सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

परमेश्‍वरसित नजिक हुन मदत गर्ने गीतहरू

परमेश्‍वरसित नजिक हुन मदत गर्ने गीतहरू

नोभेम्बर १, २०२१

 सङ्‌गीत यहोवाले दिनुभएको एउटा सुन्दर उपहार हो। यसले हाम्रो सोचाइ अनि भावनामा प्रभाव पार्न सक्छ र हामीलाई उत्प्रेरित गर्न सक्छ। हाम्रा मौलिक गीतहरूबारे पनि त्यसै भन्‍न सक्छौँ। तर यी गीतहरूले हामीमा अझ गहिरो प्रभाव पार्न सक्छ। यसले हामीलाई परमेश्‍वरसित नजिक हुन मदत गर्छ।

 सन्‌ २०१४ देखि यता हामीले ७० वटा भन्दा धेरै मौलिक गीतहरू बनाइसकेका छौँ। यी मौलिक गीतहरूमध्ये कम्तीमा एउटा गीत ५०० भन्दा धेरै भाषामा उपलब्ध छ। सायद तपाईँहरू सोच्नुहुन्छ होला, ‘यी गीतहरू कसले बनाउँछ अनि कसरी तयार गरिन्छ?’

पर्दा पछाडिको एक झलक

 परिचालक निकायको शिक्षण समितिको सुपरिवेक्षणमा अडियो/भिडियो सेवा अन्तर्गतको सङ्‌गीत टोलीले मौलिक गीतहरू तयार गर्छ। सङ्‌गीत टोली १३ जना भाइबहिनीहरू मिलेर बनेको छ। उहाँहरूले सङ्‌गीत कम्पोज गर्ने, रेकर्ड अनि एडिट गर्ने, तालिका मिलाउनेजस्ता कामहरू गर्नुहुन्छ। साथै शिक्षण समितिले यस कामको लागि घरैबाट काम गर्ने स्वयंसेवकहरूको मदत पनि लिन्छ, जसमा संसारभरिको विभिन्‍न ठाउँका सङ्‌गीतकार, वाद्यवादक र गायकहरू समावेश छन्‌। यी भाइबहिनीहरू आफूले गरेको मेहनतको श्रेय लिन नखोजी नम्र हुँदै आफ्नो क्षमता प्रयोग गर्छन्‌।

 त्यसोभए मौलिक गीतहरू कसरी तयार गरिन्छ? सुरुमा शिक्षण समितिले कुन बाइबल पदमा आधारित भएर गीत बनाउने भनेर निर्धारण गर्छ। साथै त्यस गीतले श्रोताहरूमा कस्तो प्रभाव पार्नुपर्छ भनेर पनि निर्णय गर्छ। सङ्‌गीत टोलीले धुन कम्पोज गर्ने अनि गीतका शब्दहरू तयार पार्नेजस्ता जिम्मेवारी बाँडफाँड गर्छ। त्यसपछि नमुना गीत तयार गरिन्छ, जुन शिक्षण समितिले सुन्छ अनि आवश्‍यक सुझाव दिन्छ। त्यसपछि सङ्‌गीत टोलीले आवश्‍यक छाँटकाँट गरेर राम्ररी गीत रेकर्ड गर्छ। यस्ता गीतहरू विभिन्‍न ठाउँहरूमा रेकर्ड गरिन्छ, जस्तै: शाखाहरूमा अनि घरमै बनाइएका स्टुडियोहरूमा।

 मौलिक गीतहरू कम्पोज गर्न अनि रेकर्ड गर्न हाम्रा भाइबहिनीहरू विभिन्‍न किसिमका सफ्टवेयर प्रयोग गर्छन्‌। यस कामको दौडान विभिन्‍न उपकरण पनि चाहिन्छ, जस्तै: बाजा, मिक्सर, एम्प्लिफायर, स्पिकर अनि माइकहरू। एउटा माइकको मूल्य एक सय अमेरिकी डलरदेखि (लगभग ११ हजार ९ सय नेपाली रुपैयाँ) एक हजार अमेरिकी डलरसम्म (लगभग १ लाख १९ हजार नेपाली रुपैयाँ) पनि पर्न सक्छ। सन्‌ २०२० मा सङ्‌गीत रेकर्ड गर्ने उपकरण खरिद गर्न १ लाख १६ हजार अमेरिकी डलर (लगभग १ करोड ३८ लाख २३ हजार नेपाली रुपैयाँ) खर्च भयो।

 अनुदानको सदुपयोग गर्न के गरिन्छ? बेथेलमा सङ्‌गीत टोली ठूलो बनाउनुको साटो घरबाटै काम गर्ने थुप्रै स्वयंसेवक प्रयोग गरिन्छ। साथै धेरै वाद्यवादकलाई एकै ठाउँमा भेला गराएर सङ्‌गीत रेकर्ड गर्नुको साटो हाम्रा भाइहरू प्रायः कम्प्युटर प्रोग्राममार्फत सङ्‌गीत लेख्नुहुन्छ अनि त्यसबाट विभिन्‍न बाजाको आवाज आउने धुन बनाउनुहुन्छ।

“आध्यात्मिक रूपमा स्फूर्तिदायी”

 भाइबहिनीहरूलाई मौलिक गीतहरू सुन्‍न निकै मन पर्छ। जर्मनीमा बस्ने बहिनी तारा यसो भन्छिन्‌, “म तनावमा हुँदा यी गीतहरूले मलाई हलुका महसुस गराउँछ। मेरो मातृभाषामा यी गीतहरू सुन्‍न पाउँदा यहोवा मलाई अङ्‌गालो हाल्दै हुनुहुन्छ जस्तो महसुस हुन्छ।” काजकस्तानका एक भाइ डिमीट्री यसो भन्छन्‌, “म ढुक्क भएर यी गीतहरू सुन्‍न सक्छु किनभने यी गीतहरू बाइबल सिद्धान्त विपरीत छन्‌ कि भनेर मैले चिन्ता गर्नुपर्दैन। साथै यी गीतहरूले मलाई आध्यात्मिक कुराहरूमै ध्यान केन्द्रित गर्न पनि मदत गरेको छ।”

 दक्षिण अफ्रिकाकी एक बहिनी डेलिया मौलिक गीतहरूबारे आफूले महसुस गरेको कुरा यसरी बताउँछिन्‌, “यी गीतहरू आध्यात्मिक रूपमा स्फूर्तिदायी छन्‌। निराश भएको बेला अथवा चुनौतीपूर्ण अवस्थामा पर्दा म मेरो अवस्थासित मिल्ने गीतहरू भेट्टाउँछु। प्रायः यी गीतहरूको धुन मात्रै सुन्दा पनि मेरो भावना परिवर्तन भएको महसुस गर्छु।”

 केही मौलिक गीतहरू चाहिँ केही-कोही निकै मन पराउँछन्‌। दक्षिण अफ्रिकाकी एक बहिनी लिराटो यसो भन्छिन्‌, “मलाई भविष्यको कल्पना गर्न ‘जस्ट आराउन्ड द कर्नर’ (अङ्‌ग्रेजी) अनि ‘नयाँ संसारको आशा’ गीतहरूले मदत गरेको छ। म आमालाई नयाँ संसारमा फेरि स्वागत गर्ने समयको कल्पना गर्छु। प्रत्येक चोटि यी गीतहरू सुन्दा उहाँ हात फैलाउँदै मलाई अँगालो हाल्न मतिर दौडदैँ आइरहेको देख्छु।”

 श्रीलङ्‌काकी एक किशोरीको लागि विशेषगरि एउटा मौलिक गीत निकै मदतकारी साबित भयो। तिनी भन्छिन्‌, “म यहोवाको साक्षी भएकीले मलाई विज्ञान पढाउने शिक्षकले पूरै कक्षाको अगाडि नराम्ररी हप्काउनुभयो। म डराएँ अनि केही बोल्नै सकिनँ। घर फर्केपछि आमाले मलाई ‘स्टडी मेक्स यु स्ट्रङ्‌ग’ (अङ्‌ग्रेजी) भन्‍ने गीत सुन्‍न प्रोत्साहन दिनुभयो। यो गीत सुनेपछि मैले अनुसन्धान गर्नुपर्छ अनि जवाफ दिन तयार हुनुपर्छ भनेर बुझेँ। अर्को दिन मैले शिक्षकसित कुरा गरेँ। उहाँले मेरो कुरा सुन्‍नुभयो अनि यहोवाका साक्षीहरूको विश्‍वासको कदर गरेको कुरा बताउनुभयो। यस्ता प्रोत्साहनदायी गीतहरूको प्रबन्ध गरेकोमा म यहोवाको सङ्‌गठनप्रति निकै आभारी छु।”

 यी गीतहरू बनाउन लाग्ने खर्चहरू कसरी बेहोरिन्छ? विश्‍वव्यापी कार्यको लागि दिइएको अनुदानबाट, जुन donate.pr418.com मा उल्लेख गरिएका विभिन्‍न तरिकाहरूमार्फत दिइने गरिन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धेरै धन्यवाद।