सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

एउटा बेग्लै किसिमको बाइबल अध्ययन सामग्री

एउटा बेग्लै किसिमको बाइबल अध्ययन सामग्री

अप्रिल १, २०२२

 जनवरी २०२१ मा परिचालक निकायले एउटा नयाँ बाइबल अध्ययन सामग्री विमोचन भएको घोषणा गऱ्‍यो। त्यो हो, सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब। a त्यो घोषणा सुन्दा तपाईँलाई कस्तो लाग्यो? क्यानाडाका म्याथ्यु यसो भन्छन्‌: “म एकदमै खुसी भएँ। भाषणहरू र भिडियोहरूमा यो प्रकाशन तयारी गरिनुको कारण बताइएको थियो। यो प्रकाशन क्षेत्रमा कत्तिको प्रभावकारी छ भनेर परीक्षणसमेत गरिएको रहेछ। यो प्रकाशन कहिले मेरो हातमा आइपुग्ने होला र कहिलेदेखि क्षेत्रमा प्रयोग गर्न थाल्ने होला भनेर म एकदमै उत्सुक थिएँ।”

 सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबले बाइबल अध्ययन गराउने नयाँ तरिकाको थालनी गऱ्‍यो। तर यो नयाँ किताब र पहिलेका बाइबल अध्ययन सामग्रीहरूबीचको भिन्‍नता यति मात्र त होइन। तपाईँ सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको छापिएको प्रति प्रयोग गर्नुहुन्छ भने यो किताब छुँदा मात्र पनि अरू किताबहरूभन्दा फरक भएको महसुस गर्नुभएको होला। यसको कारण थाह पाउन यस किताबको बनौट विचार गरौँ।

नयाँ किताब, नयाँ बनौट

 बाक्लो पाना। यो किन आवश्‍यक पऱ्‍यो? सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा ६०० भन्दा धेरै रङ्‌गीन चित्र छन्‌, सिकाउँछ किताबमा भन्दा झन्डै १० गुणा धेरै। यस नयाँ किताबमा अक्षरहरू वा चित्रहरू नभएको खाली ठाउँ पनि प्रशस्तै छ। यी दुइटा कारणले गर्दा एउटा समस्या खडा हुन सक्थ्यो। कागज पातलो भयो भने पानाको एकापट्टिको चित्र अर्कोपट्टि पनि देखिन सक्थ्यो। यस्तो नहोस्‌ भनेर अमेरिकाको न्यु योर्कस्थित वाल्किलमा भएको अन्तरराष्ट्रिय छपाइ विभागका (IPD) भाइहरूले हाल हाम्रा छापाखानाहरूमा प्रयोग भइरहेका चार किसिमका कागजमा नमुना तयार पारे। परिचालक निकायको लेखन समितिले ती प्रत्येक नमुना जाँच्यो अनि तीमध्ये सबैभन्दा बाक्लो पाना छान्यो। हाम्रा धेरैजसो प्रकाशनमा प्रयोग गरिने कागजहरूको तुलनामा यो कागज १६ प्रतिशतले महँगो छ। तैपनि पानाको एकापट्टिको चित्रहरूले गर्दा अर्कोपट्टि भएका अक्षरहरू पढ्‌न बाइबल विद्यार्थीहरूलाई गाह्रो नहोस्‌ भनेर यस्तो निर्णय गरियो।

दायाँपट्टि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा प्रयोग गरिएको कागज देखाइएको छ

 बेग्लै किसिमको गाता। नयाँ किताबको गाता अन्य किताबहरूको भन्दा फरक छ किनकि यसमा फरक किसिमको लेमिनेसन प्रयोग गरिएको छ। प्रायजसो किताबको गातामा टल्किने (gloss) लेमिनेसन प्रयोग गरिन्छ। तर यस किताबमा भने म्याट (matte) लेमिनेसन प्रयोग गरिएको छ, जसले गर्दा गातामा भएको चित्र अझ सुन्दर देखिन्छ। यस्तो लेमिनेसनले गर्दा किताब धेरै चोटि प्रयोग गरिए पनि लामो समयसम्म टिकाउ हुन्छ। तर टल्किने लेमिनेसनको तुलनामा म्याट लेमिनेसन पाँच गुणा महँगो छ। त्यसैले म्याट लेमिनेसन सस्तोमा किन्‍न थुप्रै शाखाले मिलेर काम गरे।

गाता लेमिनेसन गरिँदै

 यस नयाँ किताबको लागि किन यस्ता महँगा सामानहरू रोजिए? अन्तरराष्ट्रिय छपाइ विभागमा काम गर्ने एक भाइ यसो भन्छन्‌: “भाइबहिनीले यस किताबको पूरापूर सदुपयोग गरेको हामी आशा गर्छौँ। त्यसैले यो किताब धेरै चोटि प्रयोग गरिए पनि राम्रो अवस्थामा रहेको हामी चाहन्छौँ।” ब्राजिल शाखाको छपाइ अफिसमा काम गर्ने भाइ एड्‌वार्डो यसो भन्छन्‌: “यहोवाको सङ्‌गठनले यस्तो सुन्दर, टिकाउ र प्रयोग गर्न पनि रमाइलो लाग्ने किसिमको किताब तयार पार्न गुणस्तरीय सामानहरू प्रयोग गरेको र अनुदानलाई बुद्धिमानी तरिकामा खर्च गरेको देख्दा हामी धेरै खुसी छौँ।”

कोभिड-१९ महामारीको दौडान छपाइ

 हामीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब मार्च २०२१ देखि छाप्न सुरु गऱ्‍यौँ। त्यतिबेला कोभिड-१९ महामारी चलिरहेकोले केही चुनौती पनि थिए। बेथेल लकडाउनले गर्दा हाम्रा छापाखानाहरूमा घरबाट आवत्‌जावत्‌ गर्ने स्वयम्‌सेवकहरूले काम गर्न सकेनन्‌ अनि त्यतिबेला बेथेलमा बसेर सेवा गर्न नयाँ भाइहरूलाई बोलाउन पनि सम्भव थिएन। यसले गर्दा केही छापाखानामा काम गर्ने भाइबहिनीको कमी भयो अनि सरकारी प्रतिबन्धले गर्दा कतिपय छापाखाना अस्थायी रूपमा बन्द भए।

 यस्ता चुनौतीहरू कसरी पार गरिए? छापाखानाहरू चलाउन मिल्ने भएपछि बेथेलको अन्य विभागका भाइबहिनीलाई छापाखानामा अस्थायी रूपमा सेवा गर्न खटाइयो। अन्तरराष्ट्रिय छपाइ विभागमा काम गर्ने भाइ जोएल यसो भन्छन्‌: “उहाँहरूको आत्मत्यागी मनोभाव र नयाँ काम सिक्ने इच्छुकताले गर्दा नै यो काम पूरा गर्न सम्भव भएको हो।”

 यस्ता चुनौतीहरूको बाबजुद हामीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको लाखौँ प्रति छापिसकेका छौँ। यो किताब छाप्न हामीलाई थुप्रै किसिमका सरसामानको आवश्‍यकता पऱ्‍यो। जस्तै: प्रिन्टिङ प्लेट, लेमिनेसन, कागज, मसी र गम। छपाइ थालेको पाँच महिनाभित्रै यस्ता सामानहरूमा मात्र २३ लाख अमेरिकी डलर (२९ करोड ९७ लाख ७२ हजार नेपाली रुपैयाँ) भन्दा धेरै खर्च भयो। खर्च जोगाउन हामीले मण्डलीहरूलाई चाहिनेजति किताब मात्र छाप्ने गरेका छौँ।

“उत्कृष्ट कलाको उपज”

 अध्ययन सञ्चालकहरू र विद्यार्थीहरूलाई यो नयाँ बाइबल अध्ययन सामग्री प्रयोग गर्न पाउँदा कस्तो लागिरहेको छ? अस्ट्रेलियाका पल यसो भन्छन्‌: “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब चलाउन साँच्चै रमाइलो छ। यसबाट बाइबल अध्ययन सञ्चालन गर्न पाउँदा म धेरै खुसी छु। यो किताब हेर्दा पनि निकै आकर्षक छ अनि यसबाट अध्ययन गराउँदा विद्यार्थीहरूसित दोहोरो कुराकानी गर्न सकिन्छ। यस किताबमा स्पष्ट जानकारी, मन छुने प्रश्‍नहरू, भिडियोहरू, चित्रहरू, चार्टहरू र विद्यार्थीको लागि लक्ष्यहरू पनि भएकोले यो निकै राम्रो छ। मैले यस किताबबाट आफ्नो शिक्षणकला तिखार्न सकेको छु। यो उत्कृष्ट कलाको उपज हो।”

 अमेरिकाका एक बाइबल विद्यार्थी यसो भन्छन्‌: “मलाई यो किताब एकदमै मन पर्छ। यसमा भएका चित्रहरूले मलाई मुख्य बुँदा बुझ्न मदत गर्छ। भिडियोहरूले मेरो मन छुन्छ र मलाई कदम चाल्न उत्प्रेरित गर्छ।” यी विद्यार्थीले हप्ताको दुई दिन अध्ययन गरिरहेका छन्‌ र हाम्रा सभाहरूमा पनि नियमित रूपमा उपस्थित भइरहेका छन्‌।

 सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब अझ पनि थुप्रै भाषामा छापिन बाँकी नै छ। आजको मितिसम्म परिचालक निकायले यो किताब ७१० वटा भाषामा प्रकाशित गर्ने अनुमति दिइसकेको छ, जबकि सिकाउँछ किताब जम्मा ३७० वटा भाषामा मात्र प्रकाशित भएको थियो।

 छपाइको खर्च कसरी बेहोरिन्छ? विश्‍वव्यापी कार्यको लागि दिइने अनुदानद्वारा, जुन प्रायजसो donate.pr418.com मार्फत दिइने गरिन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि हामी कृतज्ञ छौँ। यस्ता अनुदानहरूले गर्दा नै यहोवाबारे सिक्न र “सधैँभरि जीवनको आनन्द उठाउन” चाहनेहरूको लागि बाइबल अध्ययन सामग्रीहरू तयार पार्न सम्भव भएको हो।—भजन २२:२६.

a यो किताब JW ब्रोडकास्टिङमा प्रसारण गरिएको वार्षिक सभामा विमोचन गरिएको थियो।