सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सन्‌ २०२२ मा राहतकार्य—कामद्वारा भातृप्रेम देखाउँदै

सन्‌ २०२२ मा राहतकार्य—कामद्वारा भातृप्रेम देखाउँदै

जनवरी १, २०२३

 हाम्रो समयमा युद्ध, भूकम्प, महामारी र “भयानक दृश्‍यहरू” देखा पर्नेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (लुका २१:१०, ११) सन्‌ २०२२ को सेवा वर्षको दौडान ती भविष्यसूचक शब्दहरू पूरा भएको हामीले देख्न सक्यौँ। a उदाहरणको लागि, युक्रेनमा युद्ध भइरहेकोले लाखौँ मानिसको जीवनमा असर पुग्यो। त्यतिबेला संसारका धेरैजसो ठाउँमा कोभिड-१९ महामारी पूर्णतया हटिसकेको थिएन। साथै थुप्रै मानिस प्राकृतिक प्रकोपको चपेटामा पनि परेका थिए। जस्तै: हाइटीमा गएको भूकम्प अनि मध्य अमेरिका, फिलिपिन्स र दक्षिणपूर्वी अफ्रिकामा आएको विनाशकारी आँधी। यहोवाका साक्षीहरूले प्रकोपको मारमा परेकाहरूलाई कसरी मदत गरे?

 सन्‌ २०२२ सेवा वर्षमा हाम्रो सङ्‌गठनले लगभग दुई सय वटा प्रकोपले गर्दा असर पुगेकाहरूलाई राहत दियो। हामीले राहतकार्यमा करिब १ करोड २० लाख अमेरिकी डलर खर्च गऱ्‍यौँ। अब हामी दुई वटा प्रकोपको मारमा परेकाहरूलाई मदत गर्न अनुदानको प्रयोग कसरी गरियो, विचार गरौँ।

हाइटीमा गएका भूकम्पहरू

 सन्‌ २०२१, अगस्त १४ को दिन दक्षिणी हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गयो। दुःखको कुरा, भूकम्पले गर्दा हाम्रा दुई बहिनी र एक भाइको ज्यान गुम्यो। तर त्यसबाट बच्न सफल भएका भाइबहिनीहरूले चाहिँ शारीरिक र भावनात्मक पीडाको सामना गर्नुपऱ्‍यो। स्टेफन नाम गरेका एक भाइ यसो भन्छन्‌: “सहरभरि यति धेरै मानिसले ज्यान गुमाए कि दुई महिनाभन्दा लामो समयसम्म हरेक हप्ता थुप्रै अन्त्येष्टि हुने गर्थ्यो।” अर्को भाइ एलिएजर यसो भन्छन्‌, “थुप्रै साक्षीहरूसँग घर, लत्ताकपडा, जुत्ता र अन्य आधारभूत कुराहरू थिएन। महिनौँसम्म भूकम्पका झट्‌काहरू आइरहेकोले उहाँहरू डरैडरमा बाँच्नुपरेको थियो।”

 हाम्रो सङ्‌गठनले मदतको लागि तुरुन्तै कदम चाल्यो। हाइटी शाखाले ५३ टनभन्दा बढी खानेकुराहरूको प्रबन्ध गऱ्‍यो। अनि पालहरू, तिरपालहरू, म्याट्रेसहरू र मोबाइलको लागि सोलार चार्जरहरू पनि वितरण गऱ्‍यो। साथै २०२२ सेवा वर्षमा एक सयभन्दा बढी घरहरू पुनर्निर्माण वा मर्मतसम्भार गरियो। त्यतिबेला राहतकार्यको लागि १० लाखभन्दा धेरै अमेरिकी डलर खर्च गरियो।

हाइटीमा खाद्यान्‍न वितरण गर्दै

 हाम्रा भाइबहिनीहरू राहतकार्यप्रति निकै कृतज्ञ छन्‌। लोरेट यसो भन्छिन्‌, “भूकम्पले हाम्रो घर र व्यापार-व्यवसायलाई ध्वस्त पाऱ्‍यो। हामीसँग खानको लागि केही पनि थिएन। तर यहोवाको सङ्‌गठनले सबै आवश्‍यक कुराको प्रबन्ध मिलाएर हामीलाई मदत गऱ्‍यो।” मिसेलिन यसो भन्छिन्‌, “भूकम्पले गर्दा हाम्रो घर भत्कियो। त्यतिबेला मदतको लागि प्रार्थना गर्ने कुराबाहेक मेरो दिमागमा अरू केही आएन। अनि यहोवाले सङ्‌गठनमार्फत मेरो प्रार्थनाको जवाफ पनि दिनुभयो। अहिले म र मेरा दुई छोरा बस्नको लागि बलियो घर छ। यहोवाप्रतिको कृतज्ञता व्यक्‍त गर्न म आफ्नो तर्फबाट यथासक्दो गर्न चाहन्छु।”

 स्थानीय अधिकारीहरूले समेत हाम्रो राहतकार्यलाई याद गरे। लाजिलको सभागृहका अध्यक्षले यसो भने, “तपाईँहरू मदत गर्न तुरुन्तै आउनुभएकोमा धेरै धन्यवाद! तपाईँहरूले स्थानीय अधिकारीहरूप्रति देखाउनुभएको आदर पनि प्रशंसनीय छ। तपाईँहरू पैसाको लागि नभई मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर मदत गर्नुभएको देख्दा मलाई खुसी लाग्यो।”

मलावी र मोजाम्बिकमा आएको आना नामक समुद्री आँधी

 सन्‌ २०२२, जनवरी २४ मा मोजाम्बिक र पश्‍चिमी मलावीमा आना नामक समुद्री आँधी आयो। त्यस आँधीले गर्दा भारी वर्षा हुनुका साथै प्रति घण्टा १०० किलोमिटरको गतिमा हुरीबतास चल्यो। अनि विभिन्‍न क्षति पनि भयो, जस्तै: बिजुलीका पोलहरू ढले, पुलहरू क्षतिग्रस्त भए र ठूलो बाढी पनि आयो।

 यस आँधीबाट मलावी र मोजाम्बिकमा बस्ने ३० हजारभन्दा धेरै साक्षी प्रभावित भए। राहतकार्यमा भाग लिएका एक भाइ चार्ल्स यसो भन्छन्‌, “भाइबहिनीले भोगिरहनुभएको दुःख देख्दा मलाई असाध्यै पीडा भयो। उहाँहरूले गुमाउनुभएको कुरा सोच्दा मेरो मुटु नै छियाछिया भयो।” बाढीले भाइबहिनीहरूको सबै खाद्यान्‍न र बाली बगाएर लग्यो। धेरैले आफ्नो घर पनि गुमाए। दुःखको कुरा, उद्धारको क्रममा डुङ्‌गा पल्टिएकोले एक भाइको पत्नी र दुई साना छोरीहरूको ज्यान गुम्यो।

मोजाम्बिकमा एक साक्षी दम्पतीको क्षतिग्रस्त घर

पुनर्निर्माण गरिएको घर

 आँधी एकदमै भयानक थियो। मलावीको एन्सेलोका सेन्गेरेडो परिवारले राती १ बजे उर्लिरहेको पानीको डरलाग्दो आवाज सुने। त्यतिबेला दुई वटा नदीमा बाढी आइसकेको थियो। त्यसैले भाइ सेन्गेरेडोले पूरै परिवार लिएर घरबाट भाग्ने निर्णय गरे। तिनले त्यसो गर्नु बुद्धिमानी थियो। किनभने केही समय नबित्दै बाढीले तिनको घर बगाएर लगिहाल्यो। तिनका केही सरसामानहरू नष्ट भए र केहीलाई भने बाढीले बगायो। त्यस्तो गाह्रो अवस्थामा पनि पूरै परिवारले सभाभवनमा जाने निर्णय गरे। त्यहाँसम्म पुग्न तिनीहरूलाई आफू बस्ने ठाउँबाट करिब ३० मिनेट लाग्थ्यो। तर यसपालि भने तिनीहरूलाई दुई घण्टा लाग्यो। तिनीहरू सभाभवनमा पुग्दा निथ्रुक्कै भिजेका अनि निकै थाकेका थिए। तर तिनीहरू सुरक्षितसाथ त्यहाँ पुग्न सके।

 मलावी र मोजाम्बिक शाखाले तुरुन्तै राहतकार्य सुरु गऱ्‍यो। प्रकोपको मारमा परेका भाइबहिनीहरूको अवस्था बुझ्न अनि आध्यात्मिक र भावनात्मक रूपमा मदत दिन शाखाले क्षेत्रीय निरीक्षकहरू र एल्डरहरूलाई निर्देशन दियो। थुप्रै प्रकोप राहत समितिलाई राहतकार्यको निरीक्षण गर्ने जिम्मेवारी दिइयो। यस समितिले भाइबहिनीलाई खानेकुरा र अन्य आवश्‍यक कुराहरू तुरुन्तै उपलब्ध गरायो। भाइबहिनीहरूलाई मदत गर्न ३३ हजारभन्दा बढी अमेरिकी डलर खर्च गरियो। साथै घरहरू पुनर्निर्माण र मर्मत गर्न भने ३ लाखभन्दा बढी अमेरिकी डलर खर्च भयो।

 राहत समितिले बुद्धिमानीपूर्वक अनुदानको प्रयोग गऱ्‍यो। बढ्‌दो महङ्‌गीको कारण त्यसो गर्नु झनै महत्त्वपूर्ण थियो। उदाहरणको लागि, राहतकार्यको सुरुका सात महिनामा मकैको पीठोजस्तो साधारण खानेकुराको मूल्यमा समेत लगभग ७० प्रतिशतले वृद्धि भयो। इन्धनको भाउ पनि बढ्यो। भाइहरूले अनुदानको बचत गर्न स्थानीय तवरमै खाद्यान्‍न र निर्माण सामग्रीहरू किने। साथै ती सामग्रीहरू एकै चोटि धेरै मात्रामा खरिद गरियो, जसले गर्दा भाइहरूले मूल्यमा छुट पाए र ढुवानी खर्च पनि कम भयो।

 राहतकार्यले भाइबहिनीहरूको निकै मन छोयो। मोजाम्बिकमा बस्ने एक भाइ फेलिस्बर्टो यसो भन्छन्‌, “यति धेरै कुराको प्रबन्ध गर्ने सङ्‌गठन मैले अहिलेसम्म देखेकै छैन। यहोवाको सङ्‌गठनले निर्माण सामग्री तथा स्वयम्‌सेवकहरू, यातायात, खानेकुरा अनि मायालु डोऱ्‍याइको प्रबन्ध मिलायो। यो राहतकार्य येसुले युहन्‍ना १३:३४, ३५ मा बताउनुभएको प्रेमको उल्लेखनीय प्रमाण थियो।” मलावीकी एक विधवा बहिनी एस्तरको घर क्षतिग्रस्त भयो। तिनी यसो भन्छिन्‌, “अर्को घर बनाउन पुग्दो पैसा नभएकोले म निराश थिएँ। तर भाइबहिनीहरूले मेरो लागि घर बनाइदिनुभएपछि भने मलाई आफू प्रमोदवनमा पुगिसकेको जस्तो महसुस भयो।”

 प्रतिज्ञा गरिएको नयाँ संसार जति नजिकिँदै जान्छ, हामीले त्यति नै प्रकोपहरूको सामना गर्नुपर्नेछ। (मत्ति २४:७, ८) तपाईँहरूले उदार भई दिनुभएको अनुदानले गर्दा यहोवाका सेवकहरूले आवश्‍यक राहत पाउनेछन्‌ भन्‍ने कुरामा हामी ढुक्क छौँ। अनुदान दिने तरिकाबारे donate.pr418.com मा बताइएको छ। तपाईँहरूको उदारताको लागि धेरै धन्यवाद!

a सेवा वर्ष २०२२ सेप्टेम्बर १, २०२१ मा सुरु भयो र अगस्त ३१, २०२२ मा अन्त भयो।