सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

येसुको जीवन र सेवाको कथा—पर्दा पछाडिका कामहरू

येसुको जीवन र सेवाको कथा—पर्दा पछाडिका कामहरू

अक्टोबर १, २०२४

 यहोवाका साक्षीहरू यस वर्षको अधिवेशनमा देखाइने येसुको जीवन र सेवाको कथा भिडियो नाटकको एपिसोड १ हेर्न उत्सुकतासाथ पर्खिरहेका छन्‌। लाखौँले यो भिडियो हेरिसकेका छन्‌। १८ वटा एपिसोडमध्ये यो पहिलो एपिसोड हो। यो भिडियो शृङ्‌खला बनाउन पर्दा पछाडि के-कस्ता कामहरू हुँदै छन्‌ अनि तपाईँले यस काममा कसरी सघाउनुभएको छ?

भिडियो नाटक टोली र कलाकारको हेरविचार

 अस्ट्रेलेजिया शाखामा येसुको जीवन र सेवाको कथा भिडियो नाटकका धेरैजसो भागहरू छायाङ्‌कन गरियो। प्रत्येक दृश्‍य छायाङ्‌कन गर्दा सेटमा लगभग ५० देखि ८० जना भाइबहिनी हुन्छन्‌। a भिडियो नाटक टोली र कलाकार सबैको लागि बिहान र बेलुकीको खाना अनि खाजाको प्रबन्ध गरिएको हुन्छ। तिनीहरूलाई के खाना खुवाउने भनेर पहिल्यै योजना बनाइएको हुन्छ। खाद्यान्‍न विभागमा काम गर्ने एस्तर यसो भन्छिन्‌, “हामी थुप्रै बिक्रेताबाट खानेकुरा किन्‍ने गर्छौँ। यसो गर्दा हामीले गुणस्तरीय खानेकुरा सुपथ मूल्यमा पाउन सकेका छौँ। अनि खानेकुरा खेर नजाओस्‌ भनेर हामी फरक-फरक तरिकामा खाना पकाउने गर्छौँ।” हामी हरेक दिन खानेकुरामा प्रति व्यक्‍ति लगभग ४ अमेरिकी डलर खर्च गर्छौँ।

 हाम्रो भिडियो नाटक टोली र कलाकारलाई खानेकुरा मात्र नभई सुरक्षा पनि चाहिन्छ। तर केबाट सुरक्षा? अष्ट्रेलियाको घमाइलो दिनमा आकाश सफा देखिन्छ र वातावरण न्यानो हुन्छ। तर त्यतिबेला सूर्यबाट अधिक मात्रामा अल्ट्राभाइलेट विकिरणहरू पनि आउने गर्छ। त्यस्तो विकिरणले पुऱ्‍याउने हानि र गर्मीले गर्दा हुने थकानलाई कम गर्न प्रोडक्सन टिमका केही भाइबहिनीले निकै सावधानी अपनाउँछन्‌। तिनीहरूले भाइबहिनीहरू कडा घामबाट जोगिएर शीतल ठाउँमा बस्न सकोस्‌ भनेर पाल टाँगिदिन्छन्‌ अनि प्रशस्त मात्रामा सनस्क्रिन, छाता र पानीको प्रबन्ध पनि गरिदिन्छन्‌। अडियो-भिडियो विभागमा सेवा गर्ने भाइ केभिन यसो भन्छन्‌, “यस काममा सघाउने प्रायजसो भाइबहिनीहरू घरबाटै आवतजावत गर्ने बेथेल सेवकहरू हुन्‌। तिनीहरू नम्र हुँदै दिइएका सबै काम खुसीसाथ गर्छन्‌। तिनीहरूको मदतबिना हामी यो परियोजना पूरा गर्न सक्दैनथ्यौँ।”

शाखा कार्यालयबाट टाढा गरिएको छायाङ्‌कन

 शाखा कार्यालयमा, अस्थायी फिल्म सेटमा वा स्टुडियोमा छायाङ्‌कन गर्दा केही दृश्‍यहरू जीवन्त नदेखिने हुनाले वास्तविक ठाउँमै गएर छायाङ्‌कन गर्नुपर्ने हुन्छ। बाइबलका पुरातन दृश्‍यहरू छायाङ्‌कन गर्न बिजुलीको तारहरू, पक्की सडक र आधुनिक भवनहरू नभएको दुर्गम ठाउँहरूमा जानुपर्ने हुन्छ। कलाकारलाई चाहिने पहिरनहरू र सरसामानहरूलाई जतन गरेर छायाङ्‌कन गर्ने ठाउँसम्म ढुवानी गर्नुपर्छ र त्यहाँ सुरक्षितसाथ राख्नुपर्छ। छायाङ्‌कन गरिनुअघि प्रोडक्सन टिमका सहायकले जेनेरेटरहरू, सफा पिउने पानी र शौचालयहरू उपलब्ध छन्‌ कि छैनन्‌ भनेर पक्का गर्छन्‌। भिडियो नाटक टोली र कलाकारहरूलाई भ्यानिटीहरूमा, होटेलमा वा अतिथि-सत्कार गर्ने स्थानीय साक्षीहरूको घरमा बस्ने प्रबन्ध मिलाइन्छ।

शाखाबाट टाढा छायाङ्‌कन गर्न चुनौतीपूर्ण हुन्छ

 वास्तविक ठाउँमै गएर छायाङ्‌कन गर्दा धेरै समय लाग्न सक्छ र खर्च पनि निकै हुन सक्छ। साथै भाइबहिनीको लागि पनि यो थकाइलाग्दो हुन सक्छ। त्यसैले सन्‌ २०२३ मा परिचालक निकायले २५ लाख अमेरिकी डलर पर्ने भिडियो वाल किन्‍न स्विकृति दियो। भिडियो वालको विशेषता भनेको यसको स्क्रिनमा देखाइने विभिन्‍न दृश्‍यहरू स्पष्ट र गुणस्तरीय हुन्छन्‌, जसले गर्दा कलाकारहरू वास्तविक ठाउँमै गएर छायाङ्‌कन गरेको जस्तो देखिन्छ। नतिजास्वरूप, शाखाबाट टाढा गएर त्यति सुटिङ्‌ग गर्नु नपरेकोले खर्च पनि निकै कम भएको छ। अस्ट्रेलेजिया शाखा समितिका एक सदस्य डेरेन यसो भन्छन्‌, “भिडियो वालको प्रयोगले गर्दा कलाकारलाई थकाइ कम लाग्ने भएकोले आवश्‍यक परेमा एउटै दृश्‍य थुप्रै पटक छायाङ्‌कन गर्न सकिन्छ। उदाहरणको लागि, बाहिर छायाङ्‌कन गर्दा घाम डुबेको दृश्‍यलाई भिडियोमा समेट्‌न हामीसित थोरै समय मात्र हुन्थ्यो। तर अहिले भिडियो वाल भएकोले चित्तबुझ्दो दृश्‍य कैद नगरेसम्म बारम्बार घाम डुबेको दृश्‍यमा छायाङ्‌कन गरिरहन सक्छौँ।”

छायाङ्‌कन गर्नुअगाडि नयाँ भिडियो वाललाई जाँच्दै र मिलाउँदै

“मैले कुनै त्याग गर्नुपरेको जस्तो पटक्कै लाग्दैन”

 येसुको जीवन र सेवाको कथा शृङ्‌खलाको प्रत्येक एपिसोड तयार पार्न भिडियो नाटक टोलीमा अझ धेरै भाइबहिनी र सयौँ कलाकारको आवश्‍यकता छ। अरू भाइबहिनीले गरेको मेहनत देख्दा ती कलाकार अनि पूरै टोलीले कस्तो महसुस गरे?

 यस परियोजनामा भाग लिन आफ्नो घर मेलबर्नबाट ७०० कि.मी भन्दा लामो यात्रा गरेकी एक बहिनी एम्बर यसो भन्छिन्‌, “एयरपोर्टमा पुगेदेखि नै बेथेलका भाइबहिनीहरूले मेरो राम्ररी ख्याल राख्नुभयो। थुप्रै बेथेल सेवकले मलाई खाना अनि चिया-नास्ताको लागि बोलाउनुभयो। सेटमा सबैले मलाई माया गर्नुहुन्थ्यो अनि मसित राम्रो व्यवहार गर्नुहुन्थ्यो। यस परियोजनामा काम गर्दा मैले थुप्रै आशिष्‌ पाएको महसुस गरेकी छु। मैले कुनै त्याग गर्नुपरेको जस्तो पटक्कै लाग्दैन।”

 डेरेक प्रोडक्सन टिमसित काम गर्छन्‌। तिनी भन्छन्‌, “यो परियोजना सुरु भएको समयदेखि नै हामीलाई थुप्रै विभागका भाइबहिनीले मदत गरे। यस परियोजनाको लागि आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्चेका भाइबहिनीप्रति म साँच्चै कृतज्ञ छु। तिनीहरू अरूलाई तुरुन्तै सहयोग गर्छन्‌, दयालु छन्‌ अनि जोसिलो भई यहोवाको सेवा गर्छन्‌। यहोवाले हामी सबैलाई आशिष्‌ दिनुभएको कुरा स्पष्ट छ। म यो कुरामा विश्‍वस्त छु: यहोवा हाम्रो कामको नतिजा कस्तो भयो भनेर मात्र ध्यान दिनुहुन्‍न बरु त्यो काम कसरी पूरा भयो भनेर याद गर्नुहुन्छ।”

 यो भिडियो शृङ्‌खला बनाउन तपाईँहरूले donate.pr418.com लगायत अरू माध्यमद्वारा दिनुभएको अनुदानको लागि धेरै धन्यवाद!

a अस्ट्रेलेजिया शाखाले थुप्रै देशमा भइरहेको कामको निरीक्षण गर्छ, जसमा अस्ट्रेलिया र प्रशान्त महासागरको दक्षिणी भागका केही देशहरू पर्छन्‌। यो शाखा अस्ट्रेलियाको सिड्‌नी सहर नजिकै पर्छ।