सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सन्‌ २०१७ मा गिलियड स्कुलको एउटा कक्षा सञ्चालन हुँदै

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

गिलियड स्कुल—यसको विश्‍वव्यापी प्रभावकारिता

गिलियड स्कुल—यसको विश्‍वव्यापी प्रभावकारिता

डिसेम्बर १, २०२०

 न्यु योर्कको प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा सञ्चालन गरिने गिलियड स्कुलमा हरेक वर्ष विश्‍वभरिबाट थुप्रै विशेष पूर्ण-समय सेवकहरूलाई निम्तो दिइन्छ। a यस स्कुलमा विद्यार्थीहरूले यहोवाको सङ्‌गठनमा आफूलाई सुम्पिइएको विभिन्‍न जिम्मेवारी कसरी अझ प्रभावकारी तरिकामा पूरा गर्ने भनेर सिक्छन्‌। यस्तो तालिमले तिनीहरूलाई संसारभरि रहेका मण्डलीहरू र शाखाहरूलाई बलियो अनि स्थिर बनाउन मदत गर्छ।

 गिलियड साँच्चै एउटा अन्तरराष्ट्रिय स्कुल हो। उदाहरणको लागि, २०१९ मा भएको १४७ औँ कक्षामा २९ वटा देशबाट आएका ५६ जना विद्यार्थीले भाग लिएका थिए। बेथेल सेवक, क्षेत्रीय निरीक्षक, मिसनरी वा विशेष अग्रगामीजस्ता पूर्ण-समय सेवकहरूलाई यस स्कुलमा निम्तो दिइन्छ।

 गिलियड स्कुल सुरु हुनुभन्दा धेरै अघिदेखि नै त्यसको तयारी सुरु हुन्छ। उदाहरणको लागि, विश्‍व मुख्यालयको यात्रा विभागले स्कुलमा निम्तो पाएकाहरूको लागि हवाई टिकट खरिद गरिदिन्छ। गिलियडको १४७ औँ कक्षामा सहभागी प्रत्येक विद्यार्थीको लागि प्याटर्सनसम्मको दुईतर्फी टिकटको लागि औसतमा १,०७५ अमेरिकी डलर (लगभग १ लाख २६ हजार नेपाली रुपैयाँ) खर्च भएको थियो। सोलोमन टापुबाट आएका विद्यार्थीहरूले प्याटर्सनसम्म आइपुग्न चार वटा हवाईजहाज चढ्‌नुपरेको थियो भने फर्कन तीन वटा। यसरी तिनीहरूले जम्माजम्मी ३५,४०० किलोमिटर (२२,००० माइल) यात्रा गरे। ती प्रत्येक विद्यार्थीको लागि टिकट खरिद गर्न २,३०० अमेरिकी डलर (लगभग २ लाख ७० हजार नेपाली रुपैयाँ) खर्च भयो। खर्च कम गर्न विश्‍व मुख्यालयको यात्रा विभागले कम्प्युटर प्रोग्राम प्रयोग गरेर सस्तो टिकट खोज्छ। टिकट बुक गरिसकेपछि पनि कम्प्युटर प्रोग्रामले टिकटको मूल्य घट्यो कि भनेर हप्तौँ अथवा महिनौँसम्म खोजिरहन्छ। विश्‍व मुख्यालयको यात्रा विभागले टिकट खरिद गर्न अनुदानस्वरूप आएको एयरलाइन क्रेडिट र माइलेज पनि प्रयोग गर्छ।

 अमेरिकामा प्रवेश गर्न थुप्रै विद्यार्थीहरूलाई भिसा चाहिन्छ। त्यसैले विश्‍व मुख्यालयको कानुन विभागले तिनीहरूलाई भिसा पाउन मदत गर्छ। ती प्रत्येक विद्यार्थीको भिसा र दर्ता शुल्कको लागि औसतमा ५१० अमेरिकी डलर (लगभग ६०,००० नेपाली रुपैयाँ) खर्च हुन्छ।

 यी विद्यार्थीहरूले पाएको तालिमबाट हामी कसरी लाभ उठाउन सक्छौँ? हेन्ड्रा गुनावन दक्षिण-पूर्वीय एसियाको एउटा देशमा एल्डरको रूपमा सेवा गर्छन्‌। तिनी सङ्‌गत गर्ने मण्डलीमा गिलियडबाट स्नातक गरेका एक दम्पती पनि छन्‌। तिनी भन्छन्‌: “पहिले हाम्रो मण्डलीमा एक जना पनि नियमित अग्रगामी थिएनन्‌। तर उहाँहरूको इच्छुकता र जोस देखेर अरूले पनि अग्रगामी सुरु गर्ने निर्णय गरे। पछि हाम्रो मण्डलीको एक बहिनी राज्य प्रचारकहरूको लागि स्कुलमा पनि जानुभयो।”

 सर्जियो पान्जाइतन दक्षिण-पूर्वीय एसियाको एउटा देशको बेथेलमा गिलियडबाट स्नातक गरेकाहरूसँगै काम गर्छन्‌। तिनी भन्छन्‌: “तिनीहरूले पाएको तालिम तिनीहरूकै लागि मात्र होइन हाम्रो लागि पनि आशिष्‌ साबित भएको छ। तिनीहरूले कत्ति धेरै कुराहरू सिके! तर यसको लागि घमन्ड गर्नुको साटो तिनीहरू आफूले सिकेको कुरा अरूसित पनि बाँड्‌छन्‌। यसले गर्दा हामीले प्रोत्साहन पाएका छौँ र अरूलाई पनि प्रोत्साहन दिन सकेका छौँ।”

 यस स्कुलका लागि खर्च कसरी जुटाइन्छ? विश्‍वव्यापी कार्यको लागि दिइएको अनुदानबाट, जुन donate.pr418.com मा पाइने कुनै तरिकामार्फत पनि दिइने गरिन्छ। ती अनुदानहरूले गर्दा यो स्कुल सञ्चालन गर्न सहयोग पुगेको छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धन्यवाद!

a यस स्कुलको पाठ्यक्रम यहोवाका साक्षीहरूको परिचालक निकायको शिक्षण समितिको निर्देशनमा ख्रिष्टियन स्कुल विभागले तयार पार्छ र बेलाबेलामा संशोधन गर्छ। यसै विभागका प्रशिक्षकहरूका साथै परिचालक निकायका सदस्यहरू र अतिथिको रूपमा आउने प्रशिक्षकहरूले यस स्कुलमा सिकाउँछन्‌।