सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सबैभन्दा महत्त्वपूर्ण किताबको उत्पादन

सबैभन्दा महत्त्वपूर्ण किताबको उत्पादन

जनवरी १, २०२१

 “म १९ वर्षदेखि यसको पर्खाइमा थिएँ!” यी भाइ केको पर्खाइमा थिए? तिनी आफ्नो मातृभाषा बंगालीमा पवित्र बाइबल—नयाँ संसार अनुवाद-को (मत्तिदेखि प्रकाशसम्म) पर्खाइमा थिए। आफ्नै भाषामा नयाँ संसार अनुवाद बाइबल विमोचन हुँदा थुप्रैले यसरी नै आफ्नो खुसी व्यक्‍त गरेका छन्‌। तर यी बाइबलहरू अनुवाद र उत्पादन गर्न के-कस्ता कामहरू गरिन्छन्‌, के तपाईँले कहिल्यै सोच्नुभएको छ?

 सुरुमा परिचालक निकायको लेखन समितिको निर्देशनमा अनुवाद टोली गठन गरिन्छ। बाइबल अनुवाद गर्न कति समय लाग्छ? न्यु योर्कको वारविकमा अनुवाद सेवामा काम गर्ने भाइ निकोलस अलाडिस यसो भन्छन्‌: “यसमा धेरै कुराहरू मुछिएका छन्‌, जस्तै: यस कामको लागि कति जना अनुवादकहरू उपलब्ध छन्‌, भाषा कत्तिको गाह्रो छ, यस भाषाका पाठकहरूलाई बाइबलकालीन जनजीवनबारे के-कति थाह छ अनि यो भाषा बोलिने तरिका ठाउँअनुसार फरक-फरक छ कि, आदि इत्यादि कुराहरू राम्ररी विचार गर्नुपर्ने हुन्छ। बाइबलको मत्तिदेखि प्रकाशसम्म अनुवाद गर्न मात्रै पनि औसतमा एकदेखि तीन वर्षसम्म लाग्छ अनि पूरै बाइबल अनुवाद गर्न चार वर्ष वा सोभन्दा लामो समय लाग्छ। साङ्‌केतिक भाषाको बाइबल अनुवाद गर्न योभन्दा अझ धेरै समय लाग्छ।”

 बाइबल अनुवाद गर्न अनुवाद टोली भएर मात्र पुग्दैन। विभिन्‍न पृष्ठभूमिका र कुनै-कुनै अवस्थामा त विभिन्‍न देशका केही भाइबहिनी छानेर तिनीहरूलाई अनुवाद भएको सामग्री पढ्‌न दिइन्छ र केही सल्लाह-सुझाव छ भने लेखेर पठाउन आग्रह गरिन्छ। यसबापत तिनीहरूले कुनै पारिश्रमिक पाउँदैनन्‌। तिनीहरूको सुझावले अनुवादकहरूलाई सही, स्पष्ट र अर्थपूर्ण बाइबल अनुवाद तयार पार्न मदत गर्छ। बाइबल अनुवादकहरूलाई तालिम दिने दक्षिण अफ्रिकाका एक भाइ यसो भन्छन्‌: “अनुवादकहरूले आफू यहोवाप्रति र उहाँको वचनका पाठकहरूप्रति जबाफदेही महसुस गर्छन्‌।”

 अनुवादको काम सिद्धिएपछि बाइबल छाप्ने र बाइन्डिङ गर्ने काम सुरु हुन्छ। यस कामको लागि छापाखानामा कम्तीमा पनि दस वटा साम्रगी प्रयोग हुन्छ: कागज, मसी, गाता, गम, कभर लाइनर, पानाहरूको घेरामा प्रयोग गरिने चाँदीजस्तै टल्किने रङ्‌ग, रिबन, हेडब्यान्ड, स्पाइनलाई बलियो बनाउन प्रयोग गरिने साधन र गाताको भित्री भागमा टाँसिने कपडा। सन्‌ २०१९ मा बाइबल उत्पादनमा प्रयोग हुने यी सामग्रीहरूको लागि मात्र दुई करोड अमेरिकी डलर (लगभग २ अरब ३३ करोड नेपाली रुपैयाँ) खर्च भएको थियो। छापाखानामा काम गर्ने भाइबहिनीले बाइबल उत्पादन र ढुवानी गर्न त्यस वर्ष तीन लाख घण्टा खर्च गरे।

“बाइबल हामीले उत्पादन गर्ने सबैभन्दा महत्त्वपूर्ण प्रकाशन हो”

 यस कामको लागि यत्ति धेरै समय र पैसा किन खर्च गरिन्छ? अन्तरराष्ट्रिय छपाइ विभागमा सेवा गर्ने भाइ जोएल ब्लु यसो भन्छन्‌: “बाइबल हामीले उत्पादन गर्ने सबैभन्दा महत्त्वपूर्ण प्रकाशन हो। त्यसकारण यसको बाहिरी स्वरूपले हाम्रो परमेश्‍वर र हामीले सुनाउने सन्देशको शोभा बढाएको हामी चाहन्छौँ।”

 हामी नयाँ संसार अनुवाद-को नियमित संस्करणको अलावा पाठकहरूको खास आवश्‍यकतालाई ध्यानमा राख्दै अन्य संस्करणहरू पनि उत्पादन गर्छौँ। उदाहरणको लागि, नयाँ संसार अनुवाद दस वटा भाषाको ब्रेल लिपिमा उपलब्ध छ। एउटा पूरै ब्रेल बाइबल तयार पार्न आठ घण्टासम्म लाग्छ र यसका थुप्रै खण्डहरूलाई चाङ लगाएर राख्दा कम्तीमा २.३ मिटर (७.५ फिट) अग्लो हुन्छ। साथै हामी कैदीहरूको लागि कागजको गाता भएको बाइबल उत्पादन गर्छौँ किनकि कुनै-कुनै झ्यालखानामा कागजको गाता भएका किताबहरू मात्र लैजाने अनुमति छ।

 नयाँ संसार अनुवाद-ले यसका पाठकहरूको जीवनमा ठूलो प्रभाव पार्छ। प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोको टम्ब भन्‍ने ठाउँको किलुबा भाषाको मण्डलीलाई विचार गर्नुहोस्‌। राजधानी सहरबाट टम्बसम्म पुग्न गाडीमा १,७०० किलोमिटर (१,००० माइल) यात्रा गर्नुपर्छ। त्यहाँका हाम्रा भाइबहिनीसित जम्मा एउटा बाइबल उपलब्ध थियो र त्यसमा पुरानो भाषाशैली प्रयोग गरिएको थियो। सभाहरूको तयारी गर्न भाइहरूले त्यो बाइबल पालैपालो लिने गर्थे। तर अगस्त २०१८ मा मण्डलीका सबैले पूरा र आधुनिक भाषाशैली प्रयोग गरिएको किलुबा भाषाको नयाँ संसार अनुवाद पाए।

 जर्मन भाषा बोल्ने एक बहिनीले नयाँ संसार अनुवाद-को जर्मन भाषाको संशोधित संस्करणबारे यसो भनिन्‌: “अहिले मैले आफैलाई बाइबल पढ्‌न सम्झाइराख्नु पर्दैन। बरु अहिले त मलाई बाइबल पढूँ-पढूँ जस्तो लाग्छ।” एक कैदीले यस्तो लेखे: “नयाँ संसार अनुवाद बाइबल पाएपछि मेरो जीवनमा परिवर्तन आउँदै छ। यो अनुवाद पढ्‌न थालेपछि मैले महसुस गर्दै छु कि मैले परमेश्‍वरको वचनलाई यत्ति राम्ररी पहिला कहिल्यै बुझेको थिइनँ। म यहोवाका साक्षीहरूबारे र यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ भन्‍नेबारे बुझ्न चाहन्छु।”

 नयाँ संसार अनुवाद-का सबै पाठकहरू यो बाइबल उत्पादन गर्न प्रयोग भएको अनुदानको लागि कृतज्ञ छन्‌। विश्‍वव्यापी कार्यको लागि दिइएका यी अनुदानहरू donate.pr418.com मा पाइने कुनै तरिकामार्फत दिइएको हो। तपाईँहरूको उदारताको लागि धन्यवाद!