सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

लाखौँ मानिसहरूलाई फाइदा पुऱ्‍याइरहेका अनुवाद कार्यालयहरू

लाखौँ मानिसहरूलाई फाइदा पुऱ्‍याइरहेका अनुवाद कार्यालयहरू

मार्च १, २०२१

 साठी प्रतिशतभन्दा बढी हाम्रा पूर्ण-समय अनुवाद टोलीहरू शाखा कार्यालयमा नभई अनुवाद कार्यालयहरूमा (RTO) सेवा गर्ने गर्छन्‌। यो प्रबन्ध किन लाभदायी छ? अनुवाद कार्यालयमा सेवा गर्ने अनुवादकहरूलाई प्रभावकारी रूपमा काम गर्न कस्ता साधनहरू चाहिन्छ? अनि अनुवाद टोलीलाई खटाइएको ठाउँले तिनीहरूको अनुवादको गुणस्तरलाई कस्तो असर गर्छ?

 अनुवाद कार्यालयहरूको प्रबन्धले गर्दा अनुवादकहरू आफूले जुन भाषामा अनुवाद गर्नुपर्ने हो, त्यही भाषा बोलिने इलाकामा बस्न सम्भव भएको छ। लो जर्मन भाषाका अनुवादक करिन यसो भन्छिन्‌: “हामीलाई मेक्सिकोको चिवावाको क्वाटेमोक भन्‍ने ठाउँको अनुवाद कार्यालयमा खटाइएकोले हामी आफ्ना सहकर्मीहरू र इलाकाका मानिसहरूसित कुराकानी गर्दा अनि बजारमा किनमेल गर्न जाँदा हामीले सधैँ लो जर्मन भाषा बोल्ने मौका पाएका छौँ। हामी यही भाषा बोल्ने मानिसहरूको बीचमा बसिरहेका छौँ। हामीले लामो समयदेखि सुन्‍न नपाएका आलङ्‌कारिक अभिव्यक्‍तिहरू अहिले सुन्‍न पाएका छौँ अनि मानिसहरूले प्रयोग गर्ने शब्दहरू हामी सिक्ने प्रयास गरिरहन्छौँ।”

 शाखा कार्यालयमा बेथेल परिवारसँग सङ्‌गत गर्न नपाउँदा घानाको फ्राफ्रा अनुवाद कार्यालयमा सेवा गर्ने जेम्स कहिलेकाहीँ न्यास्रो महसुस गर्छन्‌। तर तिनी यसो भन्छन्‌: “अनुवाद कार्यालयमा सेवा गर्न मलाई मन पर्छ। स्थानीय भाषामा मानिसहरूलाई साक्षी दिँदा तिनीहरूले सुसमाचारप्रति देखाउने प्रतिक्रियाले मेरो मन छुन्छ।”

 कुन ठाउँमा अनुवाद कार्यालय स्थापना गर्ने भनेर कसरी निर्णय गरिन्छ? अमेरिकाको न्यु योर्कको वारविकमा विश्‍वव्यापी डिजाइन/निर्माण विभागमा सेवा गर्ने एक भाइ जोसेफ यसो भन्छन्‌: “हामीले सामना गर्ने एउटा चुनौती भनेको धेरैजसो ठाउँहरूमा बिजुली वा पानी वा अनुवाद गर्नुपर्ने फाइलहरू डाउनलोड गर्न इन्टरनेटको भरपर्दो सुविधा छैन। त्यसैले अनुवाद कार्यालय स्थापना गर्ने निर्णय गर्नुअघि हामी सम्बन्धित भाषा बोलिने एउटा ठाउँ मात्र नभई थुप्रै ठाउँहरू विचार गर्ने गर्छौँ।”

 साँच्चै भन्‍ने हो भने, सम्मेलन भवन, सभाभवन वा मिसनरी होममा अनुवादकहरूको लागि सबैभन्दा कम समय र खर्चमा अनुवाद कार्यालय स्थापना गर्न सकिन्छ। यदि त्यस्तो कुनै भवन छैन भने भाइहरूले अनुवादकहरूको लागि बस्न र काम गर्नको लागि अपार्टमेन्ट किन्‍न अनुमति पाउन सक्छन्‌। अनुवाद टोलीहरू थप्नु वा घटाउनु परेमा यी अपार्टमेन्टहरूलाई बेचेर आएको पैसा आवश्‍यक क्षेत्रमा प्रयोग गर्न सकिन्छ।

सेवा गरिरहन सुसज्जित

 सेवा वर्ष २०२० को दौडान अनुवाद कार्यालयहरूको रेखदेख गर्न हामीले १ करोड ३० लाख अमेरिकी डलर (१ अरब ५० करोड ७३ लाख ९८ हजार नेपाली रुपैयाँ) खर्च गऱ्‍यौँ। अनुवाद कार्यालयमा सेवा गर्ने अनुवादकहरूलाई कम्प्युटर, विशेष किसिमको सफ्टवेयर, रेकर्डिङ साधन, इन्टरनेट र आधारभूत सुविधाहरू चाहिन्छ। उदाहरणको लागि, एक जना अनुवादकको लागि एउटा कम्प्युटर सेटअप गर्न कम्तीमा ७५० अमेरिकी डलर (८६ हजार ९ सय नेपाली रुपैयाँ) खर्च लाग्छ। कम्प्युटरहरूमा व्यावसायिक सफ्टवेयरको साथै वाचटावर ट्रान्सलेसन सिस्टम सफ्टवेयर पनि इन्सटल गरिन्छ, जुन सफ्टवेयरको मदतले अनुवादकहरूले व्यवस्थित रूपमा काम गर्न र सजिलै सम्बन्धित स्रोतसामग्रीहरू हेर्न सक्छन्‌।

 अनुवादकहरूलाई अफिसमा आवाज रेकर्ड गर्नको लागि रेकर्डिङ साधनहरू पनि उपलब्ध गराइएको छ। ती साधनहरू कोभिड-१९ महामारीको समयमा प्रभावकारी साबित भएका छन्‌। धेरै अनुवादकहरूले ती साधनहरू प्रयोग गरेर अनुवाद भइसकेका लिखित सामग्रीहरू र भिडियोहरू घरबाटै रेकर्डिङ गर्न सकिरहेका छन्‌।

 स्थानीय स्वयंसेवकहरूले अनुवाद भएका प्रकाशनहरू पढेर सल्लाह-सुझाव पठाउनुको साथै अनुवाद कार्यालयको मर्मतसम्भार गरेर सहयोग गर्छन्‌। दक्षिण अफ्रिकाको केप टाउनमा अफ्रिकान्स अनुवाद कार्यालयमा सेवा गर्ने कर्स्टिन यसो भन्छन्‌: “धेरै प्रकाशकहरू र नियमित अग्रगामीहरूले यहाँ आफ्नो क्षमता सदुपयोग गर्ने मौका पाएका छन्‌।”

 ती स्वयंसेवकहरूले विभिन्‍न सुअवसरहरूको आनन्द उठाउन सकेका छन्‌। अनुवाद कार्यालयमा मदत गर्ने एक जना बहिनीले त्यहाँ सेवा गर्दा “स्फूर्ति र आनन्द” पाइन्छ भनेर बताइन्‌। केही स्थानीय भाइबहिनीहरूले अडियो रेकर्डिङमा आफ्नो आवाज दिन पाएका छन्‌। मेक्सिकोको भेराक्रुज प्रान्तकी एक जना तोतोनक अनुवादक ह्वाना यसो भन्छिन्‌: “अहिले हामी हाम्रो भाषा बोलिने सहरनजिकै बस्छौँ। त्यसैले अडियो र भिडियोहरूमा आवाज रेकर्डिङको लागि धेरै भाइबहिनीहरूको मदत लिन सकेका छौँ।”

 तर के अनुवाद कार्यालयहरूले अनुवादलाई गुणस्तरीय बनाउन सकेका छन्‌? छन्‌। हाम्रा लाखौँ पाठकहरू यस कुरामा सहमत छन्‌। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कंगो अनुवाद टोलीमा सेवा गर्ने सेड्रिक यसो भन्छन्‌: “केही भाइबहिनीहरू सङ्‌गठनका प्रकाशनहरू बेग्लै भाषाशैलीमा अनुवाद भइरहेको छ भनेर टिप्पणी गर्ने गर्थे। किनभने यो भाषाशैली स्थानीय इलाकामा बोलिने कंगो भाषाभन्दा फरक थियो। तर अहिले आएर सङ्‌गठनका प्रकाशनहरू बोलीचालीमा प्रयोग भइरहेकै आधुनिक कंगो भाषामा अनुवाद भइरहेका छन्‌ भनेर तिनीहरू बताउने गर्छन्‌।”

 दक्षिण अफ्रिकाको क्षोसा अनुवाद टोलीमा सेवा गर्ने एन्डिलेले पनि त्यस्तै प्रतिक्रिया पाएको कुरा यसरी बताउँछन्‌: “अनुवादमा केही परिवर्तन आएको छ भन्‍ने कुरा धेरै जनाले हामीलाई बताउने गर्छन्‌। अङ्‌ग्रेजी भाषाको प्रहरीधरहरा पढ्‌ने केटाकेटीहरूले समेत अहिले क्षोसा भाषामा पढ्‌न थालेका छन्‌। विशेषगरि तिनीहरूलाई नयाँ संसार अनुवाद-को संशोधित संस्करणमा चलाइएको बोलीचालीको भाषाशैली मन परेको छ।”

 अनुवाद कार्यालयहरू स्थापना गर्न, मर्मतसम्भार गर्न र यसमा सेवा गर्ने भाइबहिनीहरूको आवश्‍यकताको रेखदेख गर्न donate.pr418.com वेबसाइटलगायत अन्य माध्यमद्वारा विश्‍वव्यापी कार्यको लागि दिइएको स्वैच्छिक अनुदानको रकम प्रयोग गरिन्छ।