तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
प्रशस्तताबाट खाँचो टार्ने
अक्टोबर १, २०२०
यहोवाका साक्षीहरू २०० भन्दा धेरै मुलुकमा बाइबलको सत्य सिकाउने अनि खाँचोमा परेका मानिसहरूलाई मदत गर्ने काम गर्छन्। तर लगभग ३५ देशले मात्र त्यहाँ उठेको अनुदानले आफ्नो खर्च आफै बेहोर्न सक्छन्। त्यसोभए बाँकी अरू देशहरूको खाँचो कसरी पूरा गरिन्छ?
यहोवाका साक्षीहरूको परिचालक निकायले विश्वभरिका भाइबहिनीले यहोवाको उपासना गर्न र सुसमाचारको राम्ररी साक्षी दिन सकोस् भनेर आवश्यक प्रबन्ध मिलाउँछ। त्यसैले खर्चहरूको बजेट बनाइन्छ र निकै विचार पुऱ्याएर खर्च गरिन्छ। यदि एउटा शाखा कार्यालयले आफ्नो देशमा उठेको अनुदानले सबै खर्च बेहोरेर पनि रकम बाँकी रहन्छ भने त्यो रकम खाँचोमा परेका देशहरूमा पठाउँछ। यस्तो प्रबन्ध प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि गरेका थिए। “सबैमा समानता होस्” भनेर तिनीहरूले एकअर्कालाई मदत गरेका थिए। (२ कोरिन्थी ८:१४) तिनीहरूले आफ्नो प्रशस्तताबाट मदत चाहिएका सङ्गी ख्रिष्टियनहरूको खाँचो टारेका थिए।
अरू शाखा कार्यालयबाट अनुदान प्राप्त गर्दा हाम्रा भाइबहिनीले कस्तो महसुस गरेका छन्? उदाहरणको लागि, तान्जानियालाई विचार गरौँ। त्यहाँका धेरैजसो मानिसले दिनको २ अमेरिकी डलर (२३४ नेपाली रुपैयाँ) मात्र कमाउँछन्। अरू शाखा कार्यालयले पठाएको रकमले माफिङ्गा मण्डलीले प्रयोग गरिरहेको सभाभवन मर्मत गर्न सकियो। त्यस मण्डलीका भाइबहिनीले यस्तो लेखे: “सभाभवनको मर्मत भएपछि हाम्रो सभाको उपस्थिति निकै बढेको छ। हामीले यस सुन्दर सभाभवनमा यहोवाको उपासना गर्न पाएका छौँ। त्यसैले हामी सङ्गठन अनि विश्वभरिका हाम्रा भाइबहिनीहरूले उदार भएर दिनुभएको अनुदानप्रति कृतज्ञ छौँ।”
कोभिड-१९ महामारीले गर्दा श्रीलंकामा बस्ने हाम्रा केही भाइबहिनीलाई हातमुख जोर्न पनि गाह्रो भयो। इमारा फर्नान्डो र तिनको सानो छोरा इनोशले पनि यस्तै समस्या झेल्नुपऱ्यो। तर खुसीको कुरा, अरू देशहरूले पठाएको अनुदानले गर्दा तिनीहरूले राहत सामग्री पाउन सके। आफ्नो हातैले बनाएको कार्डमा तिनीहरूले यस्तो लेखे: “यस कठिन अवस्थामा हामीप्रति माया देखाउनु हुने सबै भाइबहिनीहरूप्रति हामी मनैदेखि आभारी छौँ। यस आध्यात्मिक परिवारको सदस्य हुन पाएकोमा हामी धेरै खुसी छौँ। यस आखिरी समयमा हाम्रा सबै भाइबहिनीलाई मदत गर्नुहोस् भनेर हामी यहोवालाई प्रार्थना गर्दै छौँ।”
हाम्रा भाइबहिनी जहाँसुकै बसे तापनि तिनीहरू एकअर्कालाई मदत गर्न सधैँ अग्रसर हुन्छन्। उदाहरणको लागि, इनोशलाई विचार गर्नुहोस्। आफूले पनि खाँचोमा परेका अरू परिवारलाई मदत गर्न सकूँ भनेर तिनले एउटा सानो अनुदान बाकस बनाए। बहिनी ग्वाडालुपे आल्भारेजले पनि यस्तै मनोवृत्ति देखाइन्। तिनी मेक्सिकोको यस्तो सहरमा बस्छिन्, जहाँ मानिसहरूको आम्दानी एकदम थोरै छ वा छँदै छैन। तैपनि तिनी आफूले सक्दो अनुदान दिन्छिन्। तिनी यस्तो लेख्छिन्: “यहोवाको भलाइ र वफादार प्रेमको लागि म उहाँप्रति कृतज्ञ छु। मैले दिएको अनुदान खाँचोमा परेका हाम्रा भाइबहिनीलाई मदत गर्न प्रयोग गरिनेछ भनेर म विश्वस्त छु।”
शाखा कार्यालयहरूले पनि खुसीसाथ खाँचोमा परेको ठाउँमा अनुदान पठाउँछन्। ब्राजिल शाखा समितिमा सेवा गर्ने भाइ एन्थोनी काभायो यसो भन्छन्, “धेरै वर्षसम्म अरू देशका शाखा कार्यालयहरूबाट हामीले आर्थिक मदत पायौँ। यसले गर्दा हाम्रो देशमा थुप्रै उन्नति भयो। अहिले हाम्रो आर्थिक अवस्था पहिलाभन्दा राम्रो छ। त्यसैले हामी खाँचोमा परेका अरू शाखा कार्यालयहरूलाई आर्थिक मदत दिन सक्छौँ। ब्राजिलका हाम्रा भाइबहिनीले आफूले दिएको अनुदानले विश्वव्यापी साक्षीकार्यमा टेवा पुऱ्याउँछ भनेर बुझेका छन्।”
खाँचोमा परेका आफ्ना भाइबहिनीलाई मदत गर्न यहोवाका साक्षीहरूले के गर्न सक्छन्? अरू देशका शाखा कार्यालयहरूमा सीधै अनुदान पठाउनुको सट्टा आफ्नै सभाभवनमा भएको “विश्वव्यापी कार्यको लागि” भनेर लेखिएको बाकसमा अनुदान खसाल्न सक्छन् वा donate.pr418.com मार्फत पनि अनुदान दिन सक्छन्। तपाईँले दिनुहुने अनुदानको लागि हामी मनैदेखि कृतज्ञ छौँ।