सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

यहोवाको लागि बहिराहरू पनि अनमोल छन्‌

यहोवाको लागि बहिराहरू पनि अनमोल छन्‌

जुलाई १, २०२२

 यहोवा परमेश्‍वर सबै किसिमका मानिसले उहाँ र उहाँको स्वर्गीय राज्यबारे सिकेको चाहनुहुन्छ, चाहे तिनीहरूको परिस्थिति जस्तोसुकै किन नहोस्‌! (१ तिमोथि २:३, ४) त्यसैले यहोवाका साक्षीहरूले धेरैभन्दा धेरै मानिसको लागि, यहाँसम्म कि बहिराहरूको लागि समेत बाइबल र बाइबल अध्ययन सामग्रीहरू तयार पारेका छन्‌। हाम्रो सङ्‌गठनले साङ्‌केतिक भाषामा हजारौँ प्रकाशन तयार पारेको छ a र यी प्रकाशनहरू १०० वटाभन्दा धेरै साङ्‌केतिक भाषामा भिडियोको रूपमा उपलब्ध छन्‌। यी प्रकाशनहरू कसरी तयार पारिन्छ र वितरण गरिन्छ? अनि यी प्रकाशनहरू उपलब्ध गराउन समयको दौडान के-कस्ता सुधार गरिएका छन्‌?

साङ्‌केतिक भाषाका भिडियोहरू कसरी तयार पारिन्छ?

 साङ्‌केतिक भाषाका प्रकाशनहरू विश्‍वभरि रहेका अनुवाद टोलीहरूले तयार पार्छन्‌। अनुवाद टोलीका सदस्यहरूले सुरुमा आफूले अनुवाद गर्नुपर्ने प्रकाशन राम्ररी विश्‍लेषण गर्छन्‌। अनि त्यसलाई साङ्‌केतिक भाषामा कसरी अनुवाद गर्न सकिन्छ भनेर विचार गर्छन्‌। त्यसपछि तिनीहरूले प्रकाशनको भिडियो रेकर्डिङ गर्छन्‌। हाल साङ्‌केतिक भाषाका ६० वटा टोलीले बाइबल अध्ययन सामग्रीहरू नियमित रूपमा अनुवाद गरिरहेका छन्‌ भने ४० वटा टोलीले समय-समयमा अनुवाद गर्छन्‌।

 विगतमा साङ्‌केतिक भाषाका भिडियोहरू उत्पादन गर्न धेरै खर्च लाग्थ्यो। भिडियो क्यामरा र अन्य उपकरण अहिलेको भन्दा निकै महँगा हुन्थे। साथै भिडियोहरू स्टुडियोमा रेकर्ड गर्नुपर्ने हुन्थ्यो। त्यस्ता स्टुडियोहरू हामी आफैले बनाउने गर्थ्यौँ। कहिलेकाहीँ त पुरानो भवनलाई मर्मतसम्भार गरेर स्टुडियो बनाउने गर्थ्यौँ। साङ्‌केतिक भाषाको एउटा अनुवाद टोलीको लागि सबै कुराको प्रबन्ध मिलाउन ३० हजार अमेरिकी डलर (३९ लाख १० हजार नेपाली रुपैयाँ) भन्दा धेरै खर्च हुन्थ्यो।

 अनुदानलाई सही तरिकामा प्रयोग गर्न हाम्रो सङ्‌गठनले अनुवादको काममा पहिलेभन्दा सुधार ल्याएको छ र त्यसलाई अझ सरल बनाएको छ। हामी अहिले साधारण किसिमको र खर्च पनि कम लाग्ने आधुनिक उपकरणहरू प्रयोग गर्दै छौँ। अनुवाद टोलीहरूले भिडियोहरू स्टुडियोमा रेकर्ड गर्नुको सट्टा आफ्नो अफिसमै हरियो पर्दाको अगाडि रेकर्ड गर्ने गरेका छन्‌। धेरै जना दोभासे आवश्‍यक पर्दा भने भाइबहिनीले आफ्नो अफिस वा घरमै आफ्नो भाग रेकर्ड गर्छन्‌। तिनीहरू पहिलेजस्तो स्टुडियो धाउनु पर्दैन।

 दोभासेहरूको काम सजिलो होस्‌ भनेर हामीले सफ्टवेयर पनि बनाएका छौँ। यसले गर्दा अनुवाद टोलीलाई साङ्‌केतिक भाषाको कुनै प्रकाशन अनुवाद गर्न जति समय लाग्थ्यो, त्यो समय आधाले घटेको छ। हाम्रा भाइबहिनीले यस्तो छाँटकाँटप्रति निकै कृतज्ञता व्यक्‍त गरेका छन्‌। अलेक्जान्डर नाम गरेका एक भाइ यसो भन्छन्‌: “साङ्‌केतिक भाषाका भिडियोहरू पहिलेभन्दा छिटोछिटो विमोचन भइरहेको छ। म एकदमै खुसी छु। म हरेक दिन भिडियोहरू हेर्छु।”

 अहिले अनुवाद टोलीको लागि सबै सरसामान जोरजाम गर्न ५ हजार अमेरिकी डलर (६ लाख ५१ हजार नेपाली रुपैयाँ) पनि लाग्दैन। यसले गर्दा हामीले अरू पनि थुप्रै साङ्‌केतिक भाषामा भिडियोहरू उत्पादन गर्न सकेका छौँ।

साङ्‌केतिक भाषाका भिडियोहरू कसरी वितरण गरिन्छ?

 अनुवाद टोलीले साङ्‌केतिक भाषाको कुनै प्रकाशन तयार पारेपछि त्यो प्रकाशन आवश्‍यक परेकाहरूको हात-हातमा पुऱ्‍याउनुपर्ने हुन्छ। विगतमा हामी भिडियो क्यासेट र डिभिडिहरूमा प्रकाशन तयार पार्थ्यौँ। तर त्यो एकदमै महँगो हुन्थ्यो, समय धेरै खान्थ्यो अनि काम पनि धेरै गर्नुपर्ने हुन्थ्यो। त्यसपछि रेकर्डिङका प्रतिहरू बनाउन बाहिरको कम्पनीमा पठाइन्थ्यो। अन्तमा भिडियो क्यासेट र डिभिडिहरू मण्डलीहरूमा ढुवानी गरिन्थ्यो। सन्‌ २०१३ मा मात्र साङ्‌केतिक भाषाका डिभिडिहरू बनाउन २० लाख अमेरिकी डलर (२५ करोड ९८ लाख ८२ हजार नेपाली रुपैयाँ) भन्दा धेरै खर्च भयो।

 बहिरा भाइबहिनीले यस्ता प्रबन्धहरूको निकै कदर गरे। तर भिडियोहरू प्रयोग गर्न सधैँ सजिलो थिएन, खासगरि क्यासेट वा डिभिडिको सङ्‌ख्या बढ्‌दै गएपछि। कहिलेकाहीँ त बाइबलको एउटा किताब मात्र रेकर्ड गर्न पनि थुप्रै डिभिडिको आवश्‍यकता पर्थ्यो। ब्राजिलका भाइ जिल्नेइ यसो भन्छन्‌: “कुनै पद पढ्‌नुपऱ्‍यो भने सुरुमा त्यो पद कुन भिडियो क्यासेटमा छ भनेर पत्ता लगाउनुपर्थ्यो। त्यसपछि त्यसमा पद खोज्नुपर्थ्यो। यसो गर्न निकै गाह्रो थियो।” साङ्‌केतिक भाषाका डिभिडिहरू प्रयोग गरेकी रफायानी बहिनी यसो भन्छिन्‌: “व्यक्‍तिगत अध्ययन गर्न निकै थकाइलाग्दो हुन्थ्यो। शास्त्रपद वा स्रोत-सामग्री खोज्न पनि निकै समय खर्च गर्नुपर्ने हुन्थ्यो।” भाइबहिनीहरू साक्षीकार्यमा जाँदा डिभिडि वा भिडियो क्यासेट सँगै लैजान्थे अनि कसैले चासो देखाए भने तिनकै टिभीमा देखाउँथे। केही भाइबहिनीले त आफ्नै डिभिडि प्लेयर बोकेर लैजान्थे। तर पछि स्क्रिनसहितको डिभिडि प्लेयर उपलब्ध भयो। यो सजिलै यताउता लैजान मिल्ने भएकोले थुप्रै भाइबहिनीले त्यही प्रयोग गर्न थाले। अमेरिकामा बस्ने बबि यसो भन्छन्‌: “घरधनीलाई कुनै पद देखाएपछि अर्को पद देखाउनुपऱ्‍यो भने छुट्टै डिभिडि प्रयोग गर्नुपर्ने हुन्थ्यो। यसले गर्दा कुराकानीको दौडान बाइबल प्रयोग गर्न निकै गाह्रो र झन्झटिलो हुन्थ्यो।”

 सन्‌ २०१३ मा यहोवाको सङ्‌गठनले JW लाइब्रेरी साङ्‌केतिक भाषा एप विमोचन गऱ्‍यो। यसले गर्दा भाइबहिनीले आफ्नै फोन वा ट्याबलेटमा भिडियोहरू डाउनलोड गर्न र हेर्न सक्ने भए। सुरुमा यो एपमा अमेरिकी साङ्‌केतिक भाषा मात्र थियो तर २०१७ मा अपडेट भएर अरू साङ्‌केतिक भाषा पनि थपिए। विश्‍वभरका भाइबहिनी धेरै खुसी भए। ब्राजिलका भाइ युसेलिनो यसो भन्छन्‌: “परिचालक निकायले हामी बहिराहरूलाई पनि धेरै माया गर्छ र अरूले जस्तै हामीले पनि सत्यमा प्रगति गरेको चाहन्छ भनेर बुझ्न सकेँ। सुरुमा त मलाई पत्याउनै गाह्रो भयो तर खुसी पनि लाग्यो। यस एपले मलाई बाइबल अझ धेरै पढ्‌न जुरमुऱ्‍यायो।”

JW लाइब्रेरी साङ्‌केतिक भाषा एप प्रयोग गर्दै

 अहिले हामी सबै साङ्‌केतिक भाषाका भिडियोहरू डिजिटल फर्म्याटमा तयार पार्छौँ अनि हाम्रो वेबसाइट र JW लाइब्रेरी साङ्‌केतिक भाषा एपमा अपलोड गर्छौँ। पहिले साङ्‌केतिक भाषाका भिडियोहरू अनुवाद, रेकर्ड र वितरण गर्न महिनौँ वा वर्षौँ लाग्थ्यो तर अहिले केही दिनमै सबै काम सकिन्छ। कतिपय साङ्‌केतिक भाषाका प्रकाशनहरू त बोलिने भाषाहरूसँगसँगै विमोचन हुन्छ।

 हाम्रा केही बहिरा भाइबहिनीले भनेको कुरा विचार गरौँ। क्लिजिया भन्छिन्‌: “बहिराहरूको लागि यस्तो सजिलो तरिकामा आध्यात्मिक खानेकुराको प्रबन्ध गरिदिने अरू कुनचाहिँ सङ्‌गठन होला र? यहोवाको सङ्‌गठनले हामीलाई जे-जति दिइरहेको छ, त्यसलाई संसारले दिने अरू कुनै पनि कुरासित तुलना गर्न सकिँदैन।” भ्लादिमिर भन्छन्‌: “यहोवाले बहिराहरूको लागि भिडियोहरू प्रबन्ध गरिदिनुभएको कुराबाट उहाँ हामीलाई पनि सुन्‍ने मानिसहरूलाई जत्ति नै माया गर्नुहुन्छ भनेर महसुस गर्न सकेको छु।”

 हाम्रो साङ्‌केतिक भाषाका भिडियोहरूमा अक्सर यस्तो कुरा उल्लेख गरिएको हुन्छ: “यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्‍वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।” तपाईँहरूले दिनुभएको अनुदानको लागि हामी कृतज्ञ छौँ, जुन प्रायजसो donate.pr418.com मार्फत दिइने गरिन्छ। यस्ता अनुदानहरूले गर्दा नै सबै मानिसको लागि, बहिराहरूको लागि समेत बाइबल र बाइबल अध्ययन सामग्रीहरू तयार पार्न सम्भव भएको हो।

a साङ्‌केतिक भाषामा हात र अनुहारको हाउभाउद्वारा कुराकानी गरिने भएकोले साङ्‌केतिक भाषाका प्रकाशनहरू छापिँदैन बरु भिडियो फर्म्याटमा तयार पारिन्छ।