तिमी कहाँबाट आयौ?” उसले भन्यो: “म इस्राएलीहरूको छाउनीबाट भागेर आएको हुँ।” ४  दाउदले भने: “लडाइँमा के भयो, मलाई भन।” उसले भन्यो: “इस्राएली सिपाहीहरू लडाइँ छोडेर भागे अनि थुप्रै सिपाही मारिए। साउल र उहाँका छोरा जोनाथन पनि मारिए।”+ ५  समाचार लिएर आएको त्यो जवान मानिसलाई दाउदले सोधे: “साउल र उहाँका छोरा जोनाथन मारिए भनेर तिमीलाई कसरी थाह भयो?” ६  उसले जवाफ दियो: “संयोगले त्यतिबेला म पनि गिल्बो डाँडामै थिएँ।+ त्यहाँ मैले साउल आफ्नो भालाको सहारा लिएर उभिरहनुभएको देखेँ। रथहरू अनि घोडचढीहरूले उहाँलाई भेट्टाउनै लागिसकेका थिए।+ ७  उहाँले फर्केर हेर्दा मलाई देख्नुभयो र मलाई बोलाउनुभयो। अनि मैले भनेँ: ‘हजुर प्रभु!’ ८  उहाँले मलाई ‘तिमी को हौ’ भनेर सोध्नुभयो। मैले भनेँ: ‘म एक जना अमालेकी हुँ।’+ ९  त्यसपछि उहाँले भन्‍नुभयो: ‘बिन्ती छ, यहाँ आऊ र मलाई मार। यस्तो असह्‍य पीडा भोग्नुभन्दा त बरु म मर्न चाहन्छु।’ १०  उहाँ असाध्यै घाइते हुनुभएकोले उहाँ बाँच्नुहुन्‍न भनेर मलाई थाह थियो। त्यसैले उहाँको नजिक गएर मैले उहाँलाई मारेँ।+ त्यसपछि मैले उहाँको मुकुट अनि उहाँले पाखुरामा लगाउनुभएको बाला लिएँ। प्रभु, मैले यी सबै कुरा हजुरकहाँ ल्याएको छु।” ११  यो सुनेर दाउदले आफ्नो लुगा च्याते अनि त्यहाँ भएका सबैले त्यसै गरे। १२  तिनीहरू डाँको छोडेर रोए अनि साँझसम्मै उपवास बसे।+ किनकि साउल, उनका छोरा जोनाथन र यहोवा परमेश्‍वरका थुप्रै सेवक तरबारले मारिएका थिए। हो, थुप्रै इस्राएलीले ज्यान गुमाएका थिए।+ १३  समाचार लिएर आएको त्यो जवान मानिसलाई दाउदले फेरि सोधे: “तिमी को हौ अनि कहाँबाट आयौ?” उसले भन्यो: “म अमालेकी हुँ; इस्राएलमा बस्ने एक जना विदेशीको छोरा हुँ।” १४  त्यसपछि दाउदले उसलाई भने: “तिमीले यहोवा परमेश्‍वरको अभिषिक्‍त जनलाई मार्ने आँट कसरी गर्न सक्यौ?”+ १५  तब दाउदले आफ्ना मानिसहरूमध्ये एक जनालाई बोलाएर भने: “अघि बढ र यसलाई मार!” अनि त्यो मानिसले उसलाई माऱ्‍यो।+ १६  दाउदले समाचार ल्याउने त्यस मानिसलाई भने: “तिम्रो रगतको दोष तिम्रै थाप्लोमा परोस्‌। किनकि तिमी आफैले यसो भनेर आफूलाई दोषी ठहरायौ: ‘मैले नै यहोवा परमेश्‍वरको अभिषिक्‍त जनलाई मारेँ।’”+ १७  अनि दाउदले साउल र उनका छोरा जोनाथनको लागि एउटा शोकगीत गाए।+ १८  “धनु” भनेर चिनिने त्यो शोकगीत यहुदाका सबै मानिसलाई सिकाउनुपर्छ भन्‍ने हुकुम तिनले दिए। त्यो गीत यासारको पुस्तकमा लेखिएको छ। गीत यस्तो छ:+ १९  “हे इस्राएल, तिम्रा गौरवशाली मानिसहरू अग्ला डाँडाहरूमा मारिए।+ हेर! तिम्रा वीर पुरुषहरू कसरी ढालिए! २०  यो कुरा गाथमा नसुनाऊ;+अस्कलोनका गल्लीहरूमा यसबारे घोषणा नगरनत्र त पलिस्तियालीहरूका छोरीहरू रमाउनेछन्‌;ती बेखतनेहरूका छोरीहरूले खुसीयाली मनाउनेछन्‌। २१  हे गिल्बोका डाँडाहरू हो,+तिमीहरूमाथि कहिल्यै शीत वा पानी नपरोस्‌;तिमीहरूका खेतले पवित्र भेटी नफलाऊन्‌+किनकि त्यहाँ वीर पुरुषहरूका ढालको अपमान भएको छ,साउलको ढालमा अब कहिल्यै तेल लगाइनेछैन। २२  जोनाथनको धनुको निसाना कहिल्यै चुकेन,+साउलको तरबार कहिल्यै रित्तो फर्केन,+ती धनु र तरबारले वीर पुरुषहरूको बोसो छेड्‌यो, शत्रुहरूको रगत बगायो। २३  साउल र जोनाथनलाई+ जीवनभर सबैले माया गरे र प्यारो ठाने,मृत्युले पनि तिनीहरूलाई अलग पार्न सकेन।+ तिनीहरू चीलभन्दा तेजिला+अनि सिंहभन्दा बलिया थिए।+ २४  हे इस्राएलका छोरीहरू हो, साउलको निम्ति विलाप गर,जसले तिमीहरूलाई चहकिलो रातो रङ्‌गका दामी-दामी लुगा पहिराए,तिमीहरूलाई सुनका गरगहनाले सिँगारे। २५  हेर! वीर पुरुषहरू लडाइँमा कसरी ढालिए! जोनाथन तिमीहरूकै अग्ला डाँडामा मारिए।+ २६  हे मेरा दाइ जोनाथन, तिम्रो वियोगमा म असाध्यै दुःखी छु,तिमी मेरो लागि अतिप्रिय थियौ;+ मप्रति तिम्रो प्रेमले स्त्रीहरूको प्रेमलाई जित्थ्यो।+ २७  हेर! वीर पुरुषहरू कसरी ढालिए!लडाइँका हातहतियार सबै नष्ट भए!”

फुटनोटहरू