तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” मिसनरीहरू
जून १, २०२१
येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषित १:८) यहोवाका साक्षीहरूले अहिले जोसका साथ यो जिम्मेवारी पूरा गरिरहेका छन्। तर केही ठूला र धेरै जनसङ्ख्या भएका ठाउँहरूलगायत पृथ्वीका कुनै-कुनै भागमा विस्तृत रूपमा साक्षी दिइएको छैन। अनि केही देशमा थोरै मात्र साक्षी छन्। (मत्ति ९:३७, ३८) सकेसम्म धेरै मानिसलाई साक्षी दिन हामीले के गरिरहेका छौँ?
येसुले दिनुभएको आज्ञाअनुसार गर्न यहोवाका साक्षीहरूको परिचालक निकायको सेवा समितिले संसारभरि आवश्यकता धेरै भएका ठाउँहरूमा मिसनरीहरूलाई खटाउँछ। अहिले संसारभरि ३,०९० मिसनरी छन्। a तिनीहरूमध्ये धेरैले राज्य प्रचारकहरूका लागि स्कुलजस्ता बाइबल स्कुलबाट तालिम पाएका छन्। मिसनरीहरू आफ्नो घर छोडेर विदेशमा सेवा गर्न इच्छुक छन्। तिनीहरू परिपक्व, तालिमप्राप्त र अनुभवी हुन्छन्। यी वफादार मिसनरीहरूले सुसमाचार फैलाउन मदत गर्छन् र नयाँ भाइबहिनीको लागि राम्रो उदाहरण बसाल्छन्।
अरूलाई मदत गर्न मिसनरीहरूलाई मदत
प्रत्येक शाखा कार्यालयको सेवा विभागमा विशेष पूर्ण-समय सेवक एकाइ हुन्छ, जसले शाखा समितिसँगै मिलेर मिसनरीहरूको आवश्यकताहरू, जस्तै: घर-कोठा भाडा, स्वास्थ्य उपचार खर्च र जीविकोपार्जनको लागि लाग्ने अन्य साना खर्चको रेखदेख गर्छ। सेवा वर्ष २०२० मा यहोवाका साक्षीहरूले मिसनरीहरूको हेरविचार गर्न लगभग २ करोड ७० लाख अमेरिकी डलर (लगभग ३ अरब १९ करोड १४ लाख नेपाली रुपैयाँ) खर्च गरे। यी प्रबन्धहरूले गर्दा मिसनरीहरूले आफ्नो पूरा ध्यान र शक्ति क्षेत्र सेवाका साथै स्थानीय मण्डलीलाई बलियो बनाउन प्रयोग गर्न सकेका छन्।
मिसनरीहरूले साक्षीकार्यमा कस्तो योगदान दिइरहेका छन्? मलावी शाखा समितिमा सेवा गर्ने भाइ फ्रान्क माडसेन यसो भन्छन्: “मिसनरीहरू निकै साहसी र सिपालु भएकोले तिनीहरूले मण्डलीलाई चुनौतीपूर्ण इलाकाहरू, जस्तै, हाउजिङहरू र विदेशी भाषाको इलाकामा साक्षी दिन मदत गरेका छन्। साथै स्थानीय भाषा र रहनसहन सिक्न तिनीहरूले गरिरहेको कडा मेहनत देखेर अरूले प्रोत्साहन पाएका छन् र तिनीहरूले मण्डलीका युवाहरूलाई पूर्ण-समय सेवामा लाग्ने लक्ष्य राख्न मदत गरिरहेका छन्। यी मिसनरीहरू पठाइदिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ।”
अर्को एउटा देशको शाखा समिति सदस्य यसो भन्छन्: “मिसनरीहरू विश्वभर रहेका यहोवाका जनहरू एकतामा छन् भन्ने कुराको जीवन्त उदाहरण हुन्। हामी फरक-फरक देश र संस्कृतिको भए तापनि हामीबीच कुनै फुट छैन बरु बाइबलको शिक्षाले हामीलाई एकताबद्ध बनाएको छ भन्ने कुरा अरू मानिसहरूले समेत याद गरेका छन्।”
मिसनरीहरू स्थानीय प्रकाशकहरूलाई कसरी मदत गर्छन्? टिमोर-लेस्टेमा बस्ने पाउलो आफ्नो मण्डलीमा मिसनरीहरू खटाइएकोमा निकै आभारी छन्। तिनी भन्छन्: “यो ठाउँमा उखुम गर्मी हुन्छ। यहाँ सेवा गर्ने मिसनरीहरू चिसो ठाउँबाट आएका हुन्। तर तिनीहरू जतिसुकै गर्मीमा पनि साक्षीकार्यमा भाग लिन छोड्दैनन्। तिनीहरू बिहानको क्षेत्र सेवाको सभा कहिल्यै छुटाउँदैनन्। अनि तिनीहरू दिउँसो टन्टलापुर घाममा र साँझपख पनि पुनःभेटमा गइरहेको देख्छु। तिनीहरूले मलगायत अरू थुप्रैलाई बाइबल सत्य सिक्न मदत गरेका छन्। तिनीहरू निकै जोसिला छन् र आफ्नो पूरै जीवन यहोवाको सेवामा लगाइरहेका छन्। यसले पूरै मण्डलीलाई तनमनले यहोवाको सेवा गर्न उत्प्रेरित गरेको छ।”
एक मिसनरी दम्पतीले आफ्नो परिवारलाई मदत गरेको कुराबारे मलावीकी एक नियमित अग्रगामी बहिनी केट्टी यसो भन्छिन्: “हाम्रो मण्डलीमा एक जना मिसनरी दम्पतीलाई खटाइँदा मेरो परिवारमा म मात्र साक्षी थिएँ। तर उहाँहरूले मलाई निकै साथ दिनुभयो र उहाँहरू हाम्रो परिवारसित निकै घनिष्ठ हुनुभयो। यहोवाको सेवा गर्दा जीवनमा साँचो आनन्द र सन्तुष्टि पाइन्छ भन्ने कुरा मेरा छोराछोरीले उहाँहरूको उदाहरणबाट सिकेका छन्। ती मिसनरी दम्पतीको राम्रो उदाहरण देखेर मेरो तीनै जना छोरीले नियमित अग्रगामी सेवा सुरु गरेका छन् र मेरो पति पनि सभाहरूमा जान थाल्नुभएको छ।”
मिसनरीहरूको खर्च कसरी बेहोरिन्छ? विश्वव्यापी कार्यको लागि दिइएको अनुदानबाट, जुन donate.pr418.com मा उल्लेख गरिएका विभिन्न तरिकाहरूमार्फत पनि दिइने गरिन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि हामी मनैदेखि कृतज्ञ छौँ!
a यी मिसनरीहरूलाई आवश्यकता धेरै भएको मण्डलीमा खटाइएको छ। यसबाहेक १,००१ जना मिसनरीलाई चाहिँ परिभ्रमण कार्यमा खटाइएको छ।