सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बायाँ: चिलीमा विनाशकारी डढेलोले क्षति पुऱ्‍याएको एक दम्पतीको घर स्वयंसेवकहरूले मर्मत गरिदिएका छन्‌। दायाँ: भयानक बाढी आएपछि नाइजेरियाका दुई बहिनीले राहत सामग्री पाए

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सन्‌ २०२३ मा राहतकार्य—“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”

सन्‌ २०२३ मा राहतकार्य—“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”

जनवरी २६, सन्‌ २०२४

 बाइबलमा “राज्यको विरुद्ध राज्य उठ्‌नेछ” र “यस युगको आखिरी” समयमा भयानक विपत्तिहरू जानेछ भनेर भविष्यवाणी गरिएको थियो। (मत्ति २४:३,) सन्‌ २०२३ सेवा वर्षको दौडान यी भविष्यवाणीहरू पूरा भएको हामी आफैले देख्यौँ। a साथै युद्ध र प्राकृतिक प्रकोपले गर्दा झन्डै १०० वटा मुलुकहरूमा नराम्रो असर पुग्यो। त्यस्तो गाह्रो अवस्थामा पनि यहोवाका साक्षीहरूले उहाँको अनुकरण गर्दै कसरी अरूलाई प्रेम देखाउन सके?

 सन्‌ २०२३ सेवा वर्षको दौडान हाम्रा भाइबहिनीहरूले २०० भन्दा धेरै मानवीय वा प्राकृतिक विपत्तिको सामना गर्नुपऱ्‍यो। यहोवाका साक्षीहरूको विभिन्‍न संस्थाले विश्‍वव्यापी कार्यको लागि खसालिएको अनुदानबाट राहतको लागि १ करोड अमेरिकी डलर खर्च गऱ्‍यो। साथै भाइबहिनीहरूले राहतकार्यमा सघाउन व्यक्‍तिगत रूपमा आर्थिक मदत पनि गरे। तपाईँले दिनुभएको अनुदान प्रकोपको मारमा परेका भाइबहिनीहरूलाई मदत गर्न कसरी प्रयोग गरिन्छ? दुई वटा उदाहरण विचार गरौँ।

“साँचो प्रेम अझै अस्तित्वमा छ”

 नाइजेरियाको केही भूभागमा भारी वर्षाको कारण वर्षैपिच्छे बाढी जाने गर्छ। तर विगत १० वर्षमा गएका बाढीहरूमध्ये सन्‌ २०२२ अक्टोबरमा गएको बाढी एकदमै भयानक थियो। बाढीले गर्दा १६ लाख ७० हजार ४ सय ३२ एकड उर्वर जमिन तहसनहस भयो र २० लाखभन्दा धेरै मानिस विस्थापित भए। नाइजेरिया शाखाले भाइबहिनीलाई राहत प्रदान गर्न र आध्यात्मिक मदत दिन तुरुन्तै प्रकोप राहत समिति गठन गऱ्‍यो।

नाइजेरियामा भाइहरू राहत पुऱ्‍याउन हिलाम्मे बाटो र नदी हुँदै गए

भाइबहिनीहरूमा पुगेको असर

  •   ७,५०५ जना प्रकाशकहरू विस्थापित भए

  •   ८६० वटा घर क्षतिग्रस्त वा तहसनहस भए

  •   ९० वटा सभाभवनहरू र एउटा सम्मेलन भवन जलमग्न भए

अनुदानको प्रयोग

 राहतकार्यको लागि २ लाख ५० हजार अमेरिकी डलरभन्दा धेरै रकम खर्च गरियो। यसमा निम्न कुरा समावेश छन्‌:

  •   खाद्यान्‍न सामग्रीहरू। जस्तै: चामल, गेडागुडी र चाउचाउ

  •   घरमा चाहिने सामानहरू। जस्तै: डसना र झुल

  •   क्षतिग्रस्त घरहरू मर्मत वा पुनर्निर्माण गर्न

 भाइहरूले अनुदानको सदुपयोग भइरहेको छ कि छैन भनेर कसरी पक्का गर्छन्‌? सुरुमा भाइहरूले भवनको मर्मत गर्न सकिन्छ कि सकिँदैन, राम्ररी जाँच्छन्‌। अनि कुनै ठाउँमा नयाँ भवन बनाउनु परेमा स्थानीय तरिकाअनुसारै साधारण डिजाइनको भवन निर्माण गरिन्छ।

 हाम्रा भाइबहिनीहरूले समयमै मदत पाएकोले निकै कृतज्ञ भएका छन्‌। एक बहिनी भन्छिन्‌, “बाढीले गर्दा हाम्रो जीवन तहसनहस भयो। हाम्रो खेतीपाती बाढीले बगायो अनि हामी घरबारविहिन भयौँ। तर भाइबहिनीहरू त्यही दिन हामीलाई मदत गर्न आउनुभयो र बसोबासको प्रबन्ध मिलाइदिनुभयो। साथै शाखा कार्यालयबाट पठाइएको खानेकुरा पाउँदा हाम्रो ठूलो चिन्ता टरेझैँ भयो। हामीले युहन्‍ना १३:३४, ३५ मा गरिएको भविष्यवाणी आफैले अनुभव गर्न पाउँदा अचम्म लाग्यो। साँचो प्रेम अझै अस्तित्वमा छ। हाम्रो आलो घाउमा मलहम लगाइदिन आउनुभएकोमा म र मेरो पूरै परिवार भाइबहिनीहरूप्रति मनैदेखि आभारी छौँ।”

 हाम्रो राहतकार्य वरपरका छिमेकीहरूले पनि याद गरे। बयेल्सास्थित सबाग्रेइयाका एक मुखिया भन्छन्‌, “संसारमा थुप्रै संस्था वा चर्च छन्‌ तर यसरी अरूलाई मदत गर्ने त यहोवाका साक्षीहरू मात्र हुन्‌। तपाईँहरूको सङ्‌गठन संसारकै उत्कृष्ट सङ्‌गठनहरूमध्ये एक हो।”

“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”

 चिलीमा सन्‌ २०२३, फेब्रुअरीमा ४०० भन्दा धेरै आगलागी भएकोले त्यहाँ पूरै क्षतिग्रस्त भयो। १० लाख ६२ हजार ५ सय ५३ एकडभन्दा धेरै जमिनका साथै चिलीमा भएका अरू महत्त्वपूर्ण सम्पदाहरू पनि ध्वस्त भए। अनि लगभग ८ हजार मानिसहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा सारियो। त्यसलगत्तै शाखा कार्यालयले राहतको प्रबन्ध मिलायो।

चिलीमा आगलागीले गर्दा ध्वस्त भएको एउटा परिवारको घरलाई स्वयंसेवकहरूले बनाइदिनुभयो

भाइबहिनीहरूमा पुगेको असर

  •   २२२ जना प्रकाशकहरूलाई सुरक्षित ठाउँमा सारियो

  •   २० वटा घर तहसनहस भयो

अनुदानको प्रयोग

 प्रकोप राहतकार्यको लागि २ लाखभन्दा धेरै अमेरिकी डलर खर्च भयो, जसमा निम्न कुराहरू समावेश छन्‌:

  •   खाना र पानी

  •   इन्धन, सरसफाइको सामग्री र औषधी

  •   क्षतिग्रस्त घरहरूको पुनर्निर्माण

 आफूसित भएको घर, व्यवसाय सबै ध्वस्त भएको थाह पाउँदा एउटा परिवारलाई चिन्ताले असाध्यै सतायो। त्यस परिवारको जागिर नभएकोले गर्जो टार्न समेत मुस्किल भइरहेको थियो। पहिला घर ठडिएको ठाउँमा अहिले खाली जग्गा मात्र देख्नुपर्दा सुरुमा त ती भाइबहिनीहरूलाई सहन निकै गाह्रो भयो। तर तिनीहरूको घरको पुनर्निर्माण सुरु भएपछि बिस्तारै तिनीहरूले आफ्नो डर कम गर्न सके। स्वयंसेवक भाइबहिनीहरूबाट पाएको अपार माया र चासोले गर्दा तिनीहरूले सहन मदत पाए। यो अनुभवले गर्दा तिनीहरूको मन यत्ति छोयो कि तिनीहरूले पनि स्वयंसेवकहरूसित मिलेर अरू भाइबहिनीको घर पुनर्निर्माण गर्ने काममा भाग लिए।

 राहतकार्यले थुप्रै भाइबहिनीको मन छोएको छ। एक भाइ भन्छन्‌, “यहोवाले प्रबन्ध गर्नुभएको प्रकोप राहत समिति साँच्चै उल्लेखनीय छ। भाइबहिनीहरू आगलागी भएको भोलिपल्ट नै आधारभूत आवश्‍यकताहरू लिएर यहाँ आइपुग्नुभएको थियो। हुनत संसारको अरू ठाउँमा गरिएको राहतकार्यबारे पढ्‌दा प्रोत्साहन पाउँछौँ। तर त्यो कुरा आफैले महसुस गर्दा भने बेग्लै अनुभव हुन्छ। भाइबहिनीहरूले यहोवाका गुणहरू अनुकरण गरेको देख्न पाउँदा अनि हामीलाई चाहिने सबै कुरा जस्तै, शारीरिक, आध्यात्मिक र भावनात्मक आवश्‍यकताको पनि ख्याल राखेको महसुस गर्दा सङ्‌गठनप्रतिको हाम्रो कृतज्ञता अझै बढ्‌छ। हामीले भाइबहिनीको व्यवहारबाट यहोवाको माया अनुभव गऱ्‍यौँ।”

 यस युगको अन्त नजिकिँदै जाँदा प्रकोपहरू झन्‌झन्‌ बढ्‌दै गएको देख्ने छौँ। (लुका २१:१०, ११) साथै मण्डलीमार्फत हाम्रा मायालु राजा येसु ख्रिष्ट “यस युगको आखिरी समयसम्म” हाम्रो साथमा हुनुभएको पनि देख्ने छौँ। (मत्ति २८:२०) तपाईँले विश्‍वव्यापी कार्यको लागि donate.pr418.com र अरू माध्यममार्फत दिनुभएको अनुदानका साथै खर्चिनुभएको समय र शक्‍तिबाट परमेश्‍वरको राज्य र त्यसको मायालु राजालाई समर्थन गर्नुभएको कुरा देखिन्छ। तपाईँहरूले देखाइरहनुभएको उदार मनोवृत्तिको लागि धेरै धन्यवाद!

a सन्‌ २०२३ सेवा वर्ष, सेप्टेम्बर १ सन्‌ २०२२ मा सुरु भएर अगस्त ३१ सन्‌ २०२३ मा अन्त हुन्छ।