सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

राम्ररी ‘सुन्‍न अनि देख्न’ पाएका अधिवेशन कार्यक्रमहरू

राम्ररी ‘सुन्‍न अनि देख्न’ पाएका अधिवेशन कार्यक्रमहरू

जुलाई १, २०२४

 यहोवाका साक्षीहरू विगत १३० वर्षभन्दा लामो समयदेखि हरेक वर्ष हुने अधिवेशनको लागि एकसाथ भेला हुँदै आएका छन्‌। यी कार्यक्रमहरूमा ४० भन्दा धेरै भाषण, गीत, अन्तरवार्ता र भिडियो समावेश छन्‌। कार्यक्रममा उपस्थित हुनेहरूले त्यसबाट पूरापूर लाभ उठाउन सम्पूर्ण कार्यक्रम राम्ररी ‘सुन्‍न अनि देख्न’ सक्नुपर्छ। (लुका २:२०) तपाईँहरूले दिनुहुने अनुदान यस्ता अधिवेशनहरूमा पनि प्रयोग गरिन्छ, जसले गर्दा सबैले लाभ उठाउन सक्छन्‌। तर कसरी?

ठाउँअनुसार अडियो-भिडियो उपकरणहरू जडान गर्ने

 पश्‍चिमी मुलुकका थुप्रै रङ्‌गशाला र हलमा अडियो-भिडियोको प्रबन्ध पहिल्यै गरिएको हुन्छ। त्यसोभए हामीले यी हलहरूमा अधिवेशन आयोजना गर्दा किन आफ्नै उपकरणहरू जडान गर्छौँ? विश्‍व मुख्यालय ब्रोडकास्टिङ विभागमा काम गर्ने भाइ डेभिड यसो भन्छन्‌, “हाम्रा कार्यक्रमहरूमा प्रायजसो भाषण हुने भएकोले श्रोताहरूले ६ घण्टाभन्दा लामो समय ध्यान दिएर सुन्‍नुपर्ने हुन्छ। अनि यस्ता कार्यक्रमहरूको लागि भनेर बनाइएका हल वा रङ्‌गशाला कमै हुन्छन्‌। उदाहरणको लागि, खेलकुद आयोजना गर्दा छोटो घोषणा गर्न अनि धुन बजाउनको लागि मात्र माइक र स्पिकर प्रयोग गरिन्छ। त्यहाँ भएको स्क्रिन पनि खेलको अङ्‌क, विज्ञापन र खेलका केही दृश्‍यहरू फेरि देखाउनको लागि मात्र प्रयोग गरिन्छ। तर अधिवेशनहरूमा दिइने भाषणहरू र देखाइने भिडियोहरू भने अलि लामा हुन्छन्‌। त्यसैले श्रोताहरूले पूरै कार्यक्रम राम्ररी देख्न, सुन्‍न र बुझ्न सकोस्‌ भन्‍ने हामी चाहन्छौँ।”

 अधिवेशन आयोजना गर्ने हरेक ठाउँ फरक-फरक हुने भएकोले त्यसैअनुसार अडियो-भिडियो सामग्री जडान गर्नुपर्ने हुन्छ। अधिवेशन हुने ठाउँ छानिएपछि शाखा कार्यालयको ब्रोडकास्टिङ विभागले अधिवेशनको उपस्थिति कति हुनेछ र त्यस ठाउँको क्षमता कति छ भनेर पत्ता लगाउँछ। त्यसपछि भाइहरूले हलमा स्पिकरहरू र भिडियो स्क्रिनहरू कुन ठाउँमा राख्ने अनि सबैलाई कसरी जोड्‌ने भनेर एउटा नक्सा तयार पार्नुहुन्छ। अनि सबै भाइबहिनीले कार्यक्रम राम्ररी देख्न र सुन्‍न पाओस्‌ भनेर कुन-कुन उपकरण कति वटा चाहिन्छ, त्यसको सूची पनि बनाउनुहुन्छ।

स्थानीय ब्रोडकास्टिङ विभागका भाइहरूले ध्यानपूर्वक नक्साबमोजिम काम गर्दै छन्‌

 एक भन्दा बढी भाषामा अधिवेशनहरू हुने ठाउँमा अझ उच्च स्तरको अडियो-भिडियो सिस्टम राख्नुपर्ने हुन्छ। किन? किनभने वक्‍ताले भाषण दिन सुरु गरेपछि पहिले त्यसलाई फरक-फरक भाषाको दोभासेहरू कहाँ पुऱ्‍याउनुपर्छ अनि दोभासेहरूले त्यो भाषण अनुवाद गर्छन्‌। त्यसपछि भाषणलाई फरक-फरक रेडियो च्यानलमा प्रसारण गरिन्छ। यसो गर्दा सबै श्रोताहरूले आ-आफ्नो भाषामा कार्यक्रम सुन्‍न सक्छन्‌। साथै एउटा विशेष प्रकारको मिडिया प्लेयरको कारण हरेक भिडियो उपस्थित सबै श्रोतालाई एकैचोटि देखाउन सकिन्छ, चाहे त्यसको अडियो आठ वटा फरक-फरक भाषामा नै किन नहोस्‌। डेभिड यसो भन्छन्‌, “यी सिस्टमहरू एकदमै जटिल भएकाले यसलाई चलाउन स्वयंसेवकहरूलाई राम्रो तालिम दिनुपर्छ।”

 धेरैजसो शाखा कार्यालयहरूमा प्रशस्त अडियो-भिडियो सामग्रीहरू उपलब्ध छन्‌, जसलाई शाखा कार्यालयहरूले हरेक वर्ष प्रयोग गर्छन्‌। अनि जुन शाखा कार्यालयहरूमा यी सामग्रीहरू उपलब्ध छन्‌, त्यहाँका भाइहरूले त्यसलाई एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्म लैजाने प्रबन्ध मिलाउनुहुन्छ। यी सामग्रीहरूको ढुवानी गर्न अमेरिकी शाखाले मात्र प्रत्येक वर्ष दुई लाख अमेरिकी डलर खर्च गर्ने गर्छ। तैपनि यो रकम नयाँ उपकरण किन्‍ने र त्यसको हेरचाह गर्ने खर्च भन्दा निकै कम हो। क्यानाडाको अधिवेशनको अडियो-भिडियो विभागमा सेवा गर्ने स्टिभन भाइ यसो भन्छन्‌, “हाम्रो अडियो-भिडियो विभागका भाइबहिनीहरूले यहाँ प्रयोग हुने हरेक सामान जस्तै: पेच, बोल्ट, तार र एक-एक पार्टपुर्जाको राम्ररी हिसाब राख्छन्‌। तिनीहरू सबै सामान होसियारीपूर्वक प्रयोग गर्छन्‌ अनि काम सकिएपछि त्यसलाई राम्रोसँग प्याक गरेर अर्को अधिवेशनको लागि तयार पार्छन्‌।”

अडियो-भिडियो उपकरणहरूको किनमेल र हेरचाह

 अडियो-भिडियो उपकरणहरू भाडामा लिनु एकदमै महङ्‌गो हुन्छ। यस्ता सामग्रीहरू प्रायः गुणस्तरीय हुँदैनन्‌ र राम्रो अवस्थामा राखिएका पनि हुँदैनन्‌। त्यसैले हामी चाहिने उपकरणहरू अक्सर किन्‍ने गर्छौँ। अहिले ५x३ मिटरको एउटा एल.ई.डी. भिडियो वाललाई करिब २४ हजार अमेरिकी डलर पर्न आउँछ अनि एउटा माइकलाई चाहिने १५ मिटर तारलाई करिब २० डलर पर्न आउँछ। त्यसैले कुनै पनि उपकरण किन्‍नुअगाडि ब्रोडकास्टिङ विभागले किनमेल विभागसित मिलेर ‘खर्चको हिसाब’ गर्छ। (लुका १४:२८) उहाँहरूले थुप्रै कुरा विचार गर्नुहुन्छ। जस्तै, यो उपकरणले कति जनालाई फाइदा पुऱ्‍याउँछ? के यो किन्‍नु जरुरी छ? यसलाई राख्ने उपयुक्‍त ठाउँ छ? यसको हेरविचार गर्न चाहिने औजार र तालिमप्राप्त स्वयंसेवकहरू हामीसित छन्‌?

 अडियो-भिडियोका उपकरणहरू लामो समयसम्म टिकोस्‌ र नयाँ किन्‍न नपरोस्‌ भनेर हामी समयसमयमा सबै उपकरणहरू राम्ररी मर्मत गर्छौँ। यसले गर्दा भाइबहिनीहरूले दिनुभएको अनुदानको पनि सदुपयोग हुन्छ। त्यति मात्र होइन, ती सामानहरूलाई एक ठाउँबाट अर्कौ ठाउँमा लैजाँदा कुनै नोक्सान नहोस्‌ भनेर बलियो बाकसमा राम्रोसँग प्याक गर्छौँ र हामी ती बाकसहरूलाई पनि बेलाबेलामा मर्मत गर्छौँ।

अडियो-भिडियोका उपकरणहरू लामो समयसम्म टिकाउन हेरविचार र मर्मत गरिन्छ

अरूले राम्रो साक्षी पाएको गुणस्तरीय कार्यक्रम

 हाम्रो अधिवेशनको अडियो-भिडियोको गुणस्तर देखेर गैर-साक्षीहरू छक्क पर्छन्‌। जस्तै, एउटा प्रख्यात रेडियो र टेलिभिजन कम्पनीको कर्मचारीलाई पनि हाम्रो अधिवेशनमा उपस्थित हुँदा त्यस्तै लागेको थियो। यसबारे भाइ जोनाथन यसो भन्छन्‌, “यहाँ काम गर्ने भाइबहिनीहरूले कुनै तालिम पाउनुभएको छैन बरु उहाँहरू स्वयंसेवकहरू हुनुहुन्छ भनेर थाह पाउँदा तिनी छक्क परे। हामीले डेढ दिनमा सिद्ध्याएको काम तिनको कम्पनीलाई भने सिद्ध्याउन पाँच दिन लाग्ने रहेछ।” अधिवेशन आयोजना गरिएको अर्को ठाउँको म्यानेजर यसो भन्छन्‌, “यहाँ सङ्‌गीत र भिडियो क्षेत्रमा राम्रो नाम कमाएकाहरू थुप्रै आएका छन्‌ तर तपाईँहरू जस्तो गुणस्तरीय काम गर्नेहरू मैले अहिलेसम्म देखेको छैन।”

भाइबहिनीहरू कार्यक्रमबाट लाभ उठाउँदै छन्‌

 अधिवेशनमा राखिएको अडियो-भिडियो सिस्टमले तपाईँलाई कस्तो फाइदा पुऱ्‍याएको छ? तपाईँले पनि बेलायतमा बस्ने डेभिडले जस्तै महसुस गर्नुभयो होला। तिनी भन्छन्‌, “म अहिले ८८ वर्षको भएँ र जीवनमा थुप्रै अधिवेशन गएको छु। तर कार्यक्रमहरूमा ध्यान दिन मलाई पहिलेभन्दा पनि अहिले धेरै सजिलो भएको छ। अधिवेशनमा यत्ति राम्रा भिडियोहरू देखाइन्छन्‌ कि पुरै अधिवेशन कति खेर सकियो, पत्तै हुँदैन। अनि अधिवेशनमा दिइने भाषणहरू पनि मज्जाले व्याख्या गरिन्छ।” नाइजेरियामा बस्ने माइकल यसो भन्छन्‌, “अहिले हाम्रा भाइबहिनीहरूले अधिवेशनमा वक्‍ताहरूले दिनुभएको भाषण राम्ररी सुन्‍न र भिडियोहरू हेर्न सक्छन्‌। अनि कुनै कुराले ध्यान नखलबलाउने भएकोले तिनीहरूले कार्यक्रमबाट पूरापूर लाभ उठाउन सकेका छन्‌।”

 तपाईँहरू यो वर्षको ‘सुसमाचार सुनाउनुहोस्‌!’ भन्‍ने विषयको अधिवेशनमा उपस्थित हुनुहुँदा त्यहाँको कार्यक्रम राम्ररी हेर्न र सुन्‍न सकियोस्‌ भनेर भाइबहिनीहरूले के-कस्ता काम गर्नुभएको छ, एकछिन विचार गर्नुहोस्‌। तपाईँहरूले donate.pr418.com लगायत विभिन्‍न माध्यमहरूबाट दिनुभएको अनुदानहरूले गर्दा नै यो सम्भव भएको हो। तपाईँहरूलाई धेरै-धेरै धन्यवाद!