सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

“सबै राष्ट्रहरूलाई साक्षी दिनका लागि” ट्रली साक्षी

“सबै राष्ट्रहरूलाई साक्षी दिनका लागि” ट्रली साक्षी

अप्रिल १, २०२३

 विगत दस वर्षदेखि हाम्रो साक्षीकार्यमा मानिसहरूको ध्यान खिच्न ट्रलीले महत्त्वपूर्ण भूमिका खेलेको छ। संसारभरि मानिसहरूले हाम्रा ट्रलीहरू सजिलै चिन्छन्‌। यसको डिजाइन आकर्षक हुनुका साथै यसलाई प्रयोग गर्न पनि सजिलो छ। तपाईँ पक्कै पोल्याण्डकी बहिनी आसेनाटासँग सहमत हुनुहुनेछ। तिनी भन्छिन्‌, “ट्रलीहरूको डिजाइन साधारण भए पनि हेर्दा निकै आकर्षक छ। यिनीहरूलाई प्रयोग गर्न र एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सजिलो छ।”

 ट्रलीहरूलाई कसरी बनाइयो र डिजाइन गरियो भनेर के तपाईँले कहिल्यै विचार गर्नुभएको छ?

एउटा प्रभावकारी डिजाइन

 सन्‌ २००१ मा परिचालक निकायबाट अनुमति पाएर भाइबहिनीहरूले फ्रान्समा सार्वजनिक साक्षीकार्यका लागि विभिन्‍न तरिका परीक्षण गरे। यसमा ट्रली साक्षी पनि समावेश थियो। तिनीहरूले थरीथरीका डिजाइन प्रयोग गरे। जस्तै: साहित्यहरू राख्न र विज्ञापन गर्न सुटकेस र किनमेलको लागि प्रयोग गरिने ट्रली। अन्तमा, फ्रान्स शाखाले ट्रलीको एउटा डिजाइन तयार पाऱ्‍यो, जसलाई प्रकाशकहरूले वर्षौंसम्म प्रयोग गरे।

सुरुतिरको ट्रली, फ्रान्स, सन्‌ २००५

 सार्वजनिक साक्षीकार्यको लागि परीक्षण गरिएको नयाँ तरिकाबाट राम्रो नतिजा आएकोले फ्रान्सका भाइहरू निकै खुसी भए। त्यसैले सन्‌ २०११ मा परिचालक निकायले अमेरिकाको न्यु योर्कमा ट्रली र टेबुलहरू प्रयोग गरेर नयाँ तरिकामा सार्वजनिक साक्षीकार्य गर्न अनुमति दियो। यस साक्षीकार्यमा भाग लिने अग्रगामीहरूले ट्रलीका धेरै फाइदा छन्‌ भनेर तुरुन्तै महसुस गरे। तिनीहरूले ट्रलीको डिजाइनमा सुधार्न सकिने कुराहरूबारे व्यावहारिक सुझाव पनि दिए। सुरुतिर हातैले बनाइएका काठका ट्रलीहरू प्रयोग गरिन्थ्यो। ती ट्रलीहरू एकदमै भारी हुने भएकोले भऱ्‍याङमा तल-माथि गर्न गाह्रो हुन्थ्यो। त्यसैले तिनीहरूलाई हलुका बनाउन पुन:डिजाइन गरियो, तर बतास आउँदा ढल्नेगरि भने होइन। यस नयाँ डिजाइनमा अझै ठूला र झट्‌का सोस्ने पाङ्‌ग्राहरू हालियो, जसले गर्दा खाल्टाखुल्टी भएको बाटोमा पनि ट्रलीलाई सजिलै गुडाउन सकियो। साथै अझ धेरै साहित्यहरू राख्न सकियोस्‌ भनेर एउटा सानो बाकस पनि थपियो।

 साक्षीकार्यको यो नयाँ परीक्षण सफल भयो। त्यसैले सन्‌ २०१२ मा परिचालक निकायले विश्‍वव्यापी रूपमै सार्वजनिक साक्षीकार्यमा ट्रली प्रयोग गर्न अनुमति दियो। साथै भाइहरूले हलुका अनि लामो समयसम्म टिक्ने सामग्रीहरू प्रयोग गरेर धेरै वटा ट्रली बनाउन सक्ने उत्पादकहरू पनि भेट्टाए।

 समयको दौडान ट्रलीमा स-साना सुधारहरू गरिए। जस्तै, सन्‌ २०१५ देखि यता पानी पर्दा ट्रलीलाई छोप्न सकियोस्‌ भनेर प्लास्टिकको कभर बनाइयो। जर्जियामा बस्ने दीना यो विशेषताको प्रशंसा गर्छिन्‌। तिनी भन्छिन्‌, “साहित्यहरूलाई जोगाउन ट्रलीको छुट्टै ‘कभर’ छ।” सन्‌ २०१७ मा केही भाषाको ट्रलीमा चुम्बकीय पोस्टरहरू उपलब्ध गराइएका थिए। पोल्याण्डका भाइ टोमाज यसो भन्छन्‌, “पहिला हामी गम भएको पोस्टर प्रयोग गर्थ्यौँ। त्यसलाई फेरिरहन धेरै गाह्रो हुन्थ्यो। तर चुम्बकीय पोस्टरले त्यसको समाधान गरिदियो।” सन्‌ २०१९ मा ट्रलीहरू अझै लामो समयसम्म टिकोस्‌ भनेर त्यसलाई बनाउने सामग्रीहरू र ढाँचाहरूमा परिवर्तन गरियो।

ट्रलीहरूको उत्पादन

 ट्रलीहरूलाई एउटै उत्पादकबाट बनाइन्छ अनि विश्‍वव्यापी रूपमा वितरण गरिन्छ। अहिले ढुवानी खर्च र अरू खर्चबाहेक एउटा ट्रलीलाई ४३ अमेरिकी डलर पर्छ। अहिलेसम्म ट्रलीहरूमा १ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी खर्च भएको छ र ४ लाख २० हजारभन्दा धेरै ट्रलीहरू विश्‍वभरिका मण्डलीहरूमा पठाइएका छन्‌।

 सबैभन्दा राम्रो तरिकामा अनुदानको प्रयोग होस्‌ भनेर एकैचोटिमा धेरै ट्रलीहरू मगाइन्छ। अनि अहिले मण्डलीहरूले ट्रली नै परिवर्तन गर्नुको सट्टा पार्टपुर्जाहरू मगाएर मर्मत गर्न सक्छन्‌।

साक्षी दिनका लागि ट्रलीको प्रयोग

 संसारभरिका प्रकाशकहरू साक्षीकार्यमा ट्रली प्रयोग गर्न मन पराउँछन्‌। घानामा बस्ने मार्टिना यसो भन्छिन्‌, “साक्षीकार्यमा प्रायजसो हामी नै मानिसहरूसँग कुरा गर्न जान्छौँ। तर ट्रली साक्षीमा भने मानिसहरू हामीकहाँ आउँछन्‌। यो देखेर मलाई रमाइलो लाग्छ। यहाँसम्म कि बाटोमा हिँड्‌नेहरूले समेत साक्षी पाउन सक्छन्‌।”

 अफ्रिकाको एउटा देशमा, एक जना पुरुष हाम्रो ट्रली भएको ठाउँतिर गए र आफ्नै भाषाका साहित्यहरू लिए। त्यसको एक हप्तापछि तिनी फेरि आए र यसो भने, “मैले सबै साहित्यहरू पढेँ। यसमा भएका जानकारीहरू एकदमै महत्त्वपूर्ण छन्‌। म गाउँमा भएको मेरो परिवारलाई पनि यो कुरा सुनाउँछु।” तिनको गाउँ ५०० कि.मि टाढा थियो। दुई महिनापछि तिनी फर्किए र भने, “मेरा गाउँका मानिसहरूले सबै साहित्य पढे र तिनीहरू धेरै खुसी भए। तिनीहरू यहोवाको साक्षी बन्‍न चाहन्छन्‌। तर तिनीहरूको मनमा केही प्रश्‍न उठेको छ। जस्तै, बप्तिस्मा गर्नको लागि पानीमा चुर्लुम्म डुब्नुपर्छ। तर गाउँ नजिकै कुनै खोला नभएकोले के बप्तिस्मा गर्न यहाँसम्म आउनुपर्छ?” प्रकाशकहरूले ती पुरुषलाई तिनकै भाषा बोल्ने एक अग्रगामीसँग सम्पर्क गराइदिए। त्यसबेलादेखि तिनले नियमित अध्ययनबाट आनन्द उठाइरहेका छन्‌।

 ‘राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिन’ ट्रलीहरू प्रयोग गरिएको हेर्न पाउनु साँच्चै रोमाञ्चक कुरा हो। (मत्ति २४:१४) तर उत्पादनको लागि हुने खर्च कसरी बेहोरिन्छ? विश्‍वव्यापी कार्यको लागि खसालिएको अनुदानबाट नै यसको खर्च बेहोरिन्छ। यसमा धेरैजसो अनुदान donate.pr418.com मार्फत आउने गर्छ। तपाईँहरूको उदार मनोभावको लागि धेरै धन्यवाद!